७ वैशाख २०८१ शुक्रबार
समाज

गुम्बामा आगलागी हुँदा ३० करोड भन्दा बढीको क्षति, स्थानीयको रुवाबासी

आगलागीपछि हिनाङ पुंगजी गुम्बाको अवस्था।

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका २ को हिनाङको पुंगजी गुम्बामा आगलागी हुँदा ३० करोड भन्दाबढिको क्षति भएको छ। मङ्गलवार गुम्बामा जडान गरिएको विद्युत् सर्ट भएर आगलागी भएको स्थानीयले बताएका छन्।

गुम्बामा आगलागी भएको घटनापछि त्यस क्षेत्रका प्रदेश सांसद नन्दप्रसाद न्यौपाने, प्रमुख जिल्ला शंकरहरि आचार्य, प्रहरी प्रमुख एसपी केदार खनाल सहितको टोली बुधवार बिहान त्यहाँ पुगेको हो। ‘यहाँका स्थानीय जनताको आस्थाको धरोहर निकै पुरानो, ऐतिहासिक गुम्बामा आगलागी भएपछि सर्वसाधारण चिन्तित छन्’ प्रदेश सांसद न्यौपानेले भने। गुम्बा भित्र रहेका ऐतिहासिक, प्राचीन ग्रन्थहरू, मूर्तिहरू सबै जलेर ध्वस्त भएको उनले बताए। 

गुम्बा जलेपछि स्थानीयको रुवाबासी छ। गुम्बाको अवस्था हेरेपछि स्थानीलाई सान्त्वना दिँदै सांसद न्यौपाने भने ‘म यस क्षेत्रको जनप्रतिनिधिको हैसियतले गुम्बा निर्माणमा तपाईहरुलाई संघ र प्रदेश सरकारबाट के गर्न सक्छु त्यो पहल गर्छु, स्थानीय सरकारसँगपनि समन्वय गर्नेछु।’ गुम्बामा आगलागी भएको घटनाले निकै चिन्तित बनाएको र बुधवार बिहानै हेलिकप्टरबाट आफू त्यहाँ पुगेर अवस्थाबारे जानकारी लिएको उनले बताए। ‘सञ्चारको पहुँच सहज छैन, सडकको सुविधा छैन, त्यहाँ के कति क्षति भयो, अवस्था के छ भन्ने अन्योल भयो, अवस्था बुझ्न गएको हुँ’ उनले भने ‘निकै पिडादायी अवस्था छ।’

गुम्बा जलेर ध्वस्त भएपछि स्थानीय भावविह्ल भएको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए। ‘३० करोड भन्दाबढिको क्षति भएको स्थानीयले भन्नुभएको छ’ उनले भने ‘त्यहाँको ऐतिहासिक, धार्मिक पुस्तक, मूर्ति, बिभिन्न सामग्री बहुमूल्य रहेछन्।’ प्रहरी मुचुल्का आउन बाँकी रहेको उनले बताए। 

मङ्गलवार एक्कासि गुम्बामा आगलागी हुँदा स्थानीयले निभाउन प्रयास गरेपछि तत्काल आगो निभाउन नसकेको वडा सदस्य छिरिङ छिम्बलले बताए। ‘तीन, चार घण्टापछि मात्रै आगो निभाउन सकियो, हामीले पानी हालेर आगो निभाएको हो’ उनले भने ‘त्यतीबेला सम्म धेरै क्षति भईसकेको थियो।’

यो गुम्बा नुब्री क्षेत्रकै प्राचीन मध्यको एक मानिन्छ। माने घुम्न ल्हो, स्यो, ल्ही गाउँका ज्येष्ठ नागरिकहरू गुम्बामा आवासीय रुपमा बस्छन्। अरु धेरै भिक्षु पनि त्यहाँ बस्छन्। 

तस्बिरहरुः सांसद नन्दप्रसाद न्यौपानेको सचिवालय

प्रकाशित: ११ माघ २०७९ ०७:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App