८ वैशाख २०८१ शनिबार
समाज

विद्यालय बन्द गरी नगरपालिका कार्यालय जाने शिक्षकमाथि कारबाही

विद्यालयमा ताल्चा लगाएर नगरपालिकाको शिक्षा शाखा हेर्न जाने एक शिक्षकलाई शिक्षा विकास तथा समन्वय इकाई रौतहटले कारबाही गरेको छ।

रौतहटको माधवनारायण नगरपालिका १ दीपहीस्थित प्राथमिक विद्यालयमा प्रअको समेत जिम्मेवारी सम्हालेका शिक्षक जगन्नाथ यादवलाई समन्वय इकाईले कारबाही गरेको हो।

यादव आफ्नो विद्यालयमा एक जना मात्र स्थायी शिक्षक हुन्। विद्यालय बन्द गरी नगरको शिक्षा शाखाको जिम्मेवारी पूरा गर्न शिक्षक यादव माधव नारायण नगरपालिका कार्यालय जाने गरेका थिए।

गत वैशाखमा स्थानीय तहको निर्वाचन हुनुभन्दा पहिलेको माधव नारायण नगरपालिकाको नेतृत्वले शिक्षक यादवलाई नगरपालिकाको शिक्षा शाखा संयोजक बनाएको थियो। तत्कालीन नगर प्रमुख वीरेन्द्र यादवका आफन्त तथा गाउँले भएकै कारण शिक्षक यादवले जथाभाबी गरिरहेका थिए।

शिक्षक यादव विद्यालयको प्रधानाध्यापक भएको समयमा नगरपालिकाबाट लाखौँ बजेट आएको र हिनामिना भएको आरोप स्थानीयले लगाउने गरेका छन्। यसै गरी विद्यालयमा पठनपाठन ठप्प पारी विद्यालयमा ताल्चा लगाएर नगरपालिकाको शिक्षा शाखा हेर्न जाने शिक्षक यादवविरुद्ध स्थानीय अभिभावक आक्रोशित हुँदै आएका थिए।

वडा कार्यालयले विद्यालयको वातावरण सुधार्न र विद्यालयको काम गर्न अह्राउँदा नटेरेपछि वडा कार्यालय शिक्षा विकास समन्वय इकाई गौरमा पत्राचार गरेको थियो। यसै गरी स्थानीय अभिभावकहरूले पनि शिक्षक यादवविरुद्ध उजुरी दिएका थिए।

शिक्षक यादवले विद्यालय नै बन्द गरेर नगरपालिकाको कामकाज गर्न थालेपछि शिक्षा विकास तथा समन्वय इकाइले माधव नारायण नगरपालिकालाई उजुरीहरूको छानबिन गरी आवश्यक कारबाही गर्न तथा नगरको शिक्षा शाखामा कर्मचारी नभएसम्म नगरपालिकाको शिक्षा शाखा हेर्न स्नातकोत्तर गरेका माध्यमिक शिक्षकमध्ये एक जनालाई जिम्मेवारी दिन पत्राचार गरेको छ।

नगरपालिकालाई शिक्षा विकास समन्वय इकाई गौरको पत्र आएको सार्वजनिक भएपछि रौतहटको शिक्षा क्षेत्रमा खैलाबैला मच्चिएको छ। अहिले पनि धेरै स्थानीय तहले योग्यता नपुगेका शिक्षकलाई नै शिक्षा संयोजकको जिम्मेवारी दिएकाले खैलाबैला मच्चिएको हो।

प्रकाशित: १३ माघ २०७९ १६:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App