८ वैशाख २०८१ शनिबार
समाज

उपरथी शाही सैनिक हिरासतमा

सर्वोच्च अदालतको आदेशपछि नेपाली सेनाको जंगी अड्डामा हाजिर हुन गएका उपरथी प्रेम शाहीलाई सैनिक प्रहरी गणले पक्राउ गरी हिरासतमा राखेको छ। जंगी अड्डाले पुस ४ गते ‘मिति २०७९ पुस २० बाट निवृत्तिभरणमा अवकाश प्राप्त गर्नू’ भन्ने बेहोराको पत्र थमाएपछि शाही सर्वोच्च अदालत पुगेका थिए। सर्वोच्चले पुस १३ मा पक्षमा अन्तरिम आदेश जारी गर्दै जंगी अड्डाको अवकाशमा पठाउने निर्णय कार्यान्वयन नगर्न भनेपछि उनी मंगलबार नियमित कामका लागि जंगी अड्डा पुगेका थिए।

सर्वोच्चको आदेशअनुसार काममा लगाउनुको साटो सैनिक मुख्यालयले उनलाई नियन्त्रणमा लिएको हो। पूर्वाग्रहका आधारमा आफूलाई अवकाश पत्र थमाएको भन्दै न्यायका लागि सर्वोच्च पुगेका शाहीमाथि सैनिक मुख्यालयले भने सैनिक अनुशासन र संगठनविपरीत गतिविधि गरेको आरोप लगाएको छ।

‘उहाँमाथि विगतमा आर्थिक अनुशासनमा नबसेको सन्दर्भका केहीकेही उजुरी परेका थिए,’ नेपाली सेनाका सूचना अधिकारी सहायक रथी कृष्णप्रसाद भण्डारीले भने, ‘त्यसैको छानबिनका लागि नियन्त्रणमा राखिएको छ।’ जंगी अड्डामै रहेका बेला शाहीलाई नियन्त्रणमा लिइएको बताउँदै उनले भने, ‘कामविशेषले जंगी अड्डामा आउनुभएको रहेछ। त्यही बेला नियन्त्रणमा लिइएको हो।’

नेपाली सेनाको जंगी अड्डा र रक्षा मन्त्रालयलाई विपक्षी बनाइएको रिटमा सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले ‘शाहीको अवकाश कार्यान्वयन नगर्नू/नगराउनू, निवेदकलाई यथाअवस्थामा काम गर्न दिनू’ भन्ने आदेश दिएको थियो। अवकाश नभएको अवस्थामा उपरथी शाहीलाई वरिष्ठताका आधारमा सैनिक ऐन अनुसार रथीमा बढुवा गर्नुपर्ने हुन्छ। नेपाली सेनाका पूर्ववर्ती प्रधानसेनापति पूर्णचन्द्र थापाका निकट शाहीलाई वर्तमान नेतृत्व (प्रभुराम शर्मा) ले पदोन्नति नगरी बिदा दिन चाहेको निकट स्रोतको दाबी छ।

प्रधानसेनापति शर्माले पूर्ववर्ती प्रधानासेनापति थापाले गरेका निर्णय एकपछि अर्को गर्दै उल्ट्याउँदै आएका छन्। शर्माले थापा निकटहरूलाई पनि पूर्वाग्रहका आधारमा व्यवहार गर्ने गरेको गुनासो सैनिक अधिकारीहरूले गरेका छन्। थापाकै आडमा शाहीले आर्थिक लाभ उठाएको आरोप वर्तमान नेतृत्वले उनीमाथि लगाए पनि यथार्थमा अवकाशमा नगएर सर्वोच्च रिट हालेको भन्दै प्रतिशोध साँधेको निकट अधिकारीहरूको दाबी छ। ‘हालको नेतृत्व पूर्ववर्ती प्रधानसेनापति पूर्णचन्द्र थापानिकट रहेका अधिकारीसँग प्रतिशोध साँधिरहेको छ,’ स्रोतले भन्यो, ‘त्यसै सिलसिलामा प्रेम शाहीलाई रोक्न खोजिँदैछ।’

स्रोतका अनुसार शाहीको कार्यकाल एकवर्ष थपिए उनी उपरथीबाट बढुवा भएर रथीसम्म पुग्नेछन्। ‘थापानिकट भएका कारण उहाँ (शाही) लाई रोकेर आफू (प्रधानसेनापति शर्मा) निकट व्यक्तिलाई रथी बनाउन खोजिँदैछ,’ शाहीनिकट स्रोतले भन्यो। शाहीनिकट स्रोतले ‘आर्थिक अनुशासनमा नबसेको’ भन्ने मुद्दा सर्वोच्चले अवकाश बदर गरिदिएपछि सिर्जना गरेको दाबी गर्‍यो।

‘अवकाश पत्र थमाउनुपूर्व यो मुद्दा किन आएन? अहिले सर्वोच्चले अवकाश बदर गरेपछि रोक्नका लागि सिर्जना गरिएको फर्जी मुद्दा हो,’ स्रोतले भन्यो। शाहीबाहेक थापानिकट रहेर काम गरेका अन्य सैनिक अधिकारीसँग पनि प्रधानसेनापति शर्माले पूर्वाग्रही भावना राख्ने गरेको एक पूर्वसैनिक अधिकारीको दाबी छ।

जंगी अड्डाले भने सर्वोच्चको आदेश र अहिले शाहीमाथि हुने भनिएको छानबिन फरक भएको बताएको छ। ‘अदालतको आदेश उहाँको कार्यकालका सन्दर्भमा हो। जुन फरक हो,’ नेपाली सेनाका सूचना अधिकारी भण्डारीले भने, ‘अहिलेको मुद्दासँग त्यसको कुनै सम्बन्ध छैन। यो नेपाली सेनाको आफ्नै छानबिनको विषय हो।’

पक्राउपछि शाहीलाई सैनिक हिरासतमा राखिएको छ। हिरासतमा रहेका शाहीको शैक्षिक प्रमाणपत्र र नेपाली नागरिकताको प्रमाणपत्रमा जन्ममिति फरकफरक छ। नागरिकता प्रमाणपत्रमा जन्ममिति २०२३ पुस २२ गते छ भने बुढानीलकण्ठ विद्यालयले जारी गरेको चारित्रिक प्रमाणपत्रमा जन्ममिति २०२२ पुस २० गते उल्लेख छ।

प्रकाशित: २० पुस २०७९ ००:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App