२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

रेल सञ्चालनको लागि गरिएको सम्झौता अवधि सकियो

तस्बिर: सन्तोष सिंह।

जनकपुरधाम–जयनगर रेल सेवा सञ्चालनको म्याद सकिएको छ। कोंकण रेल निर्माण कम्पनीसँग गरिएको समझौता अवधि सकिएको हो।

नेपाल सरकारले भारतीय कम्पनीसँग रेल सञ्चालनको लागि एक वर्षको सम्झौता गरेको थियो। तर आफ्नै स्वामित्वमा रेल सञ्चालन गर्न ढिलाई भएपछि पुनः एक महिनाको अवधि थपिएको नेपाल रेलवे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले बताए।

झाका अनुसार रेल सञ्चालनका लागि भारतीय कम्पनीसँग गरेको सम्झौता म्याद २६ डिसेम्बर राति १२ बजेदेखि सकिएको हो। पुस ५ गते भारतीय कम्पनीलाई पुनः एक महिना म्याद थप गर्न पत्र पठाइएको थियो।

आफ्नै स्वामित्वमा रेल सञ्चालनको लागि दर रेटसहितको प्रस्ताव भौतिक पूर्वाधार मन्त्रालयमा फाइल पठाइएको छ। उक्त फाइल भौतिक पूर्वाधार मन्त्रालयमै रोकिएको छ। त्यहाँबाट उक्त फाइल अर्थ मन्त्रालय जानेछन्। अर्थ मन्त्रालयले प्रस्ताव स्वीकृत गरेर पठाएपछि आफ्नै स्वामित्वमा रेल सञ्चालन गरिने झाले बताए। ‘सुरुवाती चरणमा इकुपमेन्ट, इन्धन कर्मचारी व्यवस्थापन खर्च बढी भएको छ,’उनले भने,‘आम्दानी कम भएको छ। यकिन नाफा घाटाको विवरण निकाल्नु पर्छ।’

जनकपुर–जयनगर रुटमा चलाउन ०७७ असोज २ गते रेल नेपाल ल्याइएको थियो। रेल नेपाल आइपुगेको एक वर्षसम्म इनर्वामा त्रिपाल ओढाएर पार्किङमा राखिएका थियो। रेल नेपाल आएको करिब डेढ वर्षपछि नियमित रुपमा सञ्चालनमा आएको थियो। केही दिन दैनिकी बिना प्यासेन्जरकै परीक्षणका लागि ओहोरदोहोर गराइएको थियो। रेल सेवामा २६ जना भारतीय कर्मचारी राखिएको थियो।  

नेपाल सरकारसँग आवश्यक दक्ष जनशक्ति नहुँदा भारतीय कर्मचारीले रेल गुडाइरहेका छन्। भारतबाट रेल चलाउन ३ जना चालक, ३ जना सहचालक, ८ जना स्टेसन मास्टर, ३ जना प्वाइन्ट म्यान, ३ जना मेकानिक्स, सिनियर सेक्सन इन्चार्ज १ जना, सुपरभाइजर ३ जना गरी २६ जना भारतीय कर्मचारी राखिएको छ।

सन् २०१० मा भारत सरकारको पूर्ण अनुदानमा भारतको जयनगरदेखि महोत्तरीको बर्दिबाससम्मको ६९ किलोमिटरमा रेलमार्गका लागि पूर्वाधार निर्माण गरिने सम्झौता दुई देशका सरकार बिच भएको थियो। त्यसका लागि ५ अर्ब ३८ करोड रुपैयाँ भारत सरकारले अनुदान दिएको थियो। पहिलो चरणमा जयनगरदेखि जनकपुर हुँदै कुर्थासम्म ३२ किलोमिटरसम्म निर्माणको काम सम्पन्न भएपछि रेल नियमित सुरु भएको थियो।

रेलमार्ग निर्माणको काम भारतीय अनुदानमा भए पनि रेल भने नेपाल सरकार आफैले किनेका थिए। भन्सार बाहेक ८५ करोड ६५ लाख रुपैयाँमा पाँच ओटा डिब्बासहितका दुई सेट रेल नेपाल सरकारले किनेको छ। यसमा.१५ करोड भन्सार कर लागेकाले १ अर्ब रुपैयाँ लागतमा नेपाल सरकारले रेल किनेको हो। एक सेट रेलमा पाँच ओटा डिब्बा छन्, जसमध्ये एउटा डिब्बा भने एसी कोच छन्। जयनगर–जनकपुर ब्रोडगेज निर्माणका लागि रेल सेवा २०१४ देखि बन्द थियो।

पहिलो चरणमा भारतको जयनगरदेखि धनुषाको कुर्थासम्म ३४ किलोमिटर, दोस्रो चरणमा धनुषाको कुर्थादेखि महोत्तरीको भंगहासम्म १८ किलोमिटर र तेस्रो चरणमा भंगहादेखि बर्दिबाससम्म १७ किलोमिटर गरी जम्मा ६९ किलोमिटर रेलवे सेवा सञ्चालनका गर्ने विभागको तयारी छ।

प्रकाशित: १२ पुस २०७९ १६:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App