भिरालो अनि पाखो जमिनको बस्ती, त्यसमा माटो लगाएर बनाएका कच्ची घरहरू। सामान्य नजरमा हेर्दा पनि जोखिममा देखिन्छन्। जति बेला पनि पहिरो र अन्य पराकम्पनले क्षति हुने डर छ। त्यसैमा शक्तिशाली भुईँचालो गएपछि क्षति नहुने कुरै भएन्। त्यही समस्या भोग्न बाध्य छन्, यहाँका स्थानीय।
माघ १० गते बाजुराको बिच्छ्या केन्द्र विन्दु बनाएर भूकम्प गयो। ५.९ रेक्टर स्केलमा गएको भूकम्पले मानवीय सँगै करोडौँको धनजनको क्षति पुर्याएको छ। डरलाग्दा पहाडको भिरालो जमिनमा बस्न बनाइएका घरहरू केही भत्किए, अधिकांश चर्किएर क्षति भए। जुन क्षतिका कारण स्थानीयलाई बास बस्न अर्को विकल्प छैन्, पालमुनि रात काट्न बाध्य छन्।
भूकम्पले जिल्लाका हिमाली र गौमुल गाउँपालिकामा बढी क्षति पुर्याएको छ। हिउँदका चिसा रातहरू छन्। साथमा नाबालक अनि वृद्ध वृद्धा पनि। सुत्केरी र गर्भवती अनि दीर्घरोगी दमका बिरामीहरू पनि छन्। तर बस्न न अर्को घर छ। न त राज्यबाटै अर्को भरपर्दो व्यवस्था नै गरिएको छ।
चिसो छल्ने आगो बाहेक अर्को विकल्प नभएको स्थानीयको गुनासो छ।
बाजुरामा एक जनाले ज्यान गुमाए भने, ५ जना घाइते भए। ५० बढी पशु चौपाया मरे। हिमाली गाउँपालिका १ बिँच्छ्याका विकट गाउँको क्षति अझै यकिन छैन्। न फोन छ, न सम्पर्क नै। हिउँले गाउँहरू ढाकिएका छन्। आउन जान समेत सहज छैन्। प्रहरीले दिएको प्रतिवेदन भन्दा कयै गुणा बढी क्षति भएको हुन सक्ने अनुमान गरिएको छ।
गौमुल गाउँपालिकाका मात्रै ५७० बढी घरमा क्षति पुगेको छ। हिमाली गाउँपालिकामा पनि ५ सय बढीको संख्यामा घरहरूमा मात्रै क्षति भएको अनुमान पालिकाले गरेको छ। सबै बस्तीमा पुगेर क्षति विवरण संकलन गर्न सकिएको छैन्। बडीमालिका नगरपालिकामा समेत १ सय बढी घरमा क्षति पुगेको पालिका प्रवक्ता धर्मराज पाध्यायले बताएका छन्।
गौमुल गाउँपालिकामा बसोबास गर्ने १ हजार ६ सय ५० परिवार मध्ये ५ सय ७० परिवार जोखिममा रहेको गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले बताएका छन्। गौमुलमा अन्य पालिका भन्दा बढी क्षति देखिएको छ।
भूगर्भ विदका अनुसार पनि गौमुल गाउँपालिका अति जोखिममा रहेको पालिका हो।
साबिक बाजुराका २७ मध्ये १६ गाविस मध्ये पनि हालको गौमुलमा पर्ने मानाकोट र दहकोट पहिरोको उच्च जोखिम रहेको र मानव बस्ती बस्न समस्या हुने सूचीको पहिलो नम्बरका छन्। भिरालो जमिनमै बनेका घर भएकै कारण गौमुलमा बढी क्षति भएको देखिन्छ। सबैजसो बस्तीहरू भीरमै छन्। माथि नरम र कमजोर पहाड, बस्ती बनेको पाखो जमिनको सतह पनि कमजोर भएकोले क्षति बढी भएको प्राविधिकहरूको भनाई छ।
गर्भवती तथा सुत्केरीलाई थप सास्ती
बस्तीहरूमा जोखिम बढेसँगै स्थानीयको बिचल्ली भएको छ। त्यसमध्ये पनि गर्भवती तथा सुत्केरीलाई थप सास्ती बेहोर्न बाध्य छन्। पालमुनि रात काट्न परे पनि चिसोले नाबालक, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी महिला बढी समस्यामा परेका हुन्।
