१ पुस २०८१ सोमबार
image/svg+xml
समाज

बालबालिकालाई न्यानो कपडा

कालिकोटका तिलागुफा नगरपालिका र शुभकालिका गाउँपालिकाभित्रका आर्थिक विपन्न परिवारका बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ।

चिसोका कारणले विद्यालय जानसमेत छोड्न थालेका विपन्न परिवारका बालबालिकालाई सेभःद चिल्ड्रेन, किर्डाक नेपालले वितरण गरेका हुन्। विद्यालयमा नियमित उपस्थित गराउने उद्देश्यले तिलागुफा नगरपालिका र शुभकालिका गाउँपालिकाभित्रका १३१ जना छात्र र १४९ जना छात्रा गरी जम्मा २८० जनाले न्यानो कपडासँगै खाद्यान्न सहयोग गरिएको हो।

तिलागुफा नगरपालिका वडा नं ५ का नन्दकला न्यौपानेले चिसो कटाउन न्यानो कपडा पाएकोमा आफूलाई निकै खुशी लागेको बताइन्। ‘यतिका कपडा किन्नका लागि रुपैयाँ थिएन, बिहान बेलुका के खाउँ भनेर सोच्नुपर्ने हाम्रो परिवारलाई महँगा कपडा किन्न सक्ने सम्भावना थिएन’, उनले भनिन्, ‘आफ्ना दुईजना बच्चाका लागि आर्थिक अभावको सङ्कट झेलिरहेका हामीलाई किर्डाक नेपालले न्यानो कपडा सहयोग गरेपछि आफूलगायत धेरै परिवारको उद्धार भएको छ।’

यस्तै, वडा नं ७  जयबहादुर भण्डारीले हालसम्म हाम्रो बच्चाले यति राम्रा न्यानो हुने जाकेट लगाएका थिएनन्। तर सेभ द चिल्ड्रेन, किर्डाक नेपालले न्यानो कपडा सहयोग गरेर नबिसर्ने गुन लगाएको उनले सुनाए।

सेभ द चिल्ड्रेनका बालअधिकार शासन, बाल संरक्षण संयोजक बाले विश्वकर्माले अति जोखिम, जोखिम, विपन्न परिवारभित्रका बालबालिकालाई चिसो छल्न न्यानो कपडा सहयोग गरेको बताए।

यस सहयोगले अब विद्यालयमा पनि बालबालिका नियमित आउने आशा गरेको विश्वकर्माले सुनाए।विपन्न परिवारको छनोट गर्दा पहिलो आधार स्थानीय सरकारको हो भने दोस्रो आधार आफैँ सहयोगी संस्थाको अनुगमन र यस अगाडि सहयोग गरेको रिर्पोट, तथ्याङ्क हो।

किर्डाक नेपालका बालअधिकार शासन, बालसंरक्षण परियोजना संयोजक सरिता खत्रीले विपन्न बालबालिकालाई न्यानो कपडासँगै खाद्यान्न खरिदमा १० लाख ६५ हजार ६१८ रुपैयाँ ४० पैसा खर्च भएको बताइन्। न्यानो कपडा पाएपछि बालबालिकालाई सहज भएको छ।

प्रकाशित: ९ पुस २०७९ ०५:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App