१७ चैत्र २०७९ शुक्रबार
समाज

पञ्चे बाजाको संरक्षणमा महिलाहरू

बेनी नगरपालिका–४,राक्सेमा विगत तीनबर्षदेखि पञ्चे बाजाको संरक्षणमा लागेका महिलाहरू। तस्बिर हरिकृष्ण गौतम।

बेनी नगरपालिका अन्तर विद्यालय स्तरीय तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको उद्घाटन कार्यक्रमको बजार परिक्रममा अग्रपंक्तीमा नौमती बाजाको दमाह लिएर सहभागी भएकी थिइन लक्ष्मी ठकुरी। 

उमेरले ६० लागेकी ठकुरीको नेतृत्वमा रहेको नव जागरण पञ्चे बाजा समूहका सदस्यहरूले लस्करै झ्याली, ट्याम्को, ढोलकी, नरसिङ्गा र सहनाई लगायतका बाजा उद्घाटन कार्यक्रममा बजाए।

बेनी नगरपालिका–४, राक्सेमा विगत तीन बर्ष देखि पञ्चे बाजाको संरक्षणमा लागेका समूहमा आबद्ध महिलाहरूलाई व्यक्तिगत तथा सार्वजनिक कार्यक्रममा बाजा बजाउने भ्याई नभ्याई छ।

स्थानीय वडाको सहयोगमा तालिम लिएर निरन्तर बाजाको संरक्षणमा लागेको समूहले पोखरा र काठमाण्डौंमा समेत पुगेर आफ्नो प्रस्तुति देखाएको बताउँछन्।

‘अहिले निकै सजिलो हुन्छ, ‘हामीले निम्तो आएमा घरायसी काम छोडेर पनि सहभागी हुन्छौ’ समूहकी अध्यक्ष ठकुरीले भनिन्। 

उनले विवाह, व्रतबन्ध, धार्मिक तथा सामाजिक उत्सवमा बाजा बजाएर समुहमा १ लाखभन्दा बढी संकलन समेत गरेको बत्ताइन्। ‘समूहका सदस्यको खर्च कटाएर बचत समेत गरेका छौ,‘बाजा संरक्षणमा समेत सहयोग पुगेको छ’ उनले भनिन्। 

महिला समूहको सक्रियताले ब्राह्मण–क्षेत्री समुदायका महिलाले बाजा छुनुहुँदैन भन्ने परम्परागत मान्यता तोड्न सफल भएको ढलकी बाजामा रहेकी दुर्गा पौडेलले बत्ताइन्।

‘हाम्रो समुहमा सबै जातिका छौ,‘दलित युवाहरूको सहयोगले यो सिप सिक्न सफल भयौँ’ पौडेलले भनिन्। दशजना महिला आबद्ध रहेको समुहमा सनैको सुरिलो लय ढ्लकी, ट्याम्को दमाहा लगायतका बाजासँगै आकाशतिर फर्काएर नरसिङ्गाको धुनसँगै समुदाय समेत एकजुट भएको उनि बताउँछिन्। 

केही दिनको रहर भन्नेहरूले नै महिलालाई बाजा बजाउन निम्तो दिने गरेको प्रशिक्षक एवम् बाजामा सघाउने प्रकाश परियारले बताए।

उनले सुरुवातमा केही असहज भए पनि अहिले भने आकर्षण बढ्दै गइरहेको र यसलाई सीप हस्तान्तरणको अभियानका रुपमा लिइएको बताए। मनदेखि नै इच्छाशक्ति भएकाहरू त परिवारका सदस्यले विरोध गर्दागर्दै पनि यस अभियानमा सरिक भएकाले निरन्तरता पाएको प्रशिक्षक  परियारको भनाई छ। 

महिला समूहले १५ हजारदेखि ४० हजारसम्म लिने गरेका छन्। बाजामा दमाई जातिका मानिसको नै वर्चस्व हुने गरेको अवस्थामा ब्राह्मण, क्षेत्री, दमाई, कामीले संयुक्त रुपमा बाजा सिक्नुलाई समाजमा परिवर्तनको एउटा उदाहरणको रुपमा लिइएको बेनी नगरपालिकाकी उपमेयर ज्योति लामिछानेले बत्ताइन्। उनले महिलालाई सिप हस्तान्तरण सहित आयआर्जनका क्षेत्रमा समेत सहज हुने गरी सहयोग गर्ने बत्ताइन्।

‘परम्परागत मान्यता तोड्दै बह्माण–क्षेत्री समुदायका महिलाहरूको प्रयासबाट उत्साहित भएको छु’ उपमेयर लामिछानेले भनिन्। उनले नगरपालिकामार्फत आयोजना हुने सार्वजनिक कार्यक्रममा महिला समूहलाई प्राथमिकता दिने बत्ताइन्।

म्याग्दीमा दमाई जातिका मानिसको नै वर्चस्व हुने गरेको अवस्थामा जातीय विभेद र सहभागीताको अन्त्य गदैं ब्राह्मण, क्षेत्री, दमाई, कामीले संयुक्त रुपमा बाजा सिक्नुलाई समाजमा परिवर्तनको एउटा उदाहरणको रुपमा लिइएको जनप्रतिनिधिको भनाई छ।

प्रकाशित: १८ पुस २०७९ १५:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App