७ वैशाख २०८१ शुक्रबार
समाज

मधेस प्रदेशः सेटिङमा तस्करी,राजस्व नोक्सानी

सेटिङमा तस्करी फस्टाएको सिरहाको ठाढी भन्सार नाका। तस्बिरःनागरिक

सप्तरीमा राजविराज भन्सार कार्यालय, तिलाठी मात्र आधिकारिक नाका हो। तर बेल्ही, बरसाइन, छिन्नमस्ता, गोबरगाढा, तोपाका सडक मुख्य भन्सारभन्दा व्यस्त छन्।

खुला सीमा व्यवस्थित गर्न र अवैध ओसारपसार रोक्न नाकामा सशस्त्र र प्रहरीका एकाइ सक्रिय छन्। तर भन्सार कार्यालयमा राजस्व तिर्नेको तुलनामा छलेर कारोबार गर्नेको संख्या मधेस प्रदेशका आठ वटै जिल्लामा अधिक छ। तस्करीका सामाचार सार्वजनिक भएपछि सुरक्षा निकायले एउटामा कडाइ गर्दा तस्करीमा संग्लनहरू अर्को नाका प्रयोग गर्छन्। समयानूकुल नाका फेर्दै हुने तस्करी दैनिक उपभोग्य सामानमा सीमित छैन, तेस्रो मुलुकको सामानसँगै प्रतिबन्धित लागूऔषध ओसारपसार पनि उत्तिकै छ।

सिरहाको ठाढी, माडर र बरियारपट्टी भन्सार अगाडिबाटै दैनिक सयौं तस्करीमा संलग्न मानिस मोटरसाइकल र टाउकोमा अवैध सामान ओसारपसार गरिरहँदा सरोकारवाला निकाय बेखबरझैं छन्। अवैध कारोबारीले पारिबाट बोरामा सामान वारि(ठाढी) तिर ओसार्न लगाउँछन्। वारिबाट यात्रु वस, टेम्पोमा राखेर सहरका व्यपारिको गोदाममा पुर्याउने गरेका छन्। सुरक्षा निकायद्वारा परिचालित घुमुवाको अनुकूलतामा कारोबारी नाका रोज्ने÷फेर्ने गरेका छन्।  

दैनिक उपभोग्य सामान मात्र नभई कस्मेटिक सामान र भित्री बस्त्र भित्र्याउँदा पनि कमैले भन्सार महसुल बुझाउँछन्। देखिने र नदेखिने ढंगले भइरहेको तस्करीबाट ठूलो परिमाणमा राजस्व नोक्सानी भैरहेको तथ्यांकले देखाउँछ। मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका अनुसार असोजदेखि मंसिरसम्म (३ महिना) सवारीसाधनसहित १४ करोड ६७ लाख २७ हजार ४ सय १७ रुपैयाँ अन्दाजी मूल्य बराबरको सामान पक्राउ परेका छन्। जसमा सबैभन्दा बढी लताकपडा तथा फेन्सी (कसमेटिक्स) सामान ६ करोड ६० लाख ९२ हजार ६ सय २६ रुपैयाँ अन्दाजी मूल्यको छ। यी पक्राउ परेका सामान सेटिङबाट उछिट्टिएका, तोकिएको समयसीमाभित्र महिनाबारी बुझाउन नसकेकाहरुका हुन्।  

राजविराज भन्सार कार्यालय तिलाठीकाअनुसार आर्थिक वर्ष ०७८/०७९ राजश्व असुलीको लक्ष्य ६ करोड ७५ लाख २० हजार थियो। जसको ६१.८५ प्रतिशत अर्थात ४ करोड १७ लाख ६४ हजार ९२ रुपैयाँ राजश्व असुली भयो। चालु आर्थिक वर्ष ०७९/८० मा राजश्व असुली लक्ष्य ५ करोड ९९ लाख ३१ हजार छ। मंसिरसम्ममा ७८ लाख ४३ हजार ३ सय १६ रुपैयाँ अर्थात लक्ष्यको १६ प्रतिशत राजश्व उठेको छ।

भन्सार कार्यालय ठाढीले गत आर्थिक वर्ष ०७८/०७९ मा लक्ष्यको करिब ३० प्रतिशत राजश्व असुली गरेको थियो। गत वर्ष १३ करोड २८ लाख १ हजार रुपैयाँ लक्ष्य रहेकोमा ३ करोड ८३ लाख ९२ हजार राजश्व उठेको थियो। चालु आर्थिक वर्ष ०७९/८० मा राजश्व असुली लक्ष्य ११ करोड ४३ लाख ६७ हजार छ। मंसिरसम्म लक्ष्यको करिब १७ प्रतिशत अर्थात १ करोड ९९ लाख ५८ हजार रुपैयाँ राजश्व उठेको छ।

सिरहाकै माडर भन्सार कार्यालयले गत आर्थिक वर्ष ०७८/०७९ मा लक्ष्यको ४८ प्रतिशत राजश्व उठाएको थियो। गत वर्ष २३ करोड ५९ लाख ६८ हजार लक्ष्यमा ११ करोड २१ लख ९७ हजार रुपैयाँ राजश्व उठेको थियो। चालु आर्थिक वर्ष ०७९/८० को मंसिरसम्म लक्ष्यको १० प्रतिशत राजश्व उठेको छ। यस वर्ष १९ करोड ९५ लाख ४६ हजार लक्ष्य मा १ करोड ९८ लाख ९५ हजार राजश्व उठेको छ।

