१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

थारु समुदायले मनाए माघी पर्व

आज देशभरका थारु समुदायले माघी पर्व मनाएका छन्।  

थारु समुदायले आजको दिनलाई नयाँ वर्षको दिनको रुपमा पनि मनाउने गरेको छ। यस दिनमा ठूलाबडासँग आशिर्वाद लिने, मुखिया चुन्ने र नयाँ सोचका साथमा आगामी दिन बिताउने कामना सहित मिठो मसिनो खाँदै मनाउने गरिन्छ। पुस मसान्तको दिन सुँगुर/बँगुर जिता मार्ने,आगोको धुनि बाल्दै डफ र मादल सँगै धुमरी गाउँदै रातभर जाग्राम बस्ने चलन छ भने माघी पर्वको दिनमा बिहान सबेरै नजिकैको नदी तथा ताल तलैयामा स्थान गरिन्छ।

स्नान पश्चात पूजा र भाकल गरे सन्तान सुख प्राप्ति र मनोकांक्षा पूरा हुने विश्वास छ। यस दिनमा थारु समुदायले ढिक्री, अण्डिक भात, खिचरी, तिलको लड्डु, लाईमुरी, भुजा, अन्डी जाँडको झोल, सखरखण्ड, खरिया, सुँगुर/बँगुरको मासु, परेवाको मासु, माछा, घोंघी, गंगटो आदि परिकारहरु खाएर रमाइलो गरिन्छ।

 माघी पर्वको अवसरमा काठमाडौंको टुडिखेलमा थारु राष्ट्रिय माघी महोत्सवको आयोजना गरी मनाइएको छ। पुस मसान्तदेखि शुरु भएको सो महोत्सवमा थारुहरुको मौलिक पहिचान झल्कने भेषभुषा सहित सो समुदाय उपस्थित भएको देख्न सकिन्छ भने मौलिक नाचगान पनि देख्न सकिन्छ। साथै महोत्सवमा मौलिक प्रकारका परिकारहरुको प्रदर्शनी तथा बिक्री वितरण पनि भइरहेको छ। 

न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै थारु राष्ट्रिय माघी महोत्सव मुल आयोजक समितिका सदस्य तथा आर्थिक विभाग प्रमुख चन्द्रप्रसाद चौधरीले माघी महोत्सव उत्साहपूर्ण रुपमा चलिरहेको बताए। उनले थारु समुदायले थारु सम्वत २६४६ नयाँ वर्षको रुपमा यस पर्वलाई मनाएको बताए। पछिल्लो पुस्ताहरुलाई पनि थारु समुदायको संस्कार, संस्कृति र रितिरिवाजहरुलाई पुस्तान्तरण गर्नु आवश्यक रहेको उनले धारणा राखे।

प्रकाशित: १ माघ २०७९ १०:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App