१ पुस २०८१ सोमबार
image/svg+xml
समाज

छोरीको उपचारमा सहयोग गर्न आमा पुनको अपिल

मृगौला सम्बन्धी जटिल रोग ( नेफ्रोटिक सिन्ड्रम)ले ग्रसित आफनो १७ वर्षिया छोरी आशिका पुनको उपचारमा सहयोग गर्न आमाले याचना गरेकी छिन्। 

कपिलवस्तुको बुद्धभुमी नगरपालिका वडा नं. २ गोरुसिङ्गेकी ४२ वर्षिया दुर्गा पुनले आशिकाको उपचारमा सहयोग गरी आफनो छोरीको ज्यान बचाई दिन अपील गरेकी हुन्। 

तौलिहवामा संचारकर्मीसंग कुराकानी गर्दै उनले यही छोरी बाहेक आफनो कोही नभएको भन्दै सबैको साथ र सहयोग पाए छोरीको जीवन बच्ने बताएकी छिन्।  ‘मेरो श्रीसम्पती जे भने पनि भएकी यीनै छोरी हुन्। यीनलाई केहि भए, म बाँच्नु को के सार भयो र?’ 

कपिलवस्तुको बुद्धभुमी नगरपालिका वडा नं. २ गोरुसिङ्गेकी ४२ वर्षिया दुर्गा पुनले गहभरी आशु पार्दै भनिन्। सम्पत्तीको नाममा जग्गाको एक टुक्रा जग्गा जमिन नभएकी उनलाई ७ वर्ष अघि भएकी एउटी  छोरीलाई पनि मृगौला सम्बन्धि जटिल रोग लागे पछि झनै चिन्ताले सताएको छ। उनकी १७ वर्षिया छोरी आशिका पुन मृगौला सम्बन्धि जटिल रोग (नेफ्रोटिक सिन्ट्रोम) ले पिडित छिन्। सो समस्याका कारण उनको पिसाबबाट प्रोटिनको मात्रा निस्किएर उपचार नपाए शरिर सुन्निने गरेको छ। बिद्यालयमा पढदा पढदै अचेत  हुने जीउ सुन्नीने लगायतका समस्या हुने गरेकोले उनको पढाइमा पनि धेरै प्रभाव परेको छ। आफ्नो जग्गा जमिन नभएकी उनले आफ्नी बैनीको ६ घुर जग्गामा टिनको छानो हालेको घर बनाएकी थिईन । त्यस पछि ऋण धन गरेर ६ बर्ष अघि श्रीमान प्रेम बहादुर पुनलाई बैदेशिक रोजगारीमा मलेसिया पठाइन्।

श्रीमानले मलेसियाबाट छोरीको उपचारका लागी नियमित पैसा पठाउन थाले। छोरी आशिकाको बुटवलमा उपचार संभव नभए पछि दुर्गाले काठमाण्डौंको कान्ती बाल अस्पतालमा निरन्तर उपचारका लागि लैजाने गरेकी थिइन्। तर, परिवार चलाउने र छोरीको उपचारका लागी बिदेशमा रहेका प्रेमको मुटुको समस्याले २०७७ भदौ २४ गते मृत्यु भयो।

मुटुको समस्याले मृत्यु भएको भन्दै कम्पनीले उनका आश्रित परिवारलाई कुनै पनि रकम दिएन। यता, छोरीको उपचारका लागी धेरै समस्या परे १५/२० दिनमा नभए १ महिनामा काठमाण्डौंको बिर अस्पतालमा पुर्याएर उपचार गराउनु पर्ने बाध्यता दुर्गाको छ।

पढाईमा अब्बल रहेकी आशिकालाई बाणगंगा नगरपालिकाको मोतीपुरको पारिजात ईग्लिस बोर्डिङ्ग स्कुलले निशुल्क पढाएको छ। तर उपचारका लागी हिडीराख्ने भए पछि आशिकाको पढाई र परिक्षा प्रभावित हुने गरेको छ। अहिले  बाख्रा पालेर जसो तसो घर खर्चको जोहो गर्दै आएकी दुर्गालाई छोरीको उपचारका लागी आवश्यक पर्ने मासिक ३०/३५ हजार जुटाउन समस्या पर्दै आएको छ।

छोरीको लागि उपचारमा जाँदा छिमेकीले बाख्राहरुलाई हेरेर सहयोग गर्ने गरेका छन्। तर अहिले भने उपचारको रकम जोहो नहुदाँ छोरीको अबको उपचार कसरी गर्ने भन्ने चिन्ता दुर्गालाई परेको छ। ‘ श्रीमान हुदाँ सम्म जसो तसो उपचार खर्च जुटाएकी थिए। डाक्टर साहबले लामो समय औषधी गर्नु पर्छ भन्नु भएको छ। छोरीको उपचार गर्न अब दाता र सहयोगीको खोजीमा छु। उनले आसु झार्दै  भनिन्। आफू सँग छोरीको उपचारका लागि श्रोत साधन नभएकाले समस्यामा परेको जनाउदै उनले सहयोगी हातहरु सँग छोरीको उपचारमा सहयोग गरिदिन आग्रह गरिन।  

प्रकाशित: १ माघ २०७९ १२:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App