१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

गोरखा नगरपालिकाले ‘इबिडिङ’ नगर्दा मिलेमतोमा ढुङ्गा गिटीको ठेक्का

गोरखा नगरपालिकाले इलेकट्रोनिक्स विडिङ सिस्टम (इबिडिङ) नगरी ढुङ्गा गिटीको बोलपत्र आह्वान गर्दा व्यवसायीले मिलेमतोमा ठेक्का दाखिला गरेका छन्।

गत वर्ष इबिडिङ मार्फत नदीजन्य पदार्थ (ढुङ्गा, गिटी, बालुवा) को संकलन र बिक्री सम्बन्धी बोलपत्र आह्वान गरेको नगरपालिकाले यो वर्ष इविडिङको व्यवस्था हटाएको हो।

इबिडिङ नगर्दा व्यवसायी बिच प्रतिस्पर्धा कम भएको छ। यसले नगरपालिकालाई राजस्वमा समेत घाटा हुन्छ। 

‘साँघुरो प्रतिस्पर्धा गराएपछि न्यूनतम अंकलाई आधार मानेर ठेक्का हाल्छन्, यसले राजस्व घट्ने भयो, प्रतिस्पर्धा धेरै गराउँदा राजस्व नगरपालिकालाई बढ्ने थियो’ नगरपालिकाका एक कर्मचारीले भने।

अनलाइन विडिङ गर्दा वेभसाईटबाट बोलपत्र खरिद गरी दाखिला गर्न सकिन्छ। यो प्रावधान हटाएर टेन्डर आह्वान भएपछि बोलपत्र दाखिला गर्न चाहने निर्माण कम्पनी वा व्यवसायीले नगरपालिकामै उपस्थित भएर फर्म खरिद र दाखिला गर्नुपर्छ।

नगरपालिकाले पुस ६ गते जारी गरेको सूचनामा निर्धारित समय भित्र बोलपत्र/दरभाउ पत्र फारम राजश्व शाखाबाट खरिद गरी पेश गर्न भनिएको छ। व्यक्ति उपस्थित भएर खरिद गर्दा कसले, कुन फर्मको नाममा खरिद गर्‍यो भन्ने व्यवसायीले पहिचान गर्छन् र ठेक्का रोक्न, मिलाउन तर्फ लाग्छन्। बिभिन्न १४ वटा घाटको ठेक्का आह्वान गरेको नगरपालिकाले ९ वटा ठेक्काको म्याद पुस २० गते सकिएको छ। बाँकी पाँच वटा माघ ५ गते सम्म अवधि छ।

९ वटा घाटको ठेक्का चारदेखि १५ लाख भित्रका छन्। यो मध्ये पाँच वटामा मात्रै ठेक्का दाखिला भयो। दाखिला भएका पाँच वटा सबैमा तीन/तीन वटा कम्पनीको मात्रै दाबी छ। कम्तीमा तीन वटा दाखिला गर्नुपर्ने प्रावधानमा टेकेर व्यवसायीले सिमिति फर्म पेश गरेका हुन्।

दाखिला भएको मध्ये ठेक्का नम्बर ४ दरौँदी नदीको बेनिखोला घाट हो। ६ वटा कम्पनीले फर्म खरिद गरेको मध्ये तीनवटाले मात्रै दाखिला गरे।

मर्स्याङ्दी नदीको नारीम घाटकालागि ७ वटा कम्पनीले बोलपत्र खरिद गरेका थिए। ती मध्ये तीन वटा मात्रै दाखिला भएको छ। सोही नदीको शाहा घाटमा ६ वटा कम्पनीले फर्म खरिद गरेर अन्ततः तीन वटा मात्रै दाखिला भएको छ। मर्स्याङ्दी नदीको जुम्लाङ्ग घाटमा तीन वटा खरिद भएको थियो र तिन वटा दर्ता भएको छ। रामशाह घाटमा तीन वटा फर्म खरिद भएपनि एउटा पनि दाखिला भएन।

ठुला पाँच वटा ठेक्काको पनि नगरपालिकाले अनलाइन विडिङको व्यवस्था गरेन। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञाननाथ ढकालले इविडिङमा तीन प्रतिशत धरौटी रकम भन्दा माथि इन्ट्री गर्न नमिल्ने भएकाले समस्या भएको बताए।

‘यो ठेक्कामा पाँच प्रतिशत धरौटी नलिई इन्ट्री गर्न मिल्दैन, पाँच प्रतिशत राख्ने ठाउँमा तीन प्रतिशत मात्रै छ’ उनले भने।

अन्यत्रका नगरपालिकाले भने यो वर्ष पनि इविडिङ मार्फत नदीजन्य पदार्थको ठेक्का आह्वान गरिरहेका छन्।

दरौँदी नदीको बेनिखोला घाट ७२ लाख ३१ हजार सात सय ७० रुपैयाँमा बोलपत्र आह्वान गरिएको छ। अडाई गाउँ घाट र राईपाली घाटमा ४५/४५ लाख मा ठेक्का आह्वान भएको छ। गंगटेखोला घाटको डेक्का ३९ लाख, हात्तिशेरा घाटको ६९ लाख न्यूनतम शुल्क राखेर नगरपालिकाले बोलपत्र आह्वान गरेको छ।

यी घाटमापनि व्यवसायीले सिमित फर्म खरिद गरी दाखिला गर्ने तयारी गरेका छन्। नगरपालिकाले इविडिङ नगराउँदा मिलेमतोमा व्यवसायीलाई सहज भएको छ।

पुस २० सम्म म्याद रहेका ठेक्का दाखिला भएपनि मूल्याङ्कन र निर्णय हुन बाँकी रहेको गोरखा नगरपालिका राजस्व शाखाका किरण कट्टेलले बताए। बाँकी ६ वटा प्याकेजको ठेक्का माघ ५ गते खोलिँदै छ।

सार्वजनिक खरिद नियमावलीमा २० लाख भन्दा माथि इविडिङको प्रावधान छ। नदीजन्य पदार्थलाई भने आय ठेक्का भन्दै सार्वजनिक खरिद ऐन आकर्षित नहुने दाबी गोरखा नगरपालिकाको छ। 

यो खरिद प्रक्रिया अन्तर्गत नपर्ने भएकाले आय ठेक्कामा इविडिङ गर्नै पर्ने भन्ने प्रावधान नभएको गोरखा नगरपालिका इन्जिनियर प्रकाश ढकालले बताए। 

‘गत वर्ष इविडिङ गरेको हो, यो वर्ष गरिएन’ उनले भने। 

व्यवसायीको मिलेमतोका बारेमा भने कार्यालयलाई थाहा नहुने उनले बताए। 

प्रकाशित: २४ पुस २०७९ १६:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App