२४ माघ २०७९ मंगलबार
समाज

‘बेसमेन्ट’मा सरकारी निकाय नै व्यापार गर्दै

सिंहदरबारअगाडि खोलिएको युनियन फिजिकल ट्रेनिङ सेन्टर। तस्बिर: नागरिक

काठमाडौं महानगरपालिकाले बेसमेन्टहरू पार्किङ वा गोदाम प्रयोजनका लागि मात्र प्रयोग गर्नुपर्ने नियम कार्यान्वयनमा ल्याए पनि सरकारी निकायले नै उल्लंघन गरेको छ भने महानगर मुकदर्शक बनेको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले भद्रकालीदेखि सिंहदरबारको उत्तरढोका जोड्ने पुलमुनि बनेका गोदामलाई व्यापारिक प्रयोजनका लागि प्रयोग गरी नियम उल्लंघन गरेको हो।

उत्तर र दक्षिणतर्फ गरी ४२ कोठे गोदाम रहे पनि खाद्यले मानव जीवनलाई समेत प्रतिकूल असर पार्ने कोठालाई मानव बसोबास र व्यवसायका लागि भाडामा दिएको छ। पुलमाथिको भाग जीर्ण छ भने साँघुरा र अँध्यारा कोठामा श्वासप्रश्वासमा कठिनाइ हुने अवस्था छ। गोदामका लागि बनाइएकाले कोठामा झ्यालसमेत छैन। हावा आवतजावतसमेत राम्ररी नहुने भएकाले अक्सिजन कमी हुने गरेका यी कोठामा बसोबास गर्नेहरू नै बताउँछन्। शौचालय र पानीको व्यवस्था त छँदै छैन। तैपनि उत्तरतर्फका यी २१ वटै कोठा खाद्य कम्पनीले भाडामा दिएको छ। दक्षिणतिरको गोदामका कोठाहरूमा खाजा घर, टेलिकमको वाग्मती शाखाको स्टोर कार्यालय, मोटरसाइकल वर्कसप, टेन्ट हाउस, स्टिल कारखाना, छापाखाना तथा युनियन फिजिकल ट्रेनिङ सेन्टरलगायत सञ्चालित छन्।

कोठा नम्बर १८ मा इन्दिरा खाना तथा खाजा घर खोलिएको छ, जसको मासिक भाडादर २० हजार रूपैयाँ रहेको छ। ‘भान्सामा खाना पकाउँदा निस्कने धुवाँ बाहिर जाने ठाउँ छैन। कोठामा खाना पकाउन र बसेर खानका लागि स्वास्थ्यमा प्रतिकूल असर पार्छ,’ इन्दिरा खाना तथा खाजा घरमा आएकी टेलिकमकी एक कर्मचारीले नागरिकसँग भनिन्, ‘बर्खामा त गोदामभित्र पोखरीजस्तै बन्छ।’

गोदामको कोठा नम्बर १५ र १६ मा नेपाल टेलिकम वाग्मती प्रादेशिक निर्देशनालयको अफिससहितको स्टोर खोलिएको छ। दुई कर्मचारीसहितको उक्त स्टोरभरि समय बिताउन स्वस्थकर नभएको त्यहाँ भेटिएका कर्मचारी नैै बताउँछन्। ‘मानव बसोबास गर्न उपयुक्त छैन। गोदाम प्रयोजनका लागि बनाइएको अँध्यारो कोठामा श्वास फेर्न पनि मुस्किल छ,’ कर्मचारी अच्यूत ओझाले नागरिकसँग भने, ‘हामीले पनि टेलिकममा यो स्थान ठीक नभएको भन्दै गुनासो गरिसकेका छौं।’ टेलिकमले मासिक ४० हजार भाडा तिर्ने गरेको छ।

युनियन फिजिकल ट्रेनिङ सञ्चालक राजेन्द्र भण्डारीका अनुसार गोदामको वातावरण मानव जीवनअनुकूल नभएकाले गोदाममा सम्पर्क कार्यालय खोलेर सेन्टरमा आउनेहरूलाई पढाउने र लेखाउने काम मात्र गरिएको र सिकाउने काम भने टुँडिखेल र रंगशालामा गर्ने गरिएको छ। ‘खाद्यले गोदाम प्रयोजनका लागि बनाएको स्थानलाई गोदामकै लागि प्रयोग गर्नुपर्छ,’ राजेन्द्रले भने, ‘गोदाममा खाजाघर, वर्कसप वा अन्य व्यवसाय गर्नु उचित होइन।’

कोठा नम्बर ८ मा भर्खरै स्टिल कारखाना खोल्ने सहमति भएको छ। कारखाना सञ्चालक इन्दर साह कारखानाका लागि मेसिन जडान गरिरहेको अवस्थामा भेटिए। उनले बिचौलियासँगको कुराकानीमा कोठाभाडा लिएको बताए। ‘हामीले खाद्य व्यवस्थासँग सिधै कुरा गर्न मिल्दैन,’ उनले भने, ‘बिचौलियाको माध्यमबाट मासिक ३२ हजारमा कोठा लिएको हुँ।’ तर कोठाको अवस्था जीर्ण भएकाले कारखाना सञ्चालनबारे केही चुनौती थपिएको जनाए।

खाद्य व्यवस्थाकी प्रवक्ता शर्मिला न्यौपानेले खाद्यले राणाकालीन समयमै आफ्नो मालसामान भण्डारण गर्ने उद्देश्यले बनाएका गोदामहरू संरक्षणको हिसाबले व्यापारिक परियोजनाका लागि भाडामा दिएको बताइन्। ‘राणाकालीन समयमा खाद्यका मालसामान भण्डारण गर्न पुलमुनि गोदाम बनाइएको थियो। केहीमा खाद्यका सामान पनि छन्,’ प्रवक्ता न्यौपानेले भनिन्, ‘महानगरले नयाँ नियम बनाएको भने पनि खाद्यमा महानगरको कुनै लिखित निर्देशन आएको छैन। त्यही भएर खाद्यले आयआर्जन हुने गरी बेसमेन्ट भाडामा दिएको हो।’ कोठाहरू जीर्ण बन्दै गएकाले सरकारले मर्मत–सम्भार गर्न ध्यान दिनुपर्ने उनले बताइन्। खाली गोदाम राख्नुभन्दा पनि संस्थालाई आयआर्जन हुने उद्देश्यले पुलमुनिको बेसमेन्ट भाडामा दिएको उनको भनाइ छ।

खाद्य व्यवस्थाका प्रमुख डिल्लीराज लम्सालका अनुसार पुलमुनि धेरै कोठा जीर्ण भएकाले गोदाम प्रयोजनका लागि प्रयोग गर्न सकिएको छैन। ‘४२ मध्ये करिब १० कोठा आयआर्जन हुने गरी प्रयोग गरिएको छ’, प्रमुख लम्सालले भने, ‘सस्तोमै भाडा दिएकाले मासिक १ लाख ६० हजार भाडा उठ्छ। यसले संस्था चलाउन पनि सहयोग पुग्छ।’ सरकारलाई आम्दानी होस् भनेरै बेसमेन्ट भाडामा दिएको लम्सालले बताए। तर महानगरभित्र व्यापारिक प्रयोजनमा प्रयोग भएका बेसमेन्ट भत्काउँदै हिँडेका महानगर प्रमुख बालेन्द्र साहको आँखा खाद्यको यो गोदाममा भने अझैसम्म परेको छैन।

प्रकाशित: ११ माघ २०७९ ०७:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App