आइतबार धरान उपमहानगरपालिकाको बाह्रौँ नगर सभा (हिउँदे अधिवेशन) सुरु हुनु अघि धरान उपमहानगरपालिका अगाडी ६ लेन सडकबाट प्रभावित घर धनीहरूले विरोध प्रदर्शन गरेका छन्।
उपमहानगरपालिकाको लर्निङ सेन्टर भवमा दिउँसो १ बजेदेखि नगर सभा तय गरिएको थियो। त्यसअघि नै ब्यानरसहित कोशी राजमार्गको ६ लेन सडक खण्डबाट प्रभावित स्थानीयहरू उपमहानगरपालिकाको मुलगेट अघि प्रदर्शन गरेका हुन्।
कोशी राजमार्गलाई ६ लेन विस्तार गर्ने गरी रानी विराटनगर, इटहरी धरान सडक आयोजना धरानको तीनकुनेसम्म विस्तार भएर आइसकेको छ। तीनकुनेदेखि जिरोपोइन्टसम्मको ५ किलोमिटर सडकमा धेरै घरहरूमा क्षति पुग्ने भएपछि विस्तार हुन सकेको छैन।
पछिल्लो पटक आयोजनाले धरान उपमहानगरपालिकालाई पटक पटक पत्राचार गरेर क्लियरेन्स गरिदिन आग्रह गरेपछि ६ लेन सडक विस्तारको मुद्दा बहसमा आएको हो। सडक आयोजनाले ३० मिटर (१०० फिट) कायम हुने गरी सडक क्लियरेन्स गरिदिन भन्दै उपमहानगरपालिकालाई आग्रह गरेको छ। तर स्थानीयवासीहरु भने ६ लेन सडक विस्तार हुँदा धेरै भौतिक क्षति भएर कतिपय घरधनी सुकुम्बासी हुने भन्दै विरोधमा छन्।
स्थानीयहरूले ६ लेन सडकलाई बाइपास गरेर लैजानुपर्ने माग गर्दै आएका छन्। बाइपासको लागी सडक विभागले सेउती खोला किनारमा सर्वे गर्न खोज्दा सुकुम्बासी बस्तीको उठिबास लाग्ने भन्दै विरोध भएर काम अघि बढ्न सकेको थिएन।
धरानको मुख्य बजार क्षेत्र भानु चोक हुँदै ६ लेन सडक विस्तार हुँदा एक हजार भन्दा बढी घरमा क्षति पुग्छ। यसले अरबौँको नोक्सानी हुन्छ। यो सडक ६ लेनको विस्तार हुँदा २०५ फिट हुन्छ। धरानको मुख्य बजार क्षेत्रमा भने अहिले ५० फिट (१५ मिटर) मात्र सडक छ।
सडक आयोजनाले भने अनुसार थप १५ मिटर (५० फिट) विस्तार गर्दा पनि धेरै घरमा क्षति पुग्छ। संघर्ष समितिका संयोजक निनामचन्द्र राईले आफूहरूको एक सूत्रीय माग भनेको ६ लेन सडक बाइपास गर्नुपर्ने र रोक्का रहेको सम्पत्ति (घरजग्गा) फुकुवा हुनुपर्ने रहेको बताए।
उनले भने, ‘हाइ वे जताबाट होस् बाइपास हुनुपर्छ। हाम्रो रोकिएको घरजग्गा सम्पूर्ण तुरुन्त फुकुवा गर्नुपर्छ भन्ने मात्र माग हो।’
स्थानीयहरूले सहर बीचको सडकलाई राजमार्ग नभै सहरी सडक कायम गर्नुपर्ने पनि बताउँदै आएका छन्। सडक केही विस्तार गर्न आफुहरु सहमत भएपनि बजार नै ध्वस्त हुने गरी ४ लेन वा ६ लेन सडकको कुरा स्वीकार नहुने वडा नं १२ का बासिन्दा गिरीराज अधिकारीले बताए।
‘कोशी राजमार्गलाई अन्तै सार्रौं, र क्षति कम हुने गरी सहरी सडक बनाऔँ। बरु अहिलेको भन्दा केही विस्तार गर्न हामी छलफल गर्न तयार छौं,’उनले भने।
सुनसरी उद्योग वाणिज्य संघका पूर्व अध्यक्षसमेत रहेका वडा ७ का बासिन्दा अशोक ताम्राकारले धनकुटाको उदाहरण दिँदै धरान बजार पनि सुक्छ भनेर गलत तर्क भइरहेको दाबी गरे। उनले पहाडी क्षेत्रमा सडक विस्तार भएसँगै बजार पनि सर्दै गएर धनकुटाको बजार सुकेको बताए।
‘धनकुटा बजार सुक्नुमा बाइपास होइन। सडक विस्तार हुँदै गर्दा बजार पनि हिले, वसन्तपुर तिर सर्दै गएर हो, ’उनले भने, ‘६ लेन सडक बन्दा पनि २०, २२ चक्के गाडी सडकमा रोकेर किनमेल गर्छन् र? काठमाण्डौंबाट पहाड गएको गाडी बीच बाटोमा रोकेर किनमेल हुन्छ र? त्यसैले वाई पास गर्दैमा धरानको बजार सुक्छ भन्नु गलत हो।’
नगर सभामा पनि उठ्यो प्रश्न
आइतबार आयोजित बाह्रौँ नगर सभामा पनि शून्य समयमा वडा नं १२ का सदस्य ब्रह्मज्ञ भट्टराईले ६ लेन सडकबाट प्रश्न उठाएका थिए। उनले बजार बसिसकेपछि मात्र त्यहाँबाट राजमार्ग लैजाने प्रस्ताव भएको तथ्य भेटिएको भन्दै २०५ फिट विस्तारको कुराले स्थानीय त्रसित भएको बताए। उनले पनि स्थानीयलाई विस्थापित हुने गरी सडक विस्तार गर्न नहुने धारणा राखेका थिए।
नगर सभामा विषय प्रवेश भएपछि मेयर हर्क साम्पाङले बाइपास कहाँबाट गर्ने भन्ने प्रश्नको उत्तर सामूहिक रुपमा खोज्नुपर्ने बताए। उनले यथाशीघ्र ६ लेन सडक कहाँबाट लैजाने भनेर टुंगो लगाउनुपर्ने आवश्यकता रहेको पनि बताए।
‘७२ फिटसम्म बनाउन सक्छौँ भन्ने मलाई लाग्छ, तर ७२ फिट बनाइसकेपछि बाँकीको जग्गा रोक्का फुकुवा गर्नुपर्छ, र त्यसको लागी सबैले पहल गर्नुपर्छ भन्ने मेरो मनसाय छ,’उनले भने,‘यसको लागी माननीय ज्युहरूसँग डेलिगेसन जाने पहल हुदैछ।’
प्रकाशित: १५ माघ २०७९ १२:२८ आइतबार