coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

‘जनताको आँसु पुछ्ने काम गर्नुहोस्’

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले ५० बेड क्षमतामा स्तरोन्नतिसहित निर्माणाधीन बेनी अस्पतालको भवन निर्माण समयमै सम्पन्न गर्न ठेकेदारलाई चेतावनी दिएका छन्। म्याग्दीको सदरमुकाम बेनीमा जारी सातौं म्याग्दी महोत्सव, माघे संक्रान्ति मेला, गण्डकी प्रदेशस्तरीय कृषि, औद्योगिक, व्यापार मेलाको समापन समारोहमा शनिबार बोल्दै मुख्यमन्त्री अधिकारीले नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष रवि सिंहलाई भवन अलपत्र पारेर जनतालाई गुणस्तरीय सेवा दिन समस्या भएको बताए। ‘रविजी, जनताको आँसु पुछ्ने गरी निर्माण कार्य छिटो सम्पन्न गर्नुहोस्’, मुख्यमन्त्री अधिकारीले भने, ‘यो अस्पतालले धौलागिरी क्षेत्रमै राम्रो उपचार गरेको धेरै जानकारी छ। बागलुङमा नभएको शल्यक्रिया यहाँ सफल भएको समाचार मैले पनि सुनेको थिएँ।’

मुख्यमन्त्री अधिकारीले निक साइमनबाट प्राप्त सहयोगले अस्पतालले गुणस्तरीय सेवा दिएको बताउँदै भवन सम्पन्न ढिलाइ नगर्न समापन समारोहस्थलबाटै निर्देशन दिए। उनले अस्पतालमा आएर सेवा लिने गरी गुणस्तरीय सुविधा थप गर्नेसमेत प्रतिबद्धता जनाए। ‘पोखरामा जस्तै यहाँ पनि सेवा दिन सकिन्छ, कुनै दिन बेनी अस्पतालमा उपचार गर्न आउने चाहना छ’, मुख्यमन्त्री अधिकारीले भने। उनले पाँच वर्षबाट फर्कदै गर्दा अस्पतालमा उपचार गर्न आउने गरी आफ्नो निरन्तर सहयोग हुने बताए।

स्मरण रहोस्, मुख्यमन्त्री अधिकारी नै स्वास्थ्यमन्त्री हुँदा बेनी अस्पताल २५ शड्ढयाबाट ५० शड्ढयामा स्तरोन्नति भएको थियो। पटकपटक थप भएको समयमा समेत निर्माण व्यवसायीले भवन निर्माणमा तदारुकता नदेखाएको र निर्माण कम्पनीलाई काम गरेभन्दा बढी भुक्तानी दिएको सार्वजनिक भएको थियो। अहिले भवन अलपत्र अवस्थामा छ। निर्माण व्यवसायी सिंहकोे तस्बिर र सम्पर्क नम्बरसमेत उल्लेख गरी निर्माण व्यवसायी हराएको सूचना टाँस गरेर विरोध गरिएको थियो। छिमेकी जिल्ला पर्वतका पदम गिरी संघीय सरकारको स्वास्थ्यमन्त्री नियुक्त भएकाले भवन सम्पन्न गर्न ठेकेदारलाई दबाब पुगेको अवस्थामा मुख्यमन्त्रीको निर्देशनले अलपत्र कामले गति लिन सक्ने अनुमान गरिएको छ।

तत्कालीन सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङसँंग २१ पुस २०७३ मा महादेव खिम्ती, गल्वा रफिना जेभीले १८ करोड ८४ लाख ८ हजार ८९ मा ठेक्का सम्झौता गरेको थियो। २० मंसिर २०७६ भित्र निर्माण कार्य सम्पन्न गर्ने सम्झौता भए पनि योजना अलपत्र परेपछि अहिले चौतर्फी आलोचना र गुनासो बढेको छ।

निर्माण सम्पन्न गर्नुपर्ने म्याद गुजारेको करिब तीन वर्ष पुग्न लाग्दा बेनी अस्पतालको भवन निर्माण योजनाका काम करिब ५० प्रतिशत मात्रै सकिएको छ। निर्माण व्यवसायीको चरम ढिलासुस्ती र लापरबाहीका कारण बेनी अस्पतालको निर्माणाधीन भवन ढिलासुस्तीको नमुना बनेको छ। बेनी अस्पतालले भवन अभावमा अस्थायी संरचनाबाट स्वास्थ्योपचार सेवा दिँदै आएको छ। समयमै भवन नबन्दा स्वास्थ्यसम्बन्धी सबै सेवा गुणस्तरीय रूपमा सेवाग्राहीलाई दिन नसकिएको बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदीले बताए। अध्यक्ष सुवेदीले प्रधानमन्त्री दाहालसहित संघीय सरकारका विभिन्न निकायसमक्ष पुगेर दबाब दिएको बताए।

प्रकाशित: ८ माघ २०७९ ०१:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App