१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

‘सञ्चारकर्मी रविको विश्वास लाग्छ, गृहमन्त्री रविको लाग्दैन’

निर्मलाकुर्मीको न्यायका लागि माइतीघर मण्डलामा धर्ना बसेका बाँकेका महिला अधिकारकर्मी। तस्बिर: उपेन्द्र/नागरिक

न्यायको लागि सरकार खोज्दै माइतीघरमा जम्माभएका बाकेका महिला अधिकारकर्मीलाई खोज्दै शनिबार सरकार धर्नास्थलमै पुग्दा उनीहरू अलमलमा परे। गृहमन्त्री रवि लामिछानेले निर्मला कुर्मीको घटना छानबिन गरी न्याय दिने बताउँदै आन्दोलन स्थगन गर्न भनेपछि आफूहरू दुविधामा परेको आन्दोलनरत अगुवा रुवी खानले बताइन्।  

‘हाम्रो आवाजसँग आवाज मिलाउँदै आएका सञ्चारकर्मी रवी आउँदा निकै खुसी लाग्यो,’ रुबीले भनिन्, ‘विगतका सरकारले पटकपटक ढाटेका कारण गृहमन्त्री लामिछानेले भनेजस्तै गरी आन्दोलन स्थगन गर्न सकेनाैं।’ सञ्चारकर्मी रविको निकै विश्वास लागे पनि गृहमन्त्री लामिछानेबाट भने आश्वस्त हुन नसकेको उनले बताइन्। ‘उहाँले तपाईहरू यो चिसोमा म चाहिँ तातोमा कसरी बस्न सक्छु भन्दा हाम्रा आँखा भरिए,’ उनले भनिन्, ‘तर विगतमा सरकारबाट धोका पाएका कारण हामीले आन्दोलन स्थगन गर्न सकेनौं।’

२०७८ असोज १ गतेबाट निर्मला कुर्मीको न्यायको लागि आवाज उठाउँदै राजधानी पैदलयात्रा तय गरेका अधिकारकर्मीको टोलीले न्यायको पक्षमा आवाज उठाउँदै आएका सञ्चारकर्मी रवि लामिछानेबाट धेरै आशा गरेको सुनाए। ‘विगतका गृहमन्त्रीले हामीलाई भेट्ने समय पनि दिएनी भन्छिन्, ‘उहाँ हामी बसेकै ठाउँमा आएर केही हाम्रो समस्या सुनिदिँदा हामी निकै खुसी छौं।’ न्यायको लागि लालटिन बालेर बसेका आफूहरूमाझ साक्षात ‘रवि’ (सूर्य) नै आएजस्तो लागेको खानले सुनाइन्। ‘अब न्याय भेटिने आशा जागेको छ,’ उनले भनिन्, ‘हामीले न्याय पाउँदा मुलुकभरि नै आशाको उज्यालो छरिनेछ।’

अधिकारकर्मीको टोलीले राजधानीमा तेस्रो चरणको आन्दोलन सुरुवात गरेको पनि १९ दिन बितिसकेको छ। यसअघि पनि ५५ दिन माइतीघरमा बिताइसकेका उनीहरू सरकारको अलमल परिएला कि भन्ने डरमा रहेका छन्। ‘हामीले यत्तिकै विश्वास नगरेका हैनौं,’ खानले भनिन्, ‘दूधकी जलि बिल्ली मठ्ठा भि फुकके पियत’(दुधले पोलेको बिरालो, मोही पनि फुकेर पिउँछ ) जस्तै अवस्था हमीलाई भएको छ।’

बाँकेकी निर्मला कुर्मी र नन्कुन्नी धोबीलाई सरकारले न्याय नदिइएको उनीहरूको आरोप छ। अधिकारकर्मी रुवी खान नेतृत्वको समूहले निर्मला कुर्मी हत्याको घटनामा न्यायिक आयोग गठन गर्नुपर्ने, न्यायिक आयोगमार्फत कुर्मीको तमसुकमा भएको सहीछाप चेक गरिनुपर्ने, मुद्दालाई अदालतसम्म पु–याइनुपर्ने र महिला आन्दोलनकारीको सुरक्षाको प्रत्याभूति गराउनुपर्नेलगायतका माग रहेको छ।  

उक्त घटनाको सम्बन्धमा सरकारले पटक–पटक घटनाको सत्यतथ्य छानबिन गर्ने भन्दै प्रतिबद्धता जनाए पनि कार्यान्वयन नगरेको उनीहरूको आरोप छ।‘घटनामा ठूला बडा भनिएकाहरू मुछिएकाले न्यायमा ढिलाइ भएको छ,’ रुवी भन्छिन्, ‘यो हाम्रो मात्र हैन, अहिलेको सरकारको पनि अग्निपरीक्षा हो।’

यसैबीच, गृहमन्त्री रवि लामिछानेले निर्मला कुर्मीको घटना छानबिन गर्ने सिआइबीलाई निर्देशन दिएको बताएका छन्। शनिबार माइतीघर मण्डलामा कुर्मीको न्यायको लागि आन्दोलनरत रुवी खानलाई भेटर गृहमन्त्रीले उक्त जानकारी दिएको प्रेस संयोजक नवराज पाण्डेले जानकारी दिए।  

अधिकारकर्मीले शुक्रबार गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेललाई भेटेर ध्यानाकर्षणपत्र बुझाएका थिए। ध्यानाकर्षणमा आन्दोलन रोक्नलाई मात्र वार्ता गर्ने, अनुसन्धानको नाममा पटकपटक त्रुटिपूर्ण अनुसन्धान गर्ने, मुख्य अभियुक्तलाई जोगाउन खोज्नेलगायतका विगतका रवैया नदोहोराउन आग्रह गरिएको छ। उक्त ध्यानाकर्षणपत्र बुझेपछि निर्मला कुर्मीको न्यायका लागि आन्दोलनमा रहेकी रुवी खानलाई भेट्न गृहमन्त्री लामिछाने माइतीघर पुगेका हुन्।  

के हो कुर्मी घटना ?  

श्रीमान्को २०६२ सालमा निधन भएपछि निर्मला कुर्मी आफ्ना २ छोराहरूसँग बस्दै आएकी थिइन्। २०६६ सालमा उनका दुवै छोराको १० दिनको अन्तरालमै शंकास्पद निधन भएको थियो। त्यसपछि २०६९ मा विभिन्न व्यक्तिले निर्मलाको नाममा रहेको १० कठ्ठा जग्गा अन्यले नै नामसारी गरेको भेटिएपछि घटना शंकास्पद बनेको हो। निर्मला बेपत्ता हुनु र उक्त घटनामा राजनीतिक पहुँच भएका व्यक्तिधधको नाम जोडिनुले यो घटना पेचिलो बन्दै गएको हो। 

प्रकाशित: ३ माघ २०७९ ०१:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App