राजश्व चुहाबट समितिका अध्यक्ष समेत रहेका सिरहाका सिडिओ लालबाबु कवाडीले भने,‘राजश्व घटेको छ। कारण पता लगायत समितिको बैठक बोलाएको छु उनले भने, ‘सेटिङमा भैरहेको तस्करीबारे मलाई थाहा छैन्। चुहाबट कहाँबाट भैरहेको छ त्यो पत्ता लगाउँदै छु, उनले थपे।’

चालु आर्थिक वर्षको मंसिरसम्म धनुषामा करिब ५० प्रतिशत, महोत्तरीमा ८४ प्रतिशत, सर्लाहीमा ४८ प्रतिशत, रौतहटमा करिब २३ प्रतिशत बारा र पर्सामा ६३.६५ प्रतिशत राजश्व उठेको सम्बन्धित भन्सार कार्यालयले जनाएको छ।

पछिल्लो समय राजविराज भन्सारमा खाद्य, पशुलगायतका क्वारेन्टिन छैन। जसका कारण यस नाकामा वैध तरिकाबाट माछा र तरकारी आउँदैन। अवैध तरिकाबाट भित्रिएको माछा तरकारी, चौपाया बरामद गरेपनि निलाम गर्न पाइदैन। कारण सुनसरीको क्वारेन्टिनले मधेस प्रदेशका यस जिल्लाका लागि काम गर्दैन। मधेस प्रदेशभित्रकै जनकपुरधाममा भने सप्तरीको लागत नै छैन। दोस्रो कारण भनेर एलसि(लेटर अफ क्रेडिट) हो। एलसिका कारण व्यपारिहरु कपडा र खाद्य बस्तुको अवैध आयात गरेका कारण भन्सार राजश्वमा गिराबट आएको राजविराज भन्सार प्रमुख अजय प्रकाश भगतले बताए। यो जिल्लाको सीमा क्षेत्र अरु जिल्लाभन्दा फराकिलो छ। तर भन्सार कार्यालय एउटा मात्र छ।  

सप्तरीको बाँकी प्रायःसबै नाकाक्षेत्रमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट र चोक पोष्टहरु छन्। नेपाल प्रहरीको पोष्टहरु पनि छन्। तर, भन्सार भएर वैध कारोबार गर्दा बैंकमार्फत गर्नुपर्ने भएकोले भन्सार र सुरक्षाकर्मीसँग सेटिङ मिलाएर वारिपारि कारोबार फस्टाएको जानकारहरु बताउँछन्। अवैध तरिका(तस्करी)बाट कारोबार गर्दा व्यक्तिलाई मात्र मिलाए पुग्छ। तर, वैध तरिकाबाट कारोबार गर्दा राज्यलाई राजश्व वापत रकम तिर्नुपर्छ। भन्सार हुँदै आन्तरिक राजश्व कार्यालयसम्म गरी राज्यलाई राजश्व बुझाउनुको साटो व्यपारीहरु तस्करमार्फत कारोबारलाई बढाउँदा चौतर्फी राजश्व असुलीको ग्राफ ओरालो लागेको जानकारहरु बताउँछन्।

सप्तरीको राजविराज भन्सार कार्यालय तिलाठी, सिरहाको माड्र, ठाढीमा भन्सार परिसरभित्रै सशस्त्र प्रहरीको तायनाथी छ। तर, यसै नाकाक्षेत्र भएर दैनिक तस्करी रोकिएको छैन्। धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा जिल्लाको बेहाल पनि सप्तरी र सिरहाभन्दा फरक छैन्। भन्सार कार्यालय ठाढीका प्रमुख ध्रुबप्रसाद कोइरी यस नाका भएर हुने तस्करीका सामान लहानमा भण्डारन हुने गरेको बारे जानकार छन्। तर उनले गोदाम छापा मारेर अवैध सामान बरामद गर्न भने गम्भीरता देखाउँदैन। उनी भन्छन्,‘यो मेरो काम होइन, नाकामा मात्र मेरो जिम्मेवारी हो। लहानमा आन्तरिक राजश्व कार्यालय छ, उसैले गरे हुन्छ, उनले भने,‘मँ त्यहाँ गएर छापा मार्ने काम गर्दिन।’

ठाढीको मात्र नभई मधेस प्रदेशका प्रायःसबै(आठवटै) जिल्लाका भन्सार प्रमुखको भनाइ कोइरी जस्तै छ। तस्करी र तस्करका गोदामबारे सम्पूर्ण रुपमा जानकार भएर पनि चुप बस्नुले मिलेमतो प्रष्ट हुन्छ सीमावर्ती भगवानपुरका संजय यादवले भने,‘सीमामा तायनाथ प्रहरी र भन्सारको मन्जुरी बेगर यहाँ सिन्का पनि आरपार हुन सक्दैन। यहाँ मात्र नभई यस प्रदेशमा तस्करी फस्टाउनुमा भन्सार र सुरक्षाकर्मीको सेटिङ प्रमुख कारण हो, उनले भने।’

प्रकाशित: १९ पुस २०७९ ०८:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App