४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

बस्ती जोड्ने गरी टेण्डर भएको पक्की पुल अन्यत्र सारेपछि स्थानीयको विरोध

गोरखा नगरपालिका वडा नम्बर १४ को गोप्लिङफाँट जोड्ने गरी टेण्डर भएको पक्की पुल बस्तीबाट टाढा सर्ने भएपछि स्थानीयले विरोध गरेका छन्।

गाउँबस्ती जोड्ने गरी टेण्डर भएको ठाउँमै पुल निर्माण हुनुपर्ने गोरखा नगरपालिका १४ का स्थानीयको माग छ। ‘पहिले पुल बनाउने भनेर ‘स्वायल टेस्ट’ सबै भईसकेको थियो, अहिले फेरि एकाएक किन पुल तल सारियो’ मर्स्याङ्दी नदी मोटरेबल पुल उपभोक्ता समितिका अध्यक्ष सीताराम भण्डारीले भने।

पुल निर्माण हुने भएपछि स्थानीयले समिति निर्माण गरेका थिए। निर्माण व्यवसायी, पुल योजना सेक्टर नम्बर ४ पोखरासँग पटक–पटक छलफल भएर पुल सुरु गर्ने निर्णय समेत भएको थियो तर कम्पनीले पुल निर्माण सुरु गरेन।  

‘मर्स्याङ्दी जलविद्युत आयोजनाबाट पनि अनुमति लिएका थियौँ, त्यहाँ नै बनाउन कुनै समस्या छैन भनेर आयोजनाले भनेको थियो’ पुल उपभोक्ता समितिका अध्यक्ष भण्डारीले भने।

आँबुखैरेनी गाउँपालिका २ एक्ले फाँट भएर गोरखा जोड्ने दुई सय मिटर लम्बाईको उक्त पुल निर्माण गर्न २०७७ भदौ १० गते एलिट कन्स्ट्रक्सन प्राली काठमाण्डौँले सम्झौता गरेको थियो। २६ करोड ६३ लाखमा पुल बनाउने जिम्मा लिएको निर्माण कम्पनीले २०८० फागुन ९ गते सक्नुपर्थ्यो तर सुरु नै गरेको छैन। टेण्डर हुँदादेखि नै पुल आँबुखैरेनी २ को एक्ले फाँट गोरखा नगरपालिका १४ को गोप्लीङफाँट जोड्ने गरी निर्माण गर्ने उल्लेख छ।

अहिले निर्माण गर्ने भनिएको ठाउँ जलविद्युत आयोजनाको ड्याम्प भन्दा तल रहेकाले त्यहाँ पानीको बहाव छैन।

‘पानी नै नहुने ठाउँमा पुल बनाउन ठेकेदारलाई सजिलो हुने भएर सिफारिस दिएको हुनुपर्छ’ स्थानीय रमिला खड्काले भनिन् ‘गाउँ जोड्ने गरी आएको पुल, यहाँ नै बनेको भए धेरै फाइदा हुन्थ्यो।’

अहिले स्थानीय तहले सिफारिस गरेको ठाउँ आँबुखैरेनी २ को खेलमैदान नजिकबाट गोरखा नगरपालिका १४ को ड्याम्पसाईड भन्दा तल भुजेल बस्ती भन्ने ठाउँमा जोडिनेछ। गोरखा तर्फ पुल सम्म जोड्ने सडक भएपनि तनहुँ तर्फ भने सडक खुलेको छैन। पुल तरेपछि पनि राजमार्ग पुग्न करिब पाँच सय मिटर दुरी पर्छ।

‘त्यहाँ पुल बनेर के अर्थ, प्रयोग नै नहुने भयो, यो बस्ती छोडेर बस्ती नै नभएको ठाउँमा के काम पुल’ स्थानीय सन्तोष नहर्कीले भने।

किसानले लगाएको तरकारी पृथ्वी राजमार्गबाट सहजै बिक्री गरौँला भन्ने आसमा रहेकाहरू निराश भएको उनले बताए। ‘यहाँ पुल बन्ने हो भने पाँच मिनेटमा राजमार्ग पुगिन्छ’ उनले भने ‘दुई तीन किलोमिटर तल बनेपछि एक घण्टा समय लाग्छ।’

उक्त पुल भएर लामाचौर, सलाङगिरी, गोप्लीङ, गोर्बुङ, छाकु लगायत ठाउँमा दुई सय भन्दाबढि घरधुरी लाभान्वित हुने स्थानीय जोतिन्द्र बुढाथोकीले बताए।

गाउँ जोड्ने गरी निर्माण भएको झोलुङ्गे पुल डेढ वर्षअघि बाढीले बगाएको थियो। अहिले स्थानीय मर्स्याङ्दी जलविद्युत आयोजनाको ड्याम्पमा रहेको पुलबाट आउजाउ गर्छन्। ‘हामीलाई बिहान ५ देखि बेलुकी ८ बजे सम्म मात्रै ड्याम्पबाट आउजाउ गर्न दिइन्छ’ उनले भने ‘राती केही भयो आउजाउ गर्नुपर्‍यो भने धेरै गाह्रो छ’ उनले भने।

अहिले बन्न लागेको पुल ड्याम्मभन्दा पनि तल लगेपछि स्थानीयलाई सहज नहुने उनी बताउँछन्। 

