८ वैशाख २०८१ शनिबार
समाज

रवि’ राजमा लालटिन गिरफ्तार

निर्मला कुर्मीलाई न्यायको माग गर्दै लालटिन सहित माइतीघर मण्डलाबाट बबरमहलतर्फ जाँदै रुबी खानसहितका अधिकारकर्मी । तस्वीर /उपेन्द्र लामिछाने

अघिल्लो शनिबार माइतीघर मण्डलामा गृहमन्त्री रवि लामिछाने आउँदा अधिकारकर्मी रुबी खानको अनुहारसंगै अगाडिरहेको लालटिन झनै उज्यालो देखिएको थियो। सोमबार तिनै रविको मातहतको नेपाल प्रहरीले रुबीलाई लालटिनसहित गिरफ्तार गरेपछि उनको अनुहार र लालटिन दुवै अध्याँरो देखियो।  

बाँकेकी निर्मला कुर्मीलाई न्यायको माग गर्दै तेस्रो चरणअन्तर्गत झन्डै चार सातादेखि आन्दोलनमा रहेका रुबी खानसहितका अधिकारकर्मीलाई प्रहरीले सोमबार बबरमहलबा पक्राउ गरेको हो। माइतीघरबाट र्‍यालीसहित बबरमहलतर्फ अघि बढिरहेको समूहलाई प्रहरीले लछारपछार गर्दै पक्राउ गर्दा रुबी खानले प्रहरी भ्यानभित्रैबाट चिच्याउँदै न्याय मागिन्।  

‘न्याय कहाँ छ सरकार ?,’ लालटिनसहित प्रहरी भ्यानभित्र थुनिएकी खानले भनिन्, ‘न्याय नपाउन्जेल आन्दोलन रोकिने छैन।’ एक साताअगाडि धर्नास्थलमा पुग्दा सञ्चारकर्मी रविको निकै विश्वास लागे पनि गृहमन्त्री लामिछानेबाट भने आश्वस्त हुन नसकेको नागरिकसँगको कुराकानीमा रुबीले बताएकी थिइन्। ‘उहाँले तपाईंहरू यो चिसोमा म चाहिँ तातोमा कसरी बस्न सक्छुभन्दा हाम्रा आँखा भरिए,’ उनले त्यति बेला भनेकी थिइन्, ‘तर विगतमा सरकारबाट धोका पाएका कारण हामीले आन्दोलन स्थगन गर्न सकेनौं।’

रवि प्रति रुबीको अविश्वास झनै बढेको छ। यसपटक उनले सञ्चारकर्मी रविको हैन गृहमन्त्री रविको सामना गर्नुपर्‍ यो। ‘न्याय दिन नसक्ने सरकारको के काम, रुबीले भनिन्, ‘न्याय नपाउन्जेल माइतीघरबाट घर फर्कदैनौं।’

२०७८ असोज १ गतेबाट निर्मला कुर्मीको न्यायको लागि आवाज उठाउँदै राजधानी पैदलयात्रा तय गरेका अधिकारकर्मीको टोलीले न्यायको पक्षमा आवाज उठाउँदै आएका सञ्चारकर्मी रवि लामिछानेबाट धेरै आशा गरेको सुनाएका थिए। विगतका गृहमन्त्रीले भेट्ने समय पनि नदिएको बेलामा रविले आएर भेटिदिदा उनीहरू निकै खुसी भएका थिए। तर सोमबारको घटनाबाट उनीहरू निरास देखिए।  

‘प्रहरीसँगको घम्साघम्सीमा रुबीले सरकार खोज्ने लालटिन जेनतेनले जोगाएकी छिन्,’ आन्दोलनमा सहभागी निरज श्रेष्ठले भने, ‘सम्भवत उनले हिरासतमा सरकार भेटाउनेछिन्।’ यसैबीच, सोमबारको कार्यक्रममा वृहत नागरिक आन्दोलनले पनि साथ दिएको छ।माइतीघर मण्डलामा विगत २६ दिनदेखि जारी धर्नामा वृहत नागरिक आन्दोलनका अभियन्ताहरू सहभागी भए। उनीहरूले सरकारले लोकतन्त्रको नाटक गरेको आरोप समेत लगाए।  

‘सरकारले लोकतन्त्रको अभिनय गरिरहेको छ,’ अभियानकर्मी सन्जीव उप्रेतिले भने, ‘लोकतन्त्रको नाटक गर्ने सरकार तानाशाहभन्दा पनि खतरनाक हुन्छ।’  बाँकेकी निर्मला कुर्मी र नन्कुन्नी धोबीलाई सरकारले न्याय नदिइएको अधिकारकर्मीको आरोप छ। अधिकारकर्मी रुवी खान नेतृत्वको समूहले निर्मला कुर्मी हत्याको घटनामा न्यायिक आयोग गठन गर्नुपर्ने, न्यायिक आयोगमार्फत कुर्मीको तमसुकमा भएको सहीछाप चेक गरिनुपर्ने, मुद्दालाई अदालतसम्म पुर्‍ याइनुपर्ने र महिला आन्दोलनकारीको सुरक्षाको प्रत्याभूति गराउनुपर्नेलगायतका माग राखेर आन्दोलन गर्दे आएका छन्।  

उक्त घटनाको सम्बन्धमा सरकारले पटक–पटक घटनाको सत्यतथ्य छानबिन गर्ने भन्दै प्रतिबद्धता जनाए पनि कार्यान्वयन नगरेको उनीहरूको आरोप छ। 

प्रकाशित: १० माघ २०७९ ०१:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App