कालिकोट जिल्लाको तिलागुफा नगरपालिका-९ मा रहेको तिलागुफा पर्यटकको रोजाइमा पर्न थालेको छ।
गुफाकै नाममा नगरपालिका नामकरण हुनु र नगरपालिका मार्फत पूर्वाधार निर्माण समेत हुनुले तिलागुफा पर्यटक रोजाइमा पर्न थालेको हो।
कर्णाली राजमार्ग देखि एक सय मिटर तिला नदीको छालमा प्राकृतिक रुपमा ४७ मिटर लम्बाइमा रहेका तिलागुफामा दिनहुँ आन्तरिक र कहिलेकाहीँ बाह्य पर्यटक घुमफिर गर्न आउने गरेको वडा नम्बर ९ का वडाध्यक्ष नरेन्द्र रोकायाले जानकारी दिए।
वनभोज स्थल, प्रतीक्षालय र तालवरिपरि पैदल मार्ग निर्माण गरिएको छ।
‘गुफाको पर्यटन प्रवर्द्धनका लागि तिला नदीमा डुङ्गा निर्माण गर्नुपर्नेछ’, उनले भने, ‘पर्यटकीय स्थलको विस्तृत वृत्तचित्र र त्यसका विषयमा पोस्टर बनाएर प्रचारप्रसारको काम थालनी गर्ने योजना रहेको छ।’
नेपालको प्रमुख पर्यटकीय गतव्य रारा जाने बाटो पनि पर्ने भएकाले आन्तरिक तथा बाह्य पर्यटकले तिलागुफाको अवलोकन गर्ने गरेको वडा नम्बर ५ को पूर्व वडा अध्यक्ष टिकाराम न्यौपानेले जानकारी दिए।
उनका अनुसार धनाडामा अहिले आन्तरिक तथा बाह्य पर्यटकको लागि पनि मन्दिर निमार्ण भएको छ।
‘प्राकृतिक र धार्मिक महत्त्व बोकेको गुफाको लम्बाइ ४७ मिटर तथा चौडाइ करिब चार मिटर रहेको छ’, नगर प्रमुख शकरप्रसाद उपाध्यायले भने, ‘गुफाको बनावट प्राकृतिकरुपको रहेको हुनाले यसलाई जस्ताको तस्तै राख्ने र गुफासम्म पुग्नका लागि सडक व्यवस्थापन गर्नुपर्ने आवश्यकता छ।’
अहिले गुफासम्म पुग्नका लागि नगरपालिकाले सडकदेखि गुफासम्म रेलिङसहितको व्यवस्थित बाटो निर्माण गरेको र मन्दिरसहित अन्य पूर्वाधार निर्माण भइसकेको उपप्रमुख महेन्द्रबहादुर शाहीले बताए।
यहाँ अवलोकन गर्न आउने पर्यटकले तिलाका असला माछा, स्याउ, सिमी, टिमुरलगायत अर्गानिक उत्पादनको स्वाद लिन पाउने गरी थप होमस्टेलगायत होटल व्यवस्थापन गर्न बाँकी रहेको नगरपालिकाले जनाएको छ।
धेरै सम्भावना बोकेको तिलागुफामा अहिले सम्म पर्यटकीय क्षेत्रमा खासै विकास नभएको बताउँदै नगरपालिकाका पर्यटकीय क्षेत्रहरूको प्रचार प्रसारको लागि र पर्यटकको व्यवस्थापनको लागी आवश्यक बिकास निर्माणको काम भइरहेको नगरपालिकाले जनाएको छ।
रारा जाने पर्यटनलाई एक पटक तिलागुफा, रुरुबञ्चु, पुगमालिका लगायतका पर्यटकीय क्षेत्रको अवलोकन गर्न सकेमा तिलागुफा नगरपालिकाको समग्र आर्थिक विकासमा सहयोग पुग्ने स्थानीयले बताएका छन्।
तिलागुफा पुग्ने पर्यटनलाई अर्गानीक खानेकुरा, रुरुबञ्चु क्षेत्रको अवलोकन, तिलागुफा भ्रमण लगायत सुन्दर दृश्यलमा स्वागत गर्न सकेमा स्थानीय पनि रोजगारी हुन सक्ने स्थानीय बत्ताउँछन्।
प्रकाशित: ३० पुस २०७९ १३:५४ शनिबार