१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

नगरपरिषद्मा छलफल नै नभएको विषयवस्तु निर्णय भन्दै सार्वजनिक !

भक्तपुरको मध्यपुर थिमि नगरपालिकाका एक जना वडा अध्यक्षले नगर परिषद्मा छलफल नै नभएको विषयवस्तु निर्णयका रुपमा सार्वजनिक आएको भन्दै सार्वजनिक रुपमै आपत्ति जनाएका छन्।

मध्यपुर थिमि नगरपालिकाका वडा नं ८ बोडेका वडा अध्यक्ष रमेश थापा श्रेष्ठले मध्यपुर थिमि नगरपालिकाको माघ ८ गते सम्पन्न सातौँ नगर परिषद्मा छलफल नै नभएको विषयवस्तु निर्णय भन्दै सार्वजनिक भएको भन्दै सार्वजनिक ध्यानाकर्षण गराएका हुन्।

माघ ८ गते बसेको नगर परिषद्पछि नगरपालिकाका प्रवक्ता कृष्णहरि आचार्यले निर्णयबारे सर्वसाधारणलाई जानकारी दिन भनी नगरपरिषदले गरेका निर्णय प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरेका थिए। यो निर्णय सामाजिक सञ्जालमा पनि प्रवक्ता आचार्यले राखेका थिए। 

त्यही सार्वजनिक प्रेस विज्ञप्तिमा परिषद्मा छलफल नै नभएको विषयवस्तु निर्णयका रुपमा आएको वडा अध्यक्ष थापा श्रेष्ठले सार्वजनिक गरेको ध्यानाकर्षणमा जनाइएको छ। 

नगरपालिकाका प्रवक्ता आचार्यलाई सम्बोधन गरी गरिएको ध्यानाकर्षण एक पृष्ठ लामो छ। त्यसमा मुख्य त तीन वटा बुँदा वडा अध्यक्ष थापा श्रेष्ठले उल्लेख गरेका छन्।

नगरपरिषद्ले निर्णय गरेको बुँदा नं २ मा मध्यपुर थिमि नगरपालिकाको भौतिक पूर्वाधार विकास तथा निर्माण सम्बन्धी विनियमावली (मापदण्ड) २०५७ को दोश्रो संशोधन पारित गरियो भनी उल्लेख भएको ‘तर बैठकमा थुप्रै सुझाव र थप संशोधनको प्रस्ताव पारित भएको र ती उठेका सुझावहरूमध्ये महत्त्वपूर्ण सुझावहरूलाई समेत समेट्ने गरी संशाधेन प्रस्ताव पारित गर्ने निर्णय’ भनी बाहिर आएको जनाइयो।

नगरपरिषदको प्रस्ताव नं ६ मा भैपरी तथा नगरपालिकाको आर्थिक सहायता तथा औषधि उपचार कार्यविधि २०७९ बमोजिमको खर्च तथा कार्यक्रम एवं नगरपालिकाले तयार गर्ने आयोजना विस्तृत प्रतिवेदन (डिपिआर) तयारी सभाबाट कार्यक्रम नतोकिएका र एकमुष्ट बजेट विनियोजन भएको शीर्षकको कार्यक्रम स्वीकृत गर्ने अधिकार नगर प्रमुखलाई दिने निर्णय गरियो भनी उल्लेख भएकोमा ‘एवं नगरपालिकाले तयार गर्ने आयोजनाको विस्तृत प्रतिवेदन डीपीआर तयारी र सभाबाट कार्यक्रम नतोकिएका र एकमुष्ट बजेट विनियोजन भएका शीर्षकको कार्यक्रम भनी’ बैठकमा छलफल नै नभएको वाक्य थप गरी आएको वडा अध्यक्षको ध्यानाकर्षणमा उल्लेख छ।

‘निर्णय नै नभएको विषयवस्तु निर्णय भन्दै सार्वजनिक हुनुले सुरुदेखि हामीले भन्दै आएको नगरपालिकालाई विधिसम्मत अगाडि बढाउने कुरामा केही ठेस नलागोस्, बैठकको गरिमा एवं निर्णय प्रमाणित गर्नेहरुप्रतिको विश्वसनीयतामा कमी नआओस् र गलत परम्परा नबिसून भने हेक्का राख्नु जरुरी भएको भन्दै ध्यानाकर्षण गरेको हुँ’, वडा अध्यक्षद्वारा गरिएको ध्यानाकर्षणमा उल्लेख छ।

यस अघिको स्थानीय निकायको चुनावमा मध्यपुर थिमि नगरपालिकाको मेयरमा नेपाल कम्युनिष्ट पार्टी एमाले र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) कोतर्फका संयुक्त उम्मेदवार बनेका एमालेका मेयर मदन सुन्दर श्रेष्ठ विजयी भएका थिए।

तर यो पटक एमाले र नेमकिपा छुटाछुटै रुपमा उम्मेदवार हुँदा नेपाली कांग्रेसका मेयर सुरेन्द्र श्रेष्ठ विजयी भएका थिए। यो पटक नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र बिच संयुक्त गठबन्धन भएको थियो। यस हिसाबले मेयरमा नेपाली कांग्रेस र उपमेयरमा नेकपा माओवादी केन्द्रका विजयकृष्ण श्रेष्ठ निर्वाचित भएका थिए।

ध्यानाकर्षण बुझाउने वडा अध्यक्ष थापा श्रेष्ठ भने नेमकिपाकोतर्फबाट उम्मेदवारी दिई विजयी भएका वडा अध्यक्ष हुन्।

प्रकाशित: १९ माघ २०७९ १६:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App