गर्भवती र सुत्केरी महिलाहरु चिसो पालमा कष्टकर रात काट्न बाध्य भएको गाउँपालिका उपाध्यक्ष सीता थापाले बताएकी छन्। गौमुल गाउँपालिका २ जुरेली गाउँकी २८ बर्सिया कला रोकाया माघ ११ गते सुत्केरी भएको र उनको घर १० गतेको भूकम्पले क्षति पुगेपछि पालमा बस्नु परेको अवस्था छ।
पालिकाले दिएको जानकारी अनुसार सोही गाउँमा ४ जना अरु सुत्केरी आमा र नाबालक शिशुहरू पालमुनि बसिरहेका छन्। गाउँमा २८ बर्सिया कला रोकाया, २२ बर्सिया रेखा रोकाया, २५ बर्सिया प्रमीला धामी र सुमित्रा बोहरा सुत्केरी भएर पालमुनि बसेका छन्। चिसोले आमा र शिशुको स्वास्थ्य जोखिम हुने खतरा बढेको छ।
बास भन्दा राहत समेत नपाएको गुनासो
खुला चौरमा पालमुनि बसेकाहरू भूकम्प पीडितहरूले राहत पाउने आस गरेका थिए। सकेसम्म भूकम्प गएको पछिल्लो दिन नै रातको प्याकेज नै आउँछ, नभए, पाल सम्मको व्यवस्था हुन्छ भन्ने आसमा थिए। तर विडम्बना त्यो हप्ता दिन बितिसक्दा पनि पुरा भएको छैन्।
गाउँपालिका आफ्नो सामर्थ्यले भ्याएसम्म पालको व्यवस्था गरेपनि अन्य बसाई व्यवस्थापन, न्यानो लुगा, खाने बन्द बस्तीका सामान सबैको अभाव छ। घर नै छोडेर पालमा बस्नु पर्दा पीडामा स्थानीय छन्। बर्षादमा पहिरोको डरले पालमा रात कटाउने स्थानीय हिउँदमा भूकम्पले त्रिपालको सहारामा जीवन गुजार्न बाध्य छन्।
घरहरू पुरै नभत्किए पनि बस्न लायक छैनन्। भूकम्प नआए पनि जुनसुकै बेला पनि भत्किन सक्ने जोखिम छ। अर्को बास स्थानको व्यवस्थापनको माग स्थानीयको छ। बर्षाद र हिउँद दुबै समय जोखिम मोलेर बस्नु भन्दा अर्को स्थानमा बसाइ सार्न माग पीडितहरुले गरेका छन्।
पालिकाले पालको पुरै व्यवस्थापन गर्न ढिलाई भएपछि स्थानीयले तरकारी खेतीका लागि प्रयोग हुने टनेलमा रात बिताइ रहेका छन्। पालकै अभावले अधिकांश परिवार संयुक्त रुपमा एउटै पालमा बस्ने गरेका छन्। स्थानीय प्रहरी प्रशासनको चासो नै नगएको आरोप स्थानीयको छ।
तर प्रहरी प्रशासनले भने क्षतिको विवरण सम्बन्धित निकायमा पठाइ सकेकोले तत्काल केही राहतका कार्यक्रम अघि बढ्ने आश्वासन दिएको छ। पालिकाले कम्मल, पाल र केही खाने बस्ने सामान मात्रै सहयोग गरेको र बाँकी व्यवस्थापन संघ र प्रदेश सरकारबाट गर्नुको विकल्प नरहेको गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले बताएका छन्।
जिल्ला समन्वय समिति बाजुराको कार्यालय पनि छियाछिया
जिल्ला समन्वय समितिको भवन चर्किएपछि कामकाजमा समस्या भएको छ। अधिकांश कोठाका भित्ता समेत भत्किएका छन्। १० गतेको भूकम्पले चर्किएको समन्वय प्रमुखको कार्यकक्ष पछाडिको भित्ता समेत भत्किएको जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकायाले बताए।
जिल्ला समन्वय समितिको भवन २०५६ सालमा बनेको र पुरानो बन्दै गएकोले भूकम्पका कारण निकै जोखिममा छ। कुन दिन भत्किने हो, कार्यालयमा बस्न कर्मचारी डराउन थालेका छन्। तत्काल व्यवस्थापन नगरिए थप समस्या निम्तिन सक्ने जोखिम बढेको हुने जिल्ला समन्वय समितिको कार्यालयका प्राविधिक हिरा रोकायाले बताएका छन्।
प्रकाशित: १८ माघ २०७९ १०:५८ बुधबार