२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
समाज

बलात्कार आरोपीलाई कारबाहीको माग गर्दै प्रदर्शन

इलाका प्रहरी कार्यालयमा धर्ना दिँदै आफन्त। तस्बिर: योगेश रावल

टीकापुर नगरपालिका–५ नुक्लीपुरकी नौ वर्षीय बालिकालाई बलात्कार गर्ने स्थानीय प्रेम शाहीलाई कानुनी कारबाहीको माग गर्दै बालिकाका आफन्तले विरोध प्रदर्शन गरेका छन्।

नारा जुलुस सहित सयौँको संख्यामा नुक्लीपुर गाउँबाट आएका पीडित बालिकाका आफन्तले टीकापुर बजारमा प्रदर्शन गरेका हुन्। उनीहरुले स्थानीय खड्ग चोकमा पुगेर कोणसभाका साथै इलाका प्रहरी कार्यालयको गेटमा समेत धर्ना दिएका छन्।

शाहीले बालिकालाई पुस १५ गते साँझ साढे पाँच बजेतिर केराबारीमा बलात्कार गरेको आफन्तको दाबी छ। आफन्तले प्रहरीको लापरबाहीका कारण बलात्कारमा संलग्न शाही फरार भएको आरोप लगाएका छन्।

उनीहरुले समयमै स्थानीय सुक्लीपुर प्रहरी चौकीमा खबर गरेपनि प्रहरीले शाहीलाई पक्राउ गर्न चासो नदिएको बताएका छन्। 

‘हामीले घटना लगत्तै प्रहरी चौकीमा पुगेर जानकारी दिएका थियौँ’ पीडित बालिकाका माइला बुबाले भने –‘प्रहरीले प्रमाणका लागि फोटो खिचेर ल्याऊ भनेर गैर जिम्मेवार जवाफ दियो।’

उनले बालिकाको शरीरका विभिन्न ठाउँमा चोटपटक रहेको बताए। उनका अनुसार घटना पछि बालिका अहिले पनि अपरिचित मान्छे देख्दा तर्सिने गरेकी छन्। सो दिन शाही बालिकाको घरमा केरा किन्न गएका थिए। उनी केराको चिप्स बनाउने व्यवसाय गर्थे। उनीसँगै उनकी श्रीमती र छोरा समेत पुगेका थिए। श्रीमती र छोरा भने केही समयमै फर्किएका थिए।

बालिकाकी आमाले नै उनलाई शाहीसँग केराबारीमा पठाएकी थिइन। छोरी लामो समयसम्म घर नफर्केपछि उनकी आमा केराबारी पुगेकी थिइन। केराबारी पुग्दा आमाले छोरीलाई नग्न अवस्थामा भेटेकी थिइन। बालिकाकी आमालाई देखेर शाही भने फरार भएका थिए। 

‘यदि समयमा आमा नपुगेको भए बालिकाको ज्यान समेत जान सक्थ्यो’ माइला बुबाले भने –‘सायद भगवानले साथ दिए। छोरीको ज्यान जोगियो।’

उनले केराबारीबाट फरार भएका शाही घर पुगेको बताए। स्थानीय शाहीको घर पुग्दा उनी घर भित्रै थिए। केही समय पछि भने उनी रिक्सा चढेर भागेका थिए। प्रहरीका अनुसार उनी अहिले पनि फरार छन्। शाहीलाई भाग्न सहयोग गरेको भन्दै प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। ती मध्ये एक जना रिक्सा चालक समेत छन्।

बालिकालाई आफन्तले उपचारका लागि राति १० बजे टीकापुर अस्पताल पुर्याएका थिए।

प्रकाशित: २० पुस २०७९ ०९:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App