६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

म्याग्दीमा वडास्तरमै राष्ट्रिय परिचयपत्र दर्ता अभियान सुरु

म्याग्दीको बेनी नगरपालिकामा आइतबारेदेखि वडा स्तरमा राष्ट्रिय परिचयपत्र दर्ता सुरु भएको छ। राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले स्थानीय तह र जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा बेनी नगरपालिकाबाट अभियान शुरु भएको मेयर सुरत केसीले बताए।  

नगरपालिकाको १० वटै वडामा एकै पटक परिचयपत्र दर्ताका लागि घुम्ति शिविर सञ्चालन सुरु भएको हो। ‘एक वटा वडामा दुई वटा स्टेशन छ, पहिला दिन उत्साहजनक सहभागिता छ’ नगरपालिकाका प्रबक्ता रमेशकुमार श्रेष्ठले भने। उनका अनुसार बेनीबजारमा रहेका २ वडामा पहिलोदिन कम भिडभाड भएपनि ग्रामिण क्षेत्रमा दर्ता शिविरमा भिड रहेको बताए।

एक वटा स्टेशनमा कम्तिमा १५ दिन टोलीले जैविक र व्यक्तिगत विवरण दर्ता गर्ने समय तालिका बनाइएको छ। बेनी नगरपालिका सकिएपछि गाउँपालिकामा टोली खटिने प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले बताए।

परिचयपत्रमा व्यक्तिगत विवरणहरू नाम, थर, जन्म मिति, लिङ्ग, आमाबुबाको नाम, ठेगाना, नागरिकताको किसिम, पति पत्नीको नाम, बाजेको नाम औँला छाप व्यक्तिगत विवरण समावेश गरिएको हुन्छ। सोह्र वर्ष उमेर पूरा गरी नेपाली नागरिकताको प्रमाणपत्र लिएको व्यक्तिले नेपाली उक्त परिचयपत्र लिने सक्ने व्यवस्था रहेको छ।  

व्यक्तिका वैयक्तिक र जैविक सूचनालार्ई आधिकारिक रूपमा सङ्कलन गरी प्रत्येक नागरिकलार्ई एकअर्कासँग मेल नखाने परिचय नं दिई बहुउपयोगी र आधुनिक प्रविधियुक्त राष्ट्रिय परिचयपत्र वितरण गर्ने उद्देश्य रहेको छ। नागरिकहरुको वैयक्तिक तथा जैविक विवरण समावेश भएको राष्ट्रिय पहिचान सहितको बायोमेट्रिक सुविधायुक्त बहुउपयोगी प्रमाणपत्र राष्ट्रिय परिचयपत्र हो।  

विभागले विभिन्न १३ किमिसमका सामग्री सहित २० जना जनशक्तिलाई घुम्ती टोलीका लागि आएका छन्। सक्कल नागरिकता, विवाहितको हकमा सक्कल विवाहदर्ता वा नाता खुल्ले सक्कल सरकारी परिचयपत्र सहित स्टेशनमा सम्पर्क गर्न सार्वजनिक सूचना समेत जारी गरिएको छ। हालसम्म जिल्ला प्रशासन कार्यालयमा मात्र राष्ट्रिय परिचयपत्र दर्ता हुदै आएको छ। जिल्ला प्रशासन कार्यालय म्याग्दीमा राष्ट्रिय परिचयपत्र दर्ताको लागि अनलाइन टाइम कार्ड लागू गरिएको र १ वटा स्टेशन थपेर सेवालाई छिटो तथा सहज बनाउन पहल गरिएको छ।  

प्रकाशित: १६ माघ २०७९ ०३:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App