१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

नगरपालिकाको भाडा वार्षिक ५० लाख !

कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिकाकाे कार्यालय।

कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिकाले कार्यालय सञ्चालनका लागि मात्र लाखौं रकम खर्च गर्दै आएको छ। कार्यालय सञ्चालन तथा कर्मचारी आवासका लागि वार्षिक ५० लाख बढी भाडा तिर्दै आएको पाइएको हो।  

नगरपालिकाले बजारमा १२ वटा घर भाडामा लिएको छ। नगरपालिकासँगै नगरका विभिन्न शाखाका लागि कार्यालय र पहुँचवाला कर्मचारीलाई आवासमा राख्न १२ वटाभन्दा बढी घर भाडामा लिएर वार्षिक लाखौं रकम खर्च गर्दै आएको पाइएको हो। नगरपालिका आर्थिक तथा प्रशासन शाखामा कार्यरत लेखापाल धीरबहादुर शाहीले २०७४ सालमा एक पटक केही घर भाडामा लिएको सम्झौता पत्र देखे पनि त्यसयता खासै आफूलाई जानकारी नभएको भन्दै वार्षिक ४२ लाख रूपैयाँभन्दा बढी भाडा भुक्तानी भइरहेको आफूलाई जानकारी भएको सुनाए।  

प्रशासन शाखाप्रमुख अविराज शाहीले नगरका सबै १२ देखि १४ शाखा र स्टोरका लागि भनेर १२ वटा घर भाडामा छन् भन्ने सुनेको तर एकिन आफूलाई पनि नभएको सुनाए। उनले केही वडा कार्यालय र केही प्रहरी चौकीको समेत नगरपालिकाले भाडा तिर्दै आएकाले बजेटको आकार बढेको सुनाए। तर शाहीले सामान्य घरको भाडा दर उच्च हुँदा आर्थिक भार नगरपालिकालाई परेको बताए।  

खाँडाचक्र नगरपालिकाले कार्यालय सञ्चालनका लागि जयबहादुर शाही, रवीन्द्र शाही, रतनबहादुर शाही, वीरेन्द्रबहादुर शाही, मनऋषि आचार्यको घर लिए पनि अरू घर भने कर्मचारीको आवासका लागि भाडामा लिएको पाइएको छ। स्टोर शाखा प्रमुख भक्तिप्रसाद पाण्डेले नगरका सबै वडाको भाडा प्रहरी चौकी र सामुदायिक स्वास्थ्य एकाइलगायतको भाडा पनि नगरपालिकाले तिर्दै आएको सुनाए। उनले पनि मान्म वजारमा मात्र कति घर भाडामा छन् भनेर भन्न सकेनन्।

केही घरधनीको नाम भने पनि बाँकी कर्मचारी आवास, स्टोर शाखालगायत गरी केही घर भाडामा रहेको सुनाए। वडा नम्बर १, ६, र ९ वडा आफ्नै भवनमा रहेका छन् भने अरू वडाकार्यालय भाडामा छन्। केही सामुदायिक स्वास्थ्य एकाइ पनि आफ्नै भवनमा छन्। तर स्टोर शाखाले भने सबै वडाको भाडा तिर्दै आएको दाबी गरेको छ। लेखा शाखाले भने वडा कार्यालय र प्रहरी चौकीको भाडा मिलान गर्दा त अझै बजेटको दायरा बढ्ने बताएको छ।  

यस वर्ष वडा नम्बर १ का वडाध्यक्ष धर्मराज ताम्राकारको संयोजकत्वमा घर भाडा एकिन समिति गठन भएको त्यो प्रतिवेदन आएपछि मात्र वर्षमा कति भाडा खर्च हुने भन्न सकिने बताएको छ। वडा नम्बर १ का अध्यक्ष तथा समितिका अध्यक्ष धर्मराज ताम्राकारले १४ घर जति एकिन गरेको र बाँकी घर कति भाडामा छन् भनेर खोजी भइरहेको बताए।  

आफूले प्रतिवेदन तयार गरिरहेकाले पूर्ण प्रतिवेदन आउनेबित्तिकै जानकारी दिनसक्ने बताए। आफ्ना मान्छेका घरभाडा लिन कर्मचारीबीच पनि भागबन्डा हुने गरेको एक कर्मचारीले जानकारी दिए। तर नगरपालिकामा कार्यरत कर्मचारी सूचना दिन पनि मानिरहेका छैनन्। घरभाडाका विषयमा मात्र सूचना माग्दा लेखाले प्रशासन, प्रशासनले स्टोर र स्टोरले लेखालाई जानकारी हुने भन्दै एकले अर्काको जिम्मा लगाउने गरेका छन्। उनीहरूले अहिले कुनै पनि शाखामा कति घर भाडामा छन् र मासिक कति बजेट भाडाबापत जान्छ भन्ने एकिन जानकारी नदिई आनाकानी गरिरहेका छन्।

प्रकाशित: १९ माघ २०७९ ०१:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App