२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

जानकी मन्दिरलाई शालिग्राम शिला उपलब्ध गराइने

फाइल तस्बिर

विश्वमै दुर्लभ मानिएको शालिग्राम शिला जनकपुरधामस्थित जानकी मन्दिरलाई उपलब्ध गराइने भएको छ। मुस्ताङ र म्याग्दी आसपासका क्षेत्रमा प्रशस्तै पाइने शालिग्रामको खोजी र उत्खननका लागि सरकारी निकायका प्रतिनिधिसहितको टोली कालीगण्डकी नदीमा खटिएको छ।

मन्त्रालयबाट आएका प्राविधिकसहितको टोलीले म्याग्दी र कालिगण्डकी नदीको दोभानमा रहेको शिला निकाल्न असम्भव भएपछि थप माथिल्लो क्षेत्रमा खोजी गरिरहेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले समेत शिला खोजी गरी जनकपुरