१५ चैत्र २०८० बिहीबार
समाज

छ लेन सडक विस्तार: स्थानीय सरकारकै अगुवाइमा घर भत्काउन सुरु

६ लेन सडकका लागि इटहरीमा उपमहानगरपालिकाकै अगुवाइमा घर भत्काउँदै। तस्बिरः अमर/नागरिक

व्यापारिक मार्ग विस्तार आयोजना अन्तर्गत चीन र भारतसँगको सोझो ‘लिङ्क’ रोडको रुपमा विस्तार गर्न इटहरी बजार क्षेत्रका घरहरू भत्काउन थालिएको छ।

इटहरी उपमहानगरपालिकाले सडक क्षेत्राधिकारभित्र पर्ने १४ वटा घर डोजर प्रयोग गरी भत्काई सकेको छ। इटहरी वडा नं. ९ स्थित विराटनगर लाइनमा रहेका घरमा डोजर प्रयोग गरेर भत्काइएको हो।

उप-महानगरका प्रमुख हेमकर्ण पौडेलका अनुसार ६ लेन सडक विस्तार गर्न सडक विस्तार आयोजनाले पटक–पटक ताकेता गर्दा पनि घर भत्काउन अटेर गरेपछि स्थानीय सरकारकै अगुवाइमा भत्काइएको हो।

घर भत्काउन अटेर गरेकै कारण इटहरीको मुख्य बजार क्षेत्रको चौरास्त चोकभन्दा दक्षिणतर्फ विराटनगर लाइनको बसपार्कसम्म झन्डै तीन सय मिटर सडक विस्तार हुन सकेको थिएन। उप-महानगरपालिकाले वडा नं. ९ भित्र सडक विस्तार गर्दा अवरोध पुग्ने घरहरू भत्काए पनि वडा नं. ६ भित्र पर्ने केही घरहरू भत्काउन अन्तिम अल्टिमेटम दिएको र अटेर गरे ती घरहरू पनि डोजर लगाएर भत्काउने मेयर पौडेलले बताए।

सार्वजनिक सडक र जग्गा ओगटेर बनाएका भवनहरू अब नियमित रूपमा उपमहानगरले भत्काउने पनि मेयर पौडेलले बताए।

इटहरीको मुख्य चौकदेखि उत्तर तरहरातर्फ ६ लेन सडकको काम सकिए पनि दक्षिणी क्षेत्र विराटनगर लाइनमा भने बाँकी नै रहेको छ। ६ लेन सडक विस्तार आयोजनाका अनुसार इटहरी बजारदेखि उत्तरतर्फ सेनाको मुख्यालयसम्म २०–२० मिटर सडक विस्तार गर्न घर भत्काउनु पर्दैन्। फुटपाथ बनाउन भने घर पनि भत्काउनुपर्छ। तर, अहिले त्यो काम अघि बढेको छैन्।

आयोजनाले सम्पूर्ण जग्गा लिएर मात्र काम गर्छु भन्दा कुनै पनि काम अघि नबढ्ने निष्कर्ष निकालेर फुटपाथ बाहेकको सडक विस्तार गरेको थियो। इटहरी बजारको चौरास्त चोकभन्दा दक्षिणतर्फ भने अहिले २० मिटर सडक छ। यसमा सरोकारवालासँग भएको सहमति अनुसार दुवैतर्फ १५–१५ मिटर विस्तार गर्ने निर्णय भएपनि घर नभत्काउँदा सडक विस्तार हुन सकेको थिएन। अब भने वडा नं. ६ का केही घर पनि केही दिनभित्रमै भत्काउने उपमहानगरपालिकाले जनाएकाले छिटै सडक विस्तार हुनेछ।

इटहरीको चौरास्त चोकदेखि दक्षिणतर्फ पनि सडक विस्तार हुने निश्चित भएपनि दुहवी बजार र धरान बजारमा घर भत्काउने टुंगो लागेको छैन्। दुहवीमा सरकारले २०५४ सालमै ६३० मिटर क्षेत्रलाई बिल्टअप क्षेत्रको रुपमा कायम गर्न निर्णय गरेको थियो। त्यति बेला २०५४ चैत ३ गते राजपत्रमा प्रकाशित सूचना अनुसार, दुहवी बजार क्षेत्रमा सीमा सडकको केन्द्र रेखादेखि बायावाया दुवै तर्फ २७–२७ फिट मात्र कायम गरिएको थियो। त्यहाँ पुरानो सरकारको निर्णयलाई अब सरकारले परिवर्तन गर्दा मात्र सडक विस्तार सम्भव छ।

दुहवीमा पनि नगरपालिका छ लेन सडक विस्तार गर्ने योजनामा छ। यो वर्ष छ लेन सडक विस्तार दुहवी बजारमा सम्भव नभए आयोजनाको काम सकिने दुहवीमा मात्र सडक विस्तार नहुँदा विकासमा पछि पर्ने हुँदा सहमति जुटाएर विस्तार गर्ने योजनामा रहेको मेयर वेद गच्छदारले बताए।

धरानमा घर भत्काउने पटक पटक ६ लेन सडक विस्तार आयोजनाले उपमहानगरपालिकालाई आग्रह गरी सकेको छ। यद्यपि, घर भत्काउने विषयमा टुंगो लागेको छैन्।

'कोशी राजमार्गमा ४९ किलोमिटर सडकमध्ये अब तरहरादेखि धरानसम्म विस्तार हुन बाँकी छ। पछिल्लो समय धरानको तिनकुनेदेखि सेउतीसम्म झन्डै चार किलोमिटर सडक विस्तार भइसकेको छ।' लेन सडक विस्तार आयोजना इटहरीकी इन्जिनियर अस्मिता सुवेदीले बताइन्।

पछिल्लो समय सडक निर्माणका लागि २०८० सम्म समय अवधि थपिएको छ। थपिएको समयमा सडक निर्माण पूरा हुने ६ लेन सडक विस्तार आयोजनाको दाबी छ।

२०६९/०७० बाट सुरु भएर सात वर्षभित्रमा ६ लेन सडक बिस्तार गर्ने लक्ष्य राखिएको थियो। पछिल्लो समय थप गरिएको हाे। पुरै सडक निर्माण गर्दा सुरुवातमा १० अर्ब ९८ करोड लागत अनुमान गरिएको थियो।

प्रकाशित: १७ माघ २०७९ ०९:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App