‘दिउँसोको समयमा त ड्याम्पबाटै जान छिटो हुने भयो, जनतालाई सजिलो हुने ठाउँ छाडेर किन पुल सारिएको हो हामी अचम्ममा छौँ’ उनले भने।

पुल निर्माण हुने भएपछि स्थानीयले तनहुँ तर्फ एक्ले फाँटमा पुल सम्मको जग्गा र गोरखा तर्फ गोप्लिङफाँटमा पुलबाट निकास बाटो खनिसकेका थिए। निर्माण व्यवसायीले पुल सुरु नगरेपछि स्थानीयले पटक–पटक निर्णय गरेर पुल थाल्न दबाब दिँदै आएका थिए।

२०७९ माघ ४ गते गोरखा नगरपालिका १४ वडा कार्यालयले गोप्लीङ र एक्ले फाँट जोड्ने गरी पुल निर्माण गर्न प्राविधिक रुपमा त्यस स्थानमा मर्स्याङ्दी हाइड्रो पावरको ताल परेको भन्दै उक्त ठाउँमा पुल बनाउन उपयुक्त नहुने निर्णय गरेको छ। वडा अध्यक्ष गोपालबहादुर थापाले आँबुखैरेनी २ को कुँडुले र गोरखा नगरपालिका १४ को भुजेल बस्ती जोड्ने गरी पुल बनाउन वडा समितिको माघ ३ गते सर्वसम्मत निर्णय भएको भन्दै निर्माण व्यवसायीलाई सिफारिस दिन नगरपालिकाले पत्र लेखेका छन्।

२०७८ साउन ३१ गते तत्कालीन वडा अध्यक्ष रामबहादुर खड्काले पुल महाशाखालाई पत्र लेख्दै गोप्लिङ फाँट र एक्ले फाँट जोड्ने पुल तत्काल निर्माण थाल्न निर्माण व्यवसायीलाई निर्देशन गर्न भनेका थिए। आँबुखैरनी २ को तत्कालीन वडा अध्यक्ष कटकबहादुर थापाले एक्ले फाँटबाटै उक्त पुल निर्माण प्रक्रिया अघि बढाउन पुल महाशाखामा पत्राचार गरेका थिए। पूर्व जनप्रतिनिधि र हालका जनप्रतिनिधिले गरेको सिफारिस बाँझिएको छ।

मर्स्याङ्दी जलविद्युत केन्द्रका तत्कालीन प्रमुख रामकुमार यादबले २०७४ असार ११ गते पुल निर्माणको टेण्डर हुन अघि नै पुल महाशाखालाई पत्र लेखी ड्यामको ताल भएको ठाउँमा पुल बनाउन मिल्ने सिफारिस गरेका छन्। पुल निर्माणपछि अहिले ड्याम्पबाट आउजाउ गरिरहेका स्थानीय माथि बन्ने पुलबाट आउजाउ गर्दा ड्याम्प साइट सुरक्षित हुने पत्रमा उल्लेख छ। पुल महाशाखाले टेण्डर आह्वान गर्नुअघि नै केन्द्रको राय लिएर प्रक्रिया थालेको थियो।

गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर राना मगरले नयाँ ठाउँ कुँडुले र भुजेल बस्ती जोड्ने गरी पुल निर्माण गर्दा कुनै कठिनाइ नपर्ने, भौगोलिक सहजता हुने, स्थानीयलाई पनि पायक पर्ने देखिएकोले सोही अनुसार पुल निर्माण प्रक्रिया अघि बढाई सहयोग गरिदिन भनेका छन्। पत्रमा उनले स्थानीय तह, स्थानीयबासीबाट आएको विवाद अब उप्रान्त नआउने, आएको खण्डमा नगरपालिका र वडा कार्यालयबाट नै समस्या समाधान गर्ने उल्लेख गरेका छन्। पत्र पाएपछि नाप जाँच गर्न आएका निर्माण व्यवसायी र पुल योजना सेक्टर ४ का कर्मचारीलाई स्थानीयले पहिलेकै ठाउँमा बनाउनुपर्ने अडान राख्दै केही दिन अघि फिर्ता पठाएका छन्।

वडा अध्यक्ष गोपालबहादुर थापाले पुलको ठेक्का रुद्ध हुने भएपछि ड्याम्प भन्दा तल सारिएको बताए।

‘माथि फेरि झोलुङ्गे पुल बन्छ, आएको पक्की पुल जाने भनेर मैले ड्याम्प तल भएपनि बनाउनुपर्छ, जनतालाई फाइदा हुन्छ भनेको हो’ उनले भने।

पुल योजना सेक्टर नम्बर ४ पोखराका आयोजना प्रमुख नवराज बास्तोलाले पुल निर्माण गर्दा मर्स्याङ्दी जलविद्युत आयोजनाले पानी खाली गर्न नसक्ने भनेपछि निर्माण गर्न समस्या भएको बताए। ‘निर्माण जिम्मा लिएको कम्पनीले पुलको डिजाइन गर्न सकेन, दुई वर्ष सम्म ठाउँ यकिन गर्न नसकेपछि ठेक्का रुद्ध गर्न निवेदन आएको छ’ उनले भने।

टेण्डर भएकै ठाउँमा पुल बनाउनुपर्ने भएपनि पहिलेको ठाउँ उपयुक्त नभएपछि स्थानीय तहसँगको सहमतिमा नयाँ ठाउँ खोजिएको उनले बताए।

प्रकाशित: २२ माघ २०७९ ०८:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App