२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

मौरी पालनबाट मनग्य आम्दानी

जुम्लामा मौरी पालन व्यवसायबाट कृषकहरू मनग्य आम्दानी गर्दै आएका छन्। जिल्लामा आधुनिक र परम्परागत मौरी पालन व्यवसाय गरिरहेका किसानहरूको राम्रो कमाइ हुने गरेको छ।

जुम्लाको गुठिचौर गाउँपालिका–५ कुम्डी गाउँका धर्मसिंह भण्डारीले २०७७ बाट मौरी पालन गर्न सुरु गरेका थिए। एक घारबाट मौरी पालनबाट व्यवसाय सुरु गरेका उनीसँग अहिले २८ हाराहारीमा मौरीका घार छन्। उनी महसँगै मौरीको घार पनि बेच्छन्।

मौरी पालनबाट हुने आम्दानीमा सन्तुष्ट रहेको बताउँदै भण्डारीले भने, 'लगानी कम लाग्ने र आम्दानी धेरै हुने व्यवसाय हो यो। घर खर्च गरेर वार्षिक ४ लाख बढी बचत हुने गरेको छ।'

धेरै मेहनत पनि गर्न नपर्ने व्यवसायबाट यति आम्दानी हुनु भनेको आफूहरूका लागि धेरै सहज काम भएको उनको भनाइ थियो । यता गुठिचौर गाउँपालिका ३ का जुद्धे विकले मौरी पालन व्यवसाय गर्न थालेको ५ वर्ष भयो । यो अवधिमा धेरै राम्रो कमाइ भएको उनले बताए। 

सुरुमा एक घारबाटै मौरी पालन सुरु गरेका उनीसँग अहिले १६ घार मौरी छन्। खटिएर गर्न सक्ने हो भने मौरी पालन व्यवसायमा राम्रो हुने उनको अनुभव छ। सबै खर्च काटेर वार्षिक १ देखि २ लाखसम्मको फाइदा हुने गरेको उनले बताए । लगानी थोरै भए पनि आम्दानी धेरै हुने भएकाले मौरी पालन व्यवसायबाट किसानहरू खुसी रहेको उनको भनाइ थियो। यहाँ दलहन, तेलहन वालि लगाइने भएको कारण मौरी चरणका लागि राम्रो भएको विकले बताए।

'गाउँमा प्रशस्त फलफूल, तोरी, स्याउ, आरु, खुर्पानी, ढटेलो, ढुटेलो लगायतका विभिन्न रुखहरू भएकाले कृषकलाई चरनको पनि समस्या छैन । उनीहरूले मौरी चराउनकै लागि गाउँबाट अन्त लैजानुपर्ने अवस्था छैन।' कृषक भण्डारीले भने।

'गाउँ सामुदायिक वन भएपछि गाउँमा जङ्गल विस्तार भएको छ। मौरीका लागि उपयुक्त बोटबिरुवाहरू गाउँमै छन्। त्यसैले चरनका लागि समस्या छैन।' उनले भने।

आफूहरूले यो वर्ष ३ सय बोट स्याउका वृक्षारोपण गरेको पनि उनले जिकिर गरे। मौरी पालन गरिरहेका सबै कृषकहरूले राम्रो आम्दानी गरिरहेका कृषि विकास कार्यालय जुम्लाले जनाएको छ ।

जिल्लामा आधुनिक घारहरू परम्परागत मुडे र खोपे घारहरू कतिपय छन्। मह उत्पादन अवस्था कति छ, कृषि विकास कार्यालय सँग तथ्याङ्क भने छैन।

प्रकाशित: ७ माघ २०७९ १५:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App