४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

अपराध गरेर सहजै भाग्छन् भारतीय नागरिक

मंसिर २५ गते कैलालीको बर्दगोरिया गाउँपालिका वडा नं १ मुडा बादी बस्तीमा दुई जना भारतीय नागरिकले कुटपिट गरेर स्थानीय व्यवसायी लालबहादुरको हत्या गरे।

यौनकर्मीको खोजीमा भारतीय नागरिक कार चढेर वादीवस्ती पुगेका थिए। स्थानीय व्यवसायी बोहराले आफ्नो पसल अगाडी पार्किङ गर्न नदिँदा मदिरा सेवन गरेका दुई जना भारतीय नागरिकले उनलाई निर्घात कुटपिट गरे। बस्तीमै गएर निर्दोष नागरिकको हत्या गर्ने दुवै जना भारतीय नागरिक सहजै फर्के।

कुटपिट गरेर गंभिर घाइते बनाएको अवस्थामा प्रहरीले भारतीय नागरिकलाई जान दिएर बेइमानी गरेको स्थानीय बताउँछन्। गंभिर घाइते बोहराको कोहलपुर अस्पतालमा उपचारका क्रममा दोश्रो दिन बिहानै ज्यान गयो।

प्रहरीले नियन्त्रणमा लिएर छोडेपछि हत्या गर्ने दुई जना भारतीय नागरिक सजिलै भारत जान सफल भएका हुन। उनीहरुलाई अहिले सम्म प्रहरीले पक्राउ गर्न सकेको छैन। पुस ३ गते आइतबार साँझ कैलालीको अत्तरियामा सुनचाँदी व्यवसायी विकास गौतममाथि गोली प्रहार भयो। अत्तरिया बजारबाट पसल बन्द गरेर घर तर्फ गैरहेका उनलाई अत्तरिया पूर्व रोडमा सशस्त्र प्रहरीको बाहिनी नजिकै मोटर साइकलमा आएका दुई जनाले गोली प्रहार गरेका थिए। गोली लागेर उनी गंभिर घाइते भए।

उनको साथमा रहेको ३५ तोला सुन र २ लाख नगद सहितको झोला पनि लुटेर लगे। सुनचाँदी व्यवसायी माथि गोली प्रहार भएपछि विरोधमा स्थानीयले विरोध प्रदर्शन समेत गरे। तर अहिले सम्म गोली प्रहार गर्नेलाई प्रहरीले पत्ता लगाउन सकेको छैन।

पुस ५ गते धनगढी उपमहानगरपालिका वडा नं ९ जुगेडामा घरमा सुतिरहेका वेला बिहान पौने ३ बजेतिर ४,५ जनाको समुहमा आएका युवाहरुले ढोका फोड्न थाले। ढोका फोड्न थालेपछि निद्राबाट उठेर बाहिर आएका प्रजापति बिष्ट माथि उनीहरुले गोली प्रहार गरे। एउटा गोली छल्न उनी सफल भए। अर्को गोली पिठ्युँको भागमा लागेर उनी घाइते भएका छन्। उनलाई गोली हान्ने भारतीय नागरिक रहेको स्थानीयले बताएका छन्।

नेपाल र भारत सीमा क्षेत्रमा पर्ने उक्त बस्तीमा भारतीय नागरिक चोरी गर्न आएको स्थानीय बताउँछन्। दुई राउण्ड गोली हानेर उनीहरु सहजै फरार भए। प्रहरीले पक्राउ गर्न सकेन। उक्त क्षेत्रमा नियमित तस्करी हुने गरेकोमा तस्करहरूको र लुटेराहरूको समूहबाट असुरक्षित भएको स्थानीय बताउँछन्। 

करिब डेढ सा थाको अवधिमा श्रृखलाबद्ध रुपमा भएका यी अपराधका घटनामा संलग्न व्यक्तिहरूको पहिचान र पक्राउ गर्न प्रहरी असफल हुँदा कैलालीमा असुरक्षा बढेको भन्दै स्थानीय चिन्तित बनेका छन्।

एकपछि अर्को घटना घट्नु र अपराधी सहजै उम्किनुले असुरक्षित महसुस भएको स्थानीयले बताएका छन्। तस्करी गर्ने, अपराधिक क्रियाकलाप गर्नेहरुलार्ई प्रहरी, राजनीतिक दलका नेताको संरक्षण हुँदा अपराधका घटना बढेको स्थानीयको भनाई छ।

नागरिक समाजका अगुवा जनकराज पाण्डे प्रहरी शान्ति सुरक्षा गर्नमा असफल हुँदा नागरिकमा त्रास उत्पन्न भएको बताउँछन्। ‘नागरिकको सुरक्षा भन्दा प्रहरीको प्राथमिकता अरु नै कुरा हुने गरेको छ’उनले भने,–‘यसैले नागरिक असुरक्षित भएका छन्’।

कैलालीका बिभिन्न नाकाबाट भारत र नेपाल दुवै देशका तस्करहरूको गिरोहले सेटिङमै तस्करी गर्ने गरेकाले साना हतियारहरू समेत निर्बाध रुपमा भित्रिने गरेको एक प्रहरीले बताए। साना हतियारका कारण अपराध बढ्नुका साथै नागरिकलाई बढी असुरक्षा भएको उनी बताउँछन्।

कानुन व्यवसायी गंभिर सिंह ऐर राज्यका निकायका अधिकारीहरूको गैर जिम्मेवारी पनले पनि अपराध गर्नेको मनोबल बढेको बताए। अपराध गर्नेलाई पनि प्रभावमा परेर छुटकारा दिने गरेको उनी बताउँछन्। ‘केही दिन अघि भजनीमा लुटेराहरूको एक समूहले ५ लाख नगद लुट्यो, पीडितले किटानी उजुरी दिँदा पनि उनको उजुरी नै लिइएन’उनले भने, ‘पीडितले न्याय नपाएर थप पिडा भोग्नु पर्‍यो भने अपराधीले उन्मुक्ति पायो’।

बर्दगोरिया गाउँपालिका १ मा बोहराको हत्या गर्ने भारतीय नागरिकले उन्मुक्ति पाउनुमा प्रहरीको कमजोरी रहेको उनी बताउँछन्। ‘कुटपिट गरेर गंभिर घाइते बनाइएको छ, गंभिर घाइतेको स्थानीय तहमा उपचार हुन नसकेर कोहलपुर अस्पताल रिफर गरिएको छ, प्रहरीले भने ती भारतीय नागरिकलाई जान दियो’उनले भने, ‘कुटपिट गर्ने भारतीय नागरिकलाई जानदिनको कारण बुझिन सक्नु छ’।

कैलाली जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सरस्वती अधिकारीले अत्तरियामा गोली प्रहार गर्नेको अहिले सम्म पत्ता लाग्न नसकेको बताइन्। गोली हान्नेको खोजी कार्य जारी रहेको उनको भनाई छ। यसै गरी धनगढी उपमहानगरपालिका ९ जुगेडमा गोली प्रहार गर्नेहरू पनि पक्राउ पर्न नसकेको उनले बताइन्। सोहरालाई कुटपिट गरेर हत्या गर्ने भारतीय नागरिक पनि पक्राउ नपरेको उनले बताइन्।

प्रकाशित: ९ पुस २०७९ १६:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App