६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

साबुन उद्योग माथिको रोक्का फुकुवा गर्न माग गर्दै हस्ताक्षर अभियान

साबुन उद्योग माथिको रोक्का फुकुवा माग गर्दै आयोजित हस्ताक्षर संकलनमा हस्ताक्षर गर्दै मेयर हर्क साम्पाङ। तस्बिर :रोहित राई

धरान २० मा खोल्न लागेको माया धराने ब्राण्डको साबुन उद्योगमाथि उच्च अदालत विराटनगरले जारी गरेको अन्तरिम आदेश फुकुवाको माग गर्दै हस्ताक्षर संकलन अभियान शुरु भएको छ।

सचेत धराने समुह नामको संस्थाले भानुचोकमा हस्ताक्षर संकलन अभियान थालेको हो। शुक्रबारदेखि शुरु भएको संकलन अभियान आइतबार सम्म जारी रहने समुहका प्रवक्ता राम लिम्बुले जानकारी दिए। उनका अनुसार हस्ताक्षर संकलन गरिसके पछि धरान १३ मा रहेको प्रादेशिक वन निर्देशनालयमा बुझाइनेछ। ‘यो केवल हस्ताक्षर मात्र होइन, धराने जनताको भावना र चाहनाको अभिव्यक्त हो,’उनले भने,‘धरानलाई उत्पादनसँग जोड्ने र रोजगारी सृर्जना हुने उद्योगमाथि कुनै पनि वहानामा अवरोध हुनुहुदैन, फुकुवा हुनुपर्छ भन्ने भावना हो।’

मेयर हर्क साम्पाङले धरानमा पनि उत्पादन शुरु गर्ने र स्थानीयस्तरमा नै रोजगारीको अवसर सृर्जना गर्ने भन्दै साबुन उद्योगको अवधारणा अघि सारेका थिए। कार्यपालिका बैठकबाट धरान २० सुर्द खोला किनारको जग्गामा औद्योगिक ग्राम बनाउन प्रक्रिया थाल्ने पनि निर्णय गरेको थियो। साबुन उद्योगको लागि छनौट गरिएको जग्गामा वन समुहले मनमोहन स्मृति चिल्ड्रेन पार्क बनाउने कार्ययोजना बनाएको र वनको जग्गा भएको भन्दै वन भिडिजन कार्यालयले भोगाधिकार लिनुपर्ने पत्राचार गरेपछि विवाद खडा भएको थियो। गिट्टी कुट्ने श्रमदान भइरहेको बेला डिभिजन वनले उच्च अदालत विराटनगरमा मुद्दा दायर गरेर स्टे अर्डर जारी भएपछि अहिले साबुन उद्योगको काम अघि बढ्न सकेको छैन। वन कार्यालय र स्थानीय सरकार बीच सम्बन्ध तिक्ततापुर्ण बनेको छ।  

खोला रहेको जग्गालाई उपयोग गरेर धरानलाई उत्पादनसँग जोड्न खोज्दा पुर्वाग्राही भएर भिडिजन वन कार्यालयले मुद्दा दायर गरेको भन्दै मेयर साम्पाङ र उनका समर्थकहरु रुष्ट छन्। सचेत समुहका प्रवक्ता लिम्बु पनि विगतमा वस्ती बस्दा, विभिन्न संघसंस्थाले घेराबारा गर्दा आँखा चिम्लिने वन अहिले साबुन उद्योग खोल्न खोज्दा कानुनी अड्चन बनेको भन्दै असन्तुष्टी जनाए। ‘उत्पादन हुने र रोजगारी सृर्जना हुने कुरामा कानुनी अड्चन निकाल्नु वन पुर्वाग्रही भएको प्रमाण नै हो,’उनले भने,‘साबुन उद्योग खोल्ने बाटो खुलोस्, जुन किसिमको बन्देज छ फुकुवा होस भन्ने चाहन्छौं।’

धरानका मेयर हर्क साम्पाङ पनि हस्ताक्षर संकलन अभियानमा समर्थन जनाउन भानुचोक पुगेका थिए। हस्ताक्षर पश्चात उनले प्रतिक्रिया दिदै जनताले उत्पादन चाहन्छन् भन्ने हस्ताक्षर गर्न आएबाट नै थाहा भएको बताए। ‘उत्पादन बढाउनु, रोजगारी सृर्जना गर्नु, आत्मनिर्भर बन्नु, स्वाभिमानी र स्वाबलम्बी बन्नु राम्रो हो। यो कामलाई त सरकारले बजेट दिएर झनै हौसला बढाउनुपर्ने हो,’मेयर साम्पाङले भने,‘तर ठिक विपरीत कानुनी उल्झन बनाएर वनले अड्काएको छ। यो राम्रो भइरहेको छैन।’

मेयर साम्पाङले साबुन उद्योगमा रोक लागे पनि अब चाडै बेसार उद्योग खोल्ने काम अघि बढ्ने बताए। कार्यपालिकाले धरान २० मा उपयुक्त स्थान खोजेर बेसार उद्योग खोल्ने निर्णय गरिसकेको छ। बेसार उद्योगको लागि विष्णु पादुका क्षेत्रमा जग्गा दिन पनि स्थानीय सहमत भइसकेका छन् भने प्राविधिकरुपमा काम पनि अघि बढीसकेको छ। 

प्रकाशित: ६ माघ २०७९ ११:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App