१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

हिमपात र वर्षा भएकै छैन, तर, मनाङमा खोला जमेर सेतै (फोटो सहित)

मनाङमा पानी जमेर सेतै भएको खोला। तस्बिर सौजन्यः लेखनाथ गौतम

खासमा यो मध्य जाडो हुने समय हो। तर, यस पटकको हिउँदे यामले वर्षाबिना नै डेढमहिना नाघिसकेको छ। मंसिर पछि अधिकांश ठाउँमा वर्षा भएको छैन। वर्षा नभएपनि चिसो भने उत्तिकै छ। हिमाली भेगमा त अधिक चिसोका कारण खोलानालाको पानी नै जमेको छ।

पोखरा लगायतका सहरमा दिनको चरक्क घाम लागेर हपक्क न्यानो भएपनि हिमालपारिको जिल्ला मनाङमा भने चिसो अघिक छ। यतसिम्मकी चिसोका कारण त्यहाँका खहरे र स–साना खोलानालामा पानी जमेको छ। बाह्ै्रमास पानी बग्ने ती खहरेको बाहिरी सतह जमेपछि सेतै भएका छन्। वर्षा र हिमपात नभएपनि चिसो भने वर्षा भएकै बेलाको जस्तो रहेको त्यहाँका बासिन्दाले बताएका छन्।  

मनाङको मनाङ ङिस्याङ गाउँपालिका–१ तलेखुमा जमेको खहरे। तस्बिर सौजन्यः कर्ण थापा

जिल्ला प्रशासन कार्यालय मनाङमा कार्यरत कर्मचारी कर्ण थापाका अनुसार सदरमुकाम चामे आसपासकै खोलाको पानी जमेको छ। पानीको वहाव बढी भएको मस्र्याङदीमा भने पानी जम्दैन। तर, पानीको वहाव कम भएका खहरे र खोल्सीको पानी जमेको उनले बताए। त्यसबाहेक चिसो पनि अधिक हुँदा जनजीवन सुनसान रहेको उनले बताए।  

‘यो हिउँदमा वर्षा त भएको छैन। हिमपात पनि भएको छैन। तर, पानी जम्ने र चिसो भने पोहोर–परारकै जस्तो छ,’ थापाले भने, ‘दिउँसो घाम लाग्दा जमिन केही तात्छ र हिडडुल गर्न सकिन्छ। तर, बिहान बेलुकीको चिसोका कारण स्थानीयको बसाई सकसपूर्ण रहेको छ।’ उनका अनुसार खहरेको पानी जमेर सेतै देखिन्छ। बाहिरी सतह सेताम्य भएपनि भित्रभित्र पानी बगेको सुनिने उनले बताए। त्यसबाहेक खानेपानीको धाराको पानी पनि जम्ने गरेको छ। चिसोका कारण पानी जमेपछि बिहान–बेलुकी धारामा पानी झर्दैन, दिनमा घाम लागेपछि मात्र पानी आउने गरेको छ।  

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का चामेस्थित संरक्षण अधिकृत लेखनाथ गौतमका अनुसार बिहानको तापक्रम माइनस १५ डिग्रिसम्म झर्ने गरेको छ। दिनमा भने घाम लागेकोले केही न्यानो अनूभव हुने गरेको उनले बताए। उनका अनुसार मनाङ ङिस्याङ गाउँपालिका–१ तलेखु, भ्राताङ लगायतका क्षेत्रका खोलाको पानी जमेको छ। ‘यो पटक अहिलेसम्म हिमपात भएको छैन। वर्षा पनि भएको छैन। तर, चिसो भने अधिक नै छ,’ गौतमले भने, ‘बिहान बेलुकी हिडडुल नै सकसपूर्ण हुन्छ। बिहानपखको तापक्रम त निकै नै तल ओर्लिएको छ। बिहानपख माइनस १५ सम्म झर्ने तापक्रम उज्यालो बढ्दै गएर घाम लागिसक्दा न्यानो भईसक्छ।’

रुखको ओझेल परेको ठाउँ र हत्तपत्ति घाम नलागेको खहरेमा पानी जमेको गौतमले बताए। वहाव बढी भएको मस्र्याङदीमा भने पानी नजम्ने उनले सुनाए। ‘वर्षा नभएपनि चिसो भने कम छैन’ उनले भने। मनाङ अन्नपूर्ण चक्रिय पदमार्गमा पर्ने मुख्य ठाउँ हो। अहिलेको चिसोका बाबजुत पनि विदेशी पदयात्री मनाङ उक्लेका छन्। गौतमका अनुसार अहिले पनि दैनिक ६÷७ जना विदेशी पाहुना मनाङ उक्लेका छन्। ती मध्ये केही अन्नपूर्ण फेरोको सबैभन्दा उच्च ठाउँ थोराङला भञ्ज्याङ (५४१६मि) पार गरेर मुस्ताङ ओर्लेका छन् भने केही माथिल्लो मनाङबाट फर्केका छन्।  

‘हुन त यो बेला पदयात्राको सिजन होईन, तर, पनि दिनमा ६÷७ जना विदेशी पदयात्री आएका छन्। गाइडसहित आएका पाहुना थोराङला भञ्ज्याङ पार गरेका छन् भने केही बीचबाटै फर्केका छन,’ उनले भने। चिसो भएपनि हिमपात नभएका कारण अहिलेसम्मका लागि हिडडुल सहज रहेको उनले बताए।  

मनाङ यो बेला आफैमा सुनसान हुने बेला हो। मंसिर लागेपछि त्यहाँका बासिन्दा चिसो छल्न तल (पोखरा, काठमाडौं, चितवन) झर्छन। फागुन तेश्रो सातापछि बल्ल गाउँले घर फर्किन थाल्छन। अहिले अधिकांश गाउँ रित्तै छैन । घर कुर्न बसेका केही बाहेक गाउँमा मान्छे भेट्न मुस्किल रहेको उनले बताए। ‘चिसो छल्न झरेका गाउँले फर्किएकै छैनन। फागुन मध्यपछि बल्ल गाउँले घर फर्किन थाल्छन र चहलपहल बढ्छ, अहिले त सबैतिर चिसो भएकोले गाउँ र सहर सबै सुनसान छन,’ उनले भने, ‘पर्यटकीय गतिविधि पनि अरुबेला जस्ता हुँदैन।’

प्रकाशित: ९ माघ २०७९ १०:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App