७ वैशाख २०८१ शुक्रबार
समाज

नगरपालिकाको जग्गा ओगटेर बनाइएका घर–टहरा भत्काइने

सुनसरीको दुहवी बजार क्षेत्रका सयभन्दा बढी घर–टहरा नगरपालिकाले भत्काउने निर्णय गरेको छ। 

यसका लागि नगरपालिकाले मंगलबार ३५ दिने म्याद दिएर सूचना जारी गरेको छ। २ बिघामध्ये १३ कठ्ठा १९ धुर भित्र विभिन्न व्यक्तिले नगरपालिकाको जग्गा ओगटेर बनाएका घर–टहरा भत्काउन लागिएको हो।

दुहवी वडा नंं ५ अन्तर्गत अहिलेको नगरपालिकाले ओगटेको झन्डै एक बिगाहा १० कट्ठाबाहेक अरु जग्गा विभिन्न व्यक्तिले ओगटेर घर–टहरा बनाएकाले हटाउन लागिएको हो।

नगरपालिकाले बनेका घर–टहरा हटाएपछि त्यो स्थानमा सपिङ सेन्टर बनाउने योजना बनाएको छ। पूर्वका ठुला तथा साना बजारहरूमा सपिङ सेन्टर बढिरहँदा दुहवीमा निजी स्तरमा एउटा मात्र रहेको छ।

नगरपालिकाले सपिङ सेन्टर निर्माण गर्ने योजना अघि बढाएसँगै तत्काल घर–टहरा हटाउन लागिएको मेयर वेद गच्छदारले बताए। त्यसो त व्यापारिक मार्ग विस्तार आयोजना अन्तर्गत चीन र भारतसँगको सोझो ‘लिङ्क’ रोडको रुपमा विस्तार भइरहेको सडक अन्तर्गत यति बेला दुहवी बजार क्षेत्रमा सडक विस्तार हुन सकेको छैन्।

दुहवी र धरानको बजार क्षेत्रबाहेक अन्यत्र सबै स्थानमा ठेक्का लागि सकेको छ। अन्यत्र निर्माण पूरा भएर तरहरादेखि धरान तीन कुनेसम्मको काम अहिले भइहरेको छ।

कोशी राजमार्गमा ४९ किलोमिटर सडकमध्ये दुहवीमा सरकारले २०५४ सालमै ६३० मिटर क्षेत्रलाई बिल्टअप क्षेत्रको रुपमा कायम गर्न निर्णय गरेको थियो। त्यति बेला २०५४ चैत ३ गते राजपत्रमा प्रकाशित सूचना अनुसार, दुहवी बजार क्षेत्रमा सीमा सडकको केन्द्र रेखादेखि बायावाया दुवै तर्फ २७–२७ फिट मात्र कायम गरिएको थियो।

त्यहाँ पुरानो सरकारको निर्णयलाई अब सरकारले परिवर्तन गर्दा मात्र सडक विस्तार सम्भव छ। अर्कातिर सडक विस्तार गर्ने योजनाको विरुद्ध स्थानीयको एक समूहले सर्वोच्च अदालतमा मुद्दा दायर गरेकाले गर्दा त्यो मुद्दा टुङ्गो नलाग्दा पनि समस्या भएको हो। दुहवी नगरपालिका भने सडक विस्तारका लागि मुद्दा टुङ्गो लाग्न साथ आवश्यक सहयोग गर्ने मेयर गच्छदारले बताए।

२०६९/०७० बाट सुरु भएर सात वर्षभित्रमा छ लेन सडक बिस्तार गर्ने लक्ष्य राखिएको थियो। पछिल्लो समय २०८० सम्मका लागि समय थप गरिएको छ।

प्रकाशित: १९ पुस २०७९ १२:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App