१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

यती एयर दुर्घटनाः अझै भेटिएनन् चार यात्रु, ३६ जनाको सनाखत

पोखरामा आइतबार भएको हवाईजहाज दुर्घटनाका बेपत्ता यात्रुको खोजी गर्दै सुरक्षाकर्मी। तस्बिर सौजन्यः सुदर्शन रञ्जित

पोखरामा आइतबार बिहान भएको यती एयरलाइन्सको हवाई जहाज दुर्घटनाका ६८ जना यात्रुको शव भेटिएको छ। ती मध्ये ३६जनाको मात्र सनाखत भएको छ। अझै चारजना यात्रु बेपत्ता रहेको प्रहरीले बताएको छ।

मृतक सबै यात्रुको शव अहिले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ। अस्पतालका चिकित्सक डा. खेम अधिकारीले ३६ जनाको शव सनाखत भएको जानकारी दिए। सनाखत हुनेमा जहाज कमाण्ड गरेका पाइलट कमल केसीको शव पहिचान भएको छ। त्यस्तै एयरहोस्टेज सिर्जना हुङचुङको पनि शव पहिचान भएको छ।  

जहाजमा ६८ जना यात्रु र चालकदलका अन्य चारसहित ७२ जना सवार थिए। कास्की प्रहरी प्रवक्ता प्रहरी निरिक्षक ज्ञानबहादुर खड्काका अनुसार जहाजका ४ जना यात्रु अझै बेपत्ता छन्। उनीहरुको खोजी भईरहेको उनले बताए। काठमाडौंबाट केही विज्ञ चिकित्सक नआइसकेकोले पहिचान भएका यात्रुको पनि पोष्टमर्टम सुरु हुन नसकेको उनले बताए। 

पोखराका तीनजना र काठमाडौंबाट दुइजना गरि पाँचजनाको पोष्टमर्टम टिम गठन गरिएको उनले बताए। तर, काठमाडौंबाट चिकित्सक आउन ढिलाई भएकोले पोष्टमर्टम सुरु हुन नसकेको उनले बताए। उद्धार र खोजीमा जुटेको टोलीले डोरीको सहायताले झुन्डिएर खोँचसम्म पुगेर खोजी गरिरहेको उनले बताए।

आइतबार बिहान १० बजेर ३३ मिनेटमा काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको ९एन एएनसी कल साइनको एटिआर७२–५०० सिरिजको जहाज १० बजेर ५८ मिनेटमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुपर्ने थियो। तर, अवतरणका लागि अन्तिम तयारी गर्दैगर्दा जहाज एकाएक पोखरा महानगरपालिका–७ र १५ को बीचमा पर्ने मितेरी पुल नजिकै सेतीखोँचमा खसेर दुर्घटनाग्रस्त भएको थियो।  

प्रकाशित: २ माघ २०७९ ०६:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App