coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

गेटा आँखा अस्पतालका कर्मचारीमाथि व्यवस्थापन सल्लाहकारले दुर्व्यवहार गरेको आरोप

नेपाल नेत्र ज्योति संघद्वारा सञ्चालित गेटा आँखा अस्पतालका कर्मचारी माथि व्यवस्थापन सल्लाहकारले दुर्व्यवहार गरोको आरोप लागेको छ।

आफूहरूलाई कार्यालय समयमा पटक–पटक गाली गलौच गर्ने तथा काम गरिरहेको समयमा पनि अनावश्यक रूपमा व्यवस्थापन सल्लाहकारले स्पष्टीकरण सोध्ने गरेका कारण प्रशासकीय कर्मचारी तथा चिकित्सकीय कर्मचारीलाई मानसिक यातना दिने गरेको आरोप पीडित कर्मचारीहरूले लगाएका हुन्।

नेपाल नेत्र ज्योति संघको प्रशासनिक नियमावलीको दफा १४ अनुसार चिफ मेडिकल डाइरेक्टर पद रहेको गेटा आँखा अस्पतालमा उनको मुनि नयाँ पद स्थापना गरी व्यवस्थापन सल्लाहकारका रूपमा दीर्घ बहादुर चन्दलाई खटाइएको छ। उनी चन्द व्यवस्थापन सल्लाहकार भएर गत कात्तिकदेखि गेटा आँखा अस्पतालमा हाजिर भएका हुन्। 

उनी आएदेखि कर्मचारीलाई अनावश्यक विवादमा ल्याउने तथा मानसिक यातना दिने गरेको आरोप लागेको हाे। नाम उल्लेख नगर्ने सर्तमा एक पीडित कर्मचारीले भने, ‘गेटा आँखा अस्पतालका कर्मचारीलाई खटाउने तथा गलत काम गर्ने कर्मचारीलाई हेर्ने भनेकै चिफ मेडिकल डाइरेक्टर हुन्। तर, उहाँको अधिकारमाथि हस्तक्षेप गर्दै व्यवस्थापन सल्लाहकार चन्दले प्रशासकीय कर्मचारी तथा चिकित्सकीय कर्मचारीलाई अनावश्यक स्पष्टीकरण सोध्ने, एउटै कुरालाई मौखिक तथा लिखित रूपमा पटक–पटक धम्की दिँदै स्पष्टीकरण माग्ने गरेका छन्।’ पीडित कर्मचारीले भने, ‘यहाँ कार्यरत धेरै कर्मचारीलाई ‘तँ’ शब्द प्रयोग गर्दै धम्क्याउने गरेका छन्।’

उनी आएदेखि विधान विपरीत आफूखुसी नियम बनाएर संस्थालाई धराशायी बनाउन खोजेको आरोप लगाउँदै ती पीडित कर्मचारीले भने,‘चन्द नेपाली सेनाको पूर्व कर्मचारी हुन्। आँखा अस्पतालमा पनि प्राविधिक र गैर प्राविधिक कर्मचारीको आफ्नै किसिमको नियम भए पनि शैन्य नियम लागू गर्दै प्राविधिक कर्मचारी र गैर प्राविधिक कर्मचारीलाई डर त्रास दिने गरेका छन्।’ आफूहरू केही महिनादेखि व्यवस्थापन सल्लाहकारको डर त्रासका कारण मानसिक रूपमा कार्यालयमा काम गर्न गाह्रो भइरहेको पीडित कर्मचारहरु बताउँछन्।

व्यवस्थापन सल्लाहकार चन्द भने आफूले कर्मचारीलाई अनुशासित बनाउन खोजेको बताएका छन्। उनले भने, ‘कर्मचारीले कार्यालय पोशाक लगाउनु पर्ने, परिचय पत्र बोक्नुपर्ने तथा कार्यालय खुल्ने समय ९ बजे नै आउनु पर्ने नियम बनाएको हुँ।’

 नेपाल नेत्र ज्योति संघका कार्यकारी निर्देशक शैलेश कुमार मिश्राले व्यवस्थापन सल्लाहकार चन्दलाई केन्द्रीय कार्य समितिले केही समयका लागि व्यवस्थापन सुधारका लागि पठाएको बताउँदै उनले भने, ‘यस विषयमा भने गेटा आँखा अस्पतालमा म बुझ्छु।’ उनले यो अलि गम्भीर कुरो भएको बताउँदै भने, ‘कर्मचारीलाई डर धाक तथा त्रास दिने काम भने राम्रो हैन, के रहेछ म बुझ्छु।’

प्रकाशित: २४ माघ २०७९ १५:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App