४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

आएनन् ठेकेदार, बनेन पुल

गौरीगंगा नगरपालिका वडा नम्बर ५ मा रहेको कटैनी खोलामा निर्माण अलपत्र छोडिएको पक्की पुलका पिल्लर। तस्बिरः पुष्पराज जोशी/नागरिक

कैलालीको गौरीगंगा नगरपालिकामा निर्माणाधीन दुई वटा पक्की पुल ठेकेदार कम्पनीको लापरबाहीका कारण अलपत्र परेका छन्। ठेकेदारले ठेक्का सकारे पनि समयमै निर्माणको काम नगर्दा पुल निर्माण कार्य अधूरै रहेको छ।

 गौरीगंगा नगरपालिका वडा नम्बर ५ अण्डैयास्थित बालुवाटार जोड्ने कटैनी खोला र चौमाला पुरानो बजार जोड्ने नदीमा निर्माणाधीन पुल ठेकेदार कम्पनीको लापरबाहीका कारण अलपत्र परेको हो।

प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत पूर्वाधार विकास कार्यालय कैलालीले ठेक्का आह्वान गरेपछि वाई पी कन्स्ट्रक्सनले ठेक्का सकारेको थियो। कम्पनीले २०७९ असार ३१ सम्म काम सक्नुपर्ने थियो। तर, म्याद सकिएको ७ महिना बितिसक्दा पनि ठेकेदार कम्पनी सम्पर्कमा नआएपछि स्थानीय आक्रोशित बनेका छन्। ‘बर्खा याममा नदी पार गर्दै हिँड्नुपर्ने झन्झटबाट पार हुने भयौँ भन्ने लागेको थियो,’ स्थानीय जगत जैगडीले भने,‘तर निर्माण कम्पनीले एउटा बिचको पिल्लर मात्रै बनाएर त्यो पनि अधूरै छाडेपछि समयमै बन्ने त के अझै कति वर्ष लाग्ने हो थाहै छैन। जुत्ता खोलेर खोला पार गर्नुपर्ने दिन अझै लम्बिए।’ 

आफूहरू समयमै पुल बनाइदिन भन्दै पटक पटक पूर्वाधार विकास कार्यालयमा धाउँदा पनि ठेकेदार मालिक सम्पर्कमै नआएको उनले बताए। ‘हाम्रो गाउँको पुल समयमै निर्माण गर्न पूर्वाधार विकास कार्यालयमा आयौँ, दबाब दियौँ,’ उनले भने,‘हाम्रो कुराको सुनुवाइ नै हुँदैन।’ गत असार ३१ गते भित्रै पुल निर्माण भइसक्नु पर्ने भए पनि अहिलेसम्म पिल्लरै नठडिएका कारण पनि स्थानीय आक्रोशित बनेको जैगडीले बताए। उनले भने,‘अहिले यहाँका स्थानीय पुलको विषयलाई लिएर सामाजिक सञ्जालमा व्यापक आक्रोश पोखिरहेका छन्।’ 

५ करोड २८ लाख रुपैयाँमा अण्डैयास्थित पुल निर्माण गर्ने सम्झौता भए पनि निर्माण कम्पनीले १ करोड ४५ लाख रुपैयाँ निकासा गरिसकेको छ। निकासा गरेको रकम अनुसार काम नभएको बताइएको छ। आफूहरूले निर्माण कम्पनीका ठेकेदारलाई पटक पटक मौखिक र लिखित पत्राचार गरेर काम समयमै सक्न र सुचारु गर्न दबाब दिए पनि उनी सम्पर्कमै नआउने गरेको पूर्वाधार विकास कार्यालयका प्रमुख रामचन्द्र खत्रीले बताए। उनले भने,‘हामीले ठेकेदार कम्पनीलाई फोन गर्दा पनि उनले फोनै नउठाउने र फोन उठाए पनि कामै गरिदिन्नन्।’

यस्तै ७ करोड २७ लाख रुपैयाँको लागतमा चौमालास्थित पुल निर्माण गर्न निर्माण कम्पनीले ठेक्का लिएको थियो। सो पुलको निर्माण कार्य पनि अलपत्र परेको भन्दै स्थानीयले गुनासो पोख्न थालेका छन्। 

नागरिककर्मीसँगको टेलिफोन कुराकानीमा निर्माण कम्पनीका ठेकेदार देवजंग शाहीले अण्डैयाको पुल निर्माण कार्य ४० प्रतिशत भएको बताए। उनले भने,‘केही प्राविधिक कारणले हामीले समयमै गर्न सकेनौँ। तर, पनि काम भइरहेको छ।’ चौमालाको पुल निर्माणका लागि भने डिजाइनमै त्रुटि भएका कारण रोकिएको उनले बताए। ‘चौमालाको पुल डिजाइनमै त्रुटि थियो,’ त्यसैले त्यहाँको पुल भने निर्माण हुन सकेन।’ कोरोनाका कारणले पनि आफूहरूले समयमै काम गर्न समस्या परेको उनले स्वीकारे। उनले भने,‘अब हामी एक हप्ताभित्र रोकिएको काम सुचारु गर्छौं।’ 

प्रकाशित: १६ माघ २०७९ ०९:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App