३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
समाज

प्रदूषण जाँचमा ४१ प्रतिशत सवारीसाधन फेल

वातावरण विभागले मंसिर १६ देखि पुस ८ सम्म ३ सय ४१ सार्वजनिक सवारी साधनको प्रदूषण जाँच गर्दा ४१ प्रतिशत सवारीसाधन फेल भएका छन्। राजधानी काठमाडौंको वायु प्रदूषणमा सवारीसाधनले गर्ने उत्सर्जन प्रमुख कारक रहदै आएको छ।  

विभागका महानिर्देशक नमराज घिमिरोर मंसिर १६ देखि पुस ८ सम्म छड्के जाँच गरिएका ३ सय ४१ मध्ये १ सय ४३ सवारीसाधनले गर्ने उत्सर्जन तोकिएकोभन्दा बढी पाइएको हो। १९८ सवारी साधानले यो परीक्षण पास गरेको विभागले जनाएको छ। परीक्षण गरिएका सवारीसाधनमा डिजेलबाट चल्ने सार्वजनिक बस, पानी बोक्ने ट्यांकर तथा माइक्रोबस पर्दछन्।  

परीक्षण गरिएकामध्ये झण्डै आधाजस्तो फेल हुनुलाई चिन्ताको विषय भन्दै महानिर्र्देशक घिमिरेले भने, ‘यो नतिजालाई हामीलाई झन् कडाइका साथ परीक्षण अगाडि बढाउन प्रेरित गरेकोछ।’ महानिर्देशक घिमिरेले विभागको अगुवाइमा साताको ३ दिन यस प्रकारको परीक्षण विभिन्न स्थानमा भइरहेको जानकारी दिए। वातावरण विभागका उच्च अधिकारीको नेतृत्वमा ६–७ जनाका टोलीले सवारीसाधन परीक्षण अगाडि बढाइरहेको घिमिरेको भनाइ छ। वन मन्त्रालयअन्तर्गतको विभागले पुस १ गतेपछि विभागको परीक्षणमा प्रदूषण जाँच पास नभएका सवारीसाधनहरूलाई १ लाखसम्म जरिबाना गर्ने घोषणा गरिसकेको छ। विभागले गत मंसिर २२ गते सार्वजनिक सूचना नै प्रकाशित गरेर यो घोषण गरेको हो। एउटै सवारीसाधन बारम्बार प्रदूषण जाँचमा असफल हुँदा १ लाखसम्म जरिबाना तिर्नुपर्ने विभागले जनाएको छ। पहिलोपटकको परीक्षणमा फेल भएका सवारीसाधनले ५ हजार रूपैयाँ जरिबाना तिर्नुपर्ने व्यवस्था गरिएको छ।  

यसअघि सवारीसाधनले उत्सर्जन परीक्षण गर्दा तोकिएका मापदण्डभन्दा बढी प्रदूषण गरिरहेका सवारीसाधनलाई एकपटकको लागि मर्मत गरी अवस्था दुरुस्त राख्न अवसर दिइएकोमा विभागले पुस १ गते देखि प्रदूषण परीक्षण पास नगरेका सवारी साधनलाई पास नगरेसम्म सडकका गुड्न प्रतिबन्ध लगाएको छ। खुला रूपमा फोहोर जलाउँदा निस्कने धुवा राजधानी काठमाडौंको प्रदूषणका लागि अर्काे प्रमुख कारण मानिन्छ। विभागले सर्वसाधारणलाई आफ्नो टोल छर छिमेकमा खुला रूपमा कोही कसैले फोहोर जलाउने कार्य गरिरहेको छ भने त्यसको जानकारी विभागलाई गराउन समेत अनुरोध गरेकोछ। सडकबाट निस्कने धुलो राजधानीको प्रदूषणका लागि अर्काे प्रमुख कारण रहेको चर्चा गर्दे महानिर्देशक घिमिरेले यसलाई घटाउन महानगरसँग समन्वयात्मक रूपमा काम भइरहेको बताए।  

‘सडकबाट निस्कने धुलो रोक्न र फोहोर बाल्न नदिनेमा महानगरपालिकाको प्रमुख प्रमुख जिम्मा रहेको हुँदा हामीले मिलेर काम गरिरहेका छौं,’ घिमिरेले भने। राजधानी खाल्डोमा हिउँदयाममा वायु प्रदूषणको स्तर अत्यधिक हुने गर्दछ। उपत्यकाको वायु प्रदूषणका लागि सवारीसाधनले गर्ने उत्सर्जन, सडकबाट निस्कने धुलो, फोहोर जलाउदा निस्कने धुँवा, इँटा उद्योगले गर्ने उत्सर्जन प्रमुख कारक रहेका छन्।

प्रकाशित: १२ पुस २०७९ ०२:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App