१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

‘दुर्घटना कम गर्न कडा कानुन'

काठमाडौं- सडक दुर्घटना कम गर्न सवारी चालकको लाइसेन्स खारेजसम्मको कानुन बनाउन महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख डिआइजी प्रकाश अर्यालले सांसदसमक्ष माग गरेका छन्। व्यवस्थापिका संसद्को सुशासन तथा अनुगमन समितिमा सोमबार ट्राफिक व्यवस्थापनसम्बन्धी छलफलमा डिआइजी अर्यालले कानुन फितलो हुँदा चालकको लापरबाहीका कारण नेपालमा ज्यान गुमाउनेको संख्या डरलाग्दो रहेको तथ्यांक पेस गरेका छन्। उनले भने, ‘धेरै दुर्घटना सवारी चालकको लापरबाही कारण हुने गरेको अध्ययनले देखाएको छ।'

कसुर मापदण्ड बनाएर चालकलाई कारबाही गर्नुपर्नेमा उनले जोड दिएका छन्। 'चालकले गरेको निश्चित नियम उल्लंघनको आधारमा कानुन बनाएर लाइसेन्स खारेज गर्नुपर्छ,' उनले भने। गल्ती गरे पनि थोरै सजायमा उम्कने भएकाले सवारी चालक गैरजिम्मेवार बनेकाले सर्वसाधारणले अनाहकमा ज्यान गुमाउनु परेको छ।

उनले सांसदहरूलाई कडाभन्दा कडा कानुन बनाउन आग्रह गर्दै हरेक वर्ष २ हजारदेखि २ हजार ५ सयसम्मले ज्यान गुमाइरहेको तथ्यांक प्रस्तुत गरे। 'हामीले प्रतिवर्ष द्वन्द्वमा जति मान्छे गुमायौं, त्योभन्दा बढी सडक दुर्घटनमा गुमाइरहेका छौं,' उनले भने। सांसदलाई 'सडक सुरक्षा' राष्ट्रिय प्राथमिकतामा राख्न उनले आग्रह गरेका छन्। 'रोड सेफ्टी सरकारको राष्ट्रिय प्राथमिकतामा पर्न सकेको छैन,' उनको गुनासो छ।

सुशासन तथा अनुगमन समिति, प्रहरी प्रधान कार्यालय, ट्राफिक, यातायात व्यवस्था विभागलगायतको संलग्नतामा कार्यदल बनाएर सरकारलाई सुझाव दिने समितिका सभापति मोहनसिंह राठौरले बताए। उनले भने, 'अकालमा ज्यान गुमाउनेको संख्या बढेको छ। यातायात क्षेत्रमा भएका विकृति–विसंगतिबारे अध्ययन गर्छौं।'

डिआइजी अर्यालले जनचेतना फैलाउन ट्राफिकले मात्र गाह्रो भएको गुनासो गरे। पाठ्यक्रममा ट्राफिक नियमका बारेमा राख्न निकै कोसिस गरे पनि नसकेको उनको दुखेसो थियो। 'हाम्रो आवाज पुगेन, तपाईंहरुको आवाज बलियो हुन्छ, कृपया ट्राफिक नियमलाई पाठ्यक्रममा राख्ने व्यवस्था गरिदिनुहोस्,' उनले थपे, 'प्राथमिक कक्षा देखि १० सम्म एउटा च्याप्टर भए पनि ट्राफिक नियमका बारेमा जानकारी दिन राखौं।'

एउटा विद्यार्थीले लाइसेन्स लिनेबेला सम्पूर्ण नियमबारे जानकारी पाओस् भन्ने हेतुले शिक्षा मन्त्रालयमा पटक–पटक आग्रह गर्दा पनि सम्बन्धित पक्षले ध्यान नदिएको उनले सांसदसँग गुनासो गरे। काठमाडौंमा रहेको ट्राफिक अवस्था, पैदलयात्रुले ज्यान गुमाउनु परेको, जेब्रा क्रसिङमा चालकले नरोक्ने गरेको, क्षमताभन्दा बढी यात्रु कोचेर गाडी चलाउने गरेको तथ्यांकलाई सिसिटिभी फुटेजमार्फत उनले देखाएका थिए। 

ट्राफिक नियम पालना नगरेकाले धेरैले ज्यान गुमाउनुपरेको भन्दै उनले सार्वजनिक यातायातको एकाधिकारलाई अन्त्य गर्नुपर्ने बताए। भने, 'पुराना गाडी विस्थापित नगरिनु पनि दुर्घटनाको कारण हो।'

काठमाडौं उपत्यकाको सहरी विकासको अनुपातमा सडक पूर्वाधार नहुनु, यातायात क्षेत्र सरकारको प्राथमिकतामा पर्न नसक्नु, यातायात क्षेत्रमा रुट, सिन्डिकेटका कारण निश्चित समूहको पहुँच हुनु, अवैज्ञानिक प्रतिस्पर्धा, सार्वजनिक सवारी साधन सञ्चालकको नाफामुखी पद्धति, प्रक्रियागत त्रुटिपूर्ण सवारी चालक अनुमतिपत्र वितरण प्रणालीका कारण दुर्घटना बढ्दै गएको महानगरीय ट्राफिक प्रहरी महाशाखाको ठम्याइ छ।

ठूलो बाटोले मात्र दुर्घटना कम नगर्ने उनको अनुभव छ। 'कोटेश्वरदेखि भक्तपुरसम्मको ६ लेनको बाटोमा सबैभन्दा धेरे दुर्घटना हुन्छ, ठूलो बाटो देखेपछि द्रूत गतिमा गाडी कुदाउँछन्, असीमित गतिमा कुदाउँदा दुर्घटना हुने गरेको छ,' उनले भने।

प्रकाशित: ३२ श्रावण २०७३ ०२:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App