१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

इटहरीलाई व्यवस्थित गर्न उपमहानगरपालिका सक्रिय

उपमहानगरपालिकाको सक्रियतामा बजार क्षेत्रमा सडक र सडक पट्टी व्यवस्थित गरिर्दै। तस्बिर: नागरिक

इटहरीको चौरास्त बजार क्षेत्रलाई व्यवस्थित गर्न उपमहानगरपालिकाले सक्रियता बढाएको छ। केही समय अघि मात्र अस्तव्यस्त रहेको इटहरीको पार्किङ् व्यवस्थित गरेको  थियो। पार्किङ्पछि अहिले बजार क्षेत्रलाई व्यवस्थित गर्न उपमहानगरपालिका सक्रिय भएको हो।

विराटनगरबाट २२ किलोमिटर उत्तर र धरानबाट १८ किलोमिटर दक्षिण पूर्व–पश्चिम राजमार्गमा अवस्थित इटहरी यातायातको पहुँचले गर्दा बसाइँ सर्नेको समेत मुख्य गन्तब्य बन्दै आएको छ। बजार क्षेत्रलाई व्यवस्थितका लागि मुख्य चौरास्त चोकको चारैतिर पाँच सय मिटर दुरीसम्म सडक क्षेत्र पुरै क्लियर गर्ने काम र सडक पट्टी खुल्ला गर्ने काम भएको छ। इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले शहरलाई सौन्दर्य पार्न र पाहुनालाई आकर्षण गर्न अभियान थालिएको बताए।

इटहरी भएर नै पूर्व–पश्चिम र उत्तर–दक्षिण चल्ने सवारी साधन गुड्ने हुनाले अरु सहरभन्दा सवारी साधनको चाप बढी हुनु स्वाभाविक नै भएपनि केही समय अघिदेखि पार्किङ् व्यवस्थित भएको थियो। यतिबेला भने उपमहागनरपालिकाले बजार क्षेत्रको सडक र सडक पट्टीलाई पुरै व्यवस्थित गर्न निरन्तर अभियान चलाई रहेको छ।

शहरीकरणलाई पछयाइरहेको इटहरी पूर्वकै व्यापारिक ‘हब’ समेत बन्दै गएकाले गर्दा पनि यहाँ सामान खरीद–विक्री गर्न आउनेको चाप बढ्दो छ। यहाँ काठमाडौंपछि भव्य, व्यवस्थित र आधुनिक बजार बनाउने सोचले एकपछि अर्को सपिङ् सेन्टर निर्माण हुँदै छन्। इटहरीमा बजार व्यवस्थित भए यहाँ सामान खरीद बिक्री गर्न आउनेको संख्या अवश्य बढ्नेछ।

इटहरी मुख्य बजार आसपास क्षेत्रमा ठुला तथा साना गरि जम्मा ४ हजार २ सय ३३ व्यवसाय सञ्चालनमा छन्। यीमध्ये इटहरी चौरास्त चोक आसपास सेन्टर प्लाजा, संगीत चौकको सानिमा बैंक रहेको भवन, हङ्कङ् मार्केट छेउको आईएमई कर्पोरेट भवन, आईतबारेको इ–लाइट सिनेमा हल, बसपार्क छेउको गंगा जमुना होटल र लबीपुरमा रहेको भाटभटेनी सुपर मार्केटमा मात्र पार्किङ व्यवस्थित गरिएकोमा उपमहानगरपालिकाले यतिबेला सवैतिर पार्किङ् व्यवस्थित गर्नुका साथै सडक र सडक पट्टी पनि गर्न थालेको छ।

प्रदेश नं. १ ट्राफिक प्रहरी कार्यलय इटहरीका अनुसार चालु आर्थिक वर्ष २०७९–८० को पाँच महिनाको अवधिमा इटहरी बजार क्षेत्रमा हुने दुर्घटनाको संख्या समेत विगतका वर्षको तुलनामा घटेको छ।

इटहरी बजार क्षेत्रलाई व्यवस्थित गर्न उपमहानगरपालिका सक्रिय रुपमा जुटेपनि शहर निर्मार्ण गर्ने क्रममा शहरको मास्टर प्लान बनाउने  कुरामा भने जनप्रतिनिधिहरु चुकेका छन्। इटहरीको मास्टर प्लान बनाउन पनि ध्यान दिन आवश्यक रहेको छ।

व्यवस्थित हुँदा शहरको सौन्दर्य त बढ्ने नै छ। अर्कातिर आकर्षक हर भएसँगै स्वदेशी तथा विदेशी पर्यटक पनि लोभिएर आउने क्रम बढ्नेछ। जसले गर्दा स्थानीय सरकारले  थालेको अभियान जारी रहनुपर्ने स्थानीयले बताएका छन्।  

प्रकाशित: २५ पुस २०७९ १२:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App