६ वैशाख २०८१ बिहीबार
समाज

बेनीबाट २४ दिनदेखि दुई बालक बेपत्ता

म्याग्दीको बेनी नगरपालिका–७, मंगलाघाटबाट करिब एक महिनादेखि दुई बालक बेपत्ता भएका छन्। बेनीस्थित प्रकाश माविमा कक्षा ५ र ३ मा पढ्ने ९ र ८ वर्षीय दुई बालक सुरज र इनसन छन्त्याल बेपत्ता भएको २५ दिन वितिसक्दा समेत अहिलेसम्म कुनै अत्तोपत्तो नभएको परिवारले जनाएको छ।

म्याग्दीका रघुगंगा गाउँपालिका वडा नं ८ स्थायी घर भई बेनीबजारमा ज्याला मजदुरी गरेर जीविका चलाउँदै आएकी नन्दकुमारीले छोरा बेपत्ता भएको लामो समयसम्म खोजीकार्य गर्दा समेत फेला नपरेको भन्दै उनीहरूको अवस्थाबारे पत्ता लगाई सहयोग गरिदिन सबैसँग आग्रह गरेकी छिन्।

‘मजदुरी गरेर घर फर्किदा फेला परेनन्, केहीदिन खोज्दा समेत नभेटेपछि प्रहरीलाई जानकारी गराएको छु’ छन्त्यालले भनिन्। श्रीमानको मृत्यु भएपछि आफन्तको सहयोगमा बेनी आएकी नन्दकुमारीले ज्यालामजदुरी गरी छोराको लालनपालन  तथा शिक्षादीक्षामा खर्च गर्ने गरेकी थिइन्।’ बेपत्ता दुईभाइको खोजीकार्यका लागि आफन्त लगायतका स्थानमा खोजीकार्य गरेपनि फेला नपरेको आफन्त तोरण बुढाथोकीले बताए।

‘छोरा बेपत्ता भएपछि आमा विक्षिप्त अवस्थामा छिन्,सबै ठाउँमा खोजी गर्दा पनि कुनै पत्तो लागेन’ बुढाथोकीले भने। बेपत्ता बालकलाई प्रलोभनमा समेत फसेको हुनसक्ने भन्दै परिवारले चिन्ता जनाएको छ। परिवारले बालक खोजिदिनका लागि जिल्ला प्रहरी कार्यालय म्याग्दीमानिवेदन दिएको र खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १७ पुस २०७९ १२:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App