५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

उदयपुरको कटारी क्षेत्रमा जंगली हात्ती, स्थानीयहरु त्रसित

फाइल तस्बिर

उदयपुरको पश्चिमी भेग कटारी नगरपालिकामा आईतबार दिउँसो जंगली हात्तीको समूह देखा परेपछि स्थानीयमा त्रास छाएको छ। आइतबार साँझसम्म कटारी नगरपालिका ५ मा ३ वटा हात्तीको समूह देखिएपछि स्थानीयबासी त्रसित हुन पुगेका हुन्।

अहिले ५ नं. वडाकै गाउँतिर कतै अल्मलिएको खवर आएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ। हात्तीको समूह देखिएपछि प्रहरीले सबै जनप्रतिनिधिलाई खवर गरेर सतर्क रहन, घरबाहिर ननिस्कन तथा आगो बालेर समूहमा बस्न आग्रह गरेको इप्रका कटारीका डिएसपी रबिन कार्कीले बताए।

कार्कीका अनुसार सुरुमा ५ नं. वडाको भोर्लेमा देखिएको हात्तीको समूह बलाहासम्म देखिएको तर, त्यसपछि अँध्यारो भएकाले कता गयो भन्ने पत्ता लागेको छैन। हात्ती आफ्नै रुटमा हिड्ने भए पनि संभावित जनधनको क्षति हुनेतर्फ सचेत हुँदै सुरक्षाकर्मी परिचालन गर्नुका साथै स्थानीयबासीलाई आफै पनि सतर्क हुन प्रचार प्रसार भइरहेको छ।

कटारी ६ चुहाडका नारदमणि राईका अनुसार कटारी नगरपालिका ६ र ७ नं. वडाको सीमास्थल बैधनाथ खोला किनारको सोमबारे बजारछेउ भएर खोलैखोला ५ नं. सीमा बैजनाथ र तावा खोला दोभानको साँघुरी हुँदै भोर्लेतर्फ गएको प्रत्यक्षदर्शीले देखेका थिए। भोर्लेदेखि बलाहातर्फ गएको हात्तीको समूह कता पुग्यो भन्ने अहिले नखुलेको राईले बताए।

डिभिजन वन कार्यालय त्रिबेणीका प्रमुख (डिएफओ) विष्णुलाल घिमिरेले साविक रुट भएर हिड्ने क्रममा हात्ती कटारी आइपुगेको हुनसक्ने बताए। उनका अनुसार ३ दिनअघि उदयपुरगढी गाउँपालिका ७ को नवज्योति सामुदायिक वन क्षेत्रको नागबेले जंगलमा देखा परेको हात्ती ८ नं. वडा नेपालटार हुँदै कटारी प्रवेश गरेको हो। सुरुमा कटारी ७ को बकपति, ६ को सोमबारे हुँदै ५ नं. को भोर्ले, सुगाजोर र बलाहा हुँदै अहिले ५ नं. कै सदाबहार सामुदायिक वन समूहको जंगल पुगेको अनुमान गरिएको उनले बताए।

गतवर्ष यही समयमा सोही ठाउँहरुमा देखा परेको हात्ती कोसी टप्पु वन्यजन्तु आरक्षण केन्द्रदेखि सिन्धुलीतर्फ हिडेको हुनसक्ने डिएफओ घिमिरेले बताए। उनका अनुसार नागबेले–बकपति–सोमबारे–साँघुरीबाट सदावहार सामुदायिक वन हुँदै त्रिबेणी खोक्सा कटेर कमला नदी पार गरी सिन्धुलीतर्फ जाने हात्तीको रुट छ। सिन्धुली पुगेपछि कोही  चितवनतर्फ जाने र कोही कोसी टप्पुतर्फ फर्कने गरेको उनले बताए।

पुस माघ महिना जंगली हात्तीको संसर्गको मौसम भएकाले यो टोली पनि प्रेमि प्रेमिकाको खोजीमा निस्केको हुनसकने उनले बताए। प्रेमिकाको खोजीमा निस्केको मत्ताले ढोई भेटेपछि स्थायी वासस्थानतर्फ फर्कने गरेको तर, नपाए लामो दूरीसम्म जाने गरेको पनि डिएफओ घिमिरेको भनाइ छ। ‘यो मौसम हात्तीको संसर्गको याम हो, त्यसैले ढोई खोज्न मत्ता हात्ती आफ्नै रुट भएर निस्कन्छन्’ डिएफओ घिमिरेले भने ‘विगत वर्षहरुमा पनि यही याममा देखा पर्ने गरेको थियो।’

ढोई र मत्ता भेट भए फर्कन्छन, नपाए टाढासम्म जाने उनको भनाइ छ। गतवर्ष सिन्धुलीसम्म पुगेर फर्केको उनले बताए। कोसी टप्पु क्षेत्रको जंगल भने हात्तीको राशलिला मनाउने क्षेत्र भएको उनको भनाइ छ। घिमिरेले हात्तीलाई उसको बाटोमा अवरोध नगरे वा नजिस्काए कसैको बिझाई नगर्ने भएकाले नजिस्काउन, नचलाउन पनि सर्वसाधारणलाई आग्रह गरेका छन्।  

प्रकाशित: १८ पुस २०७९ १३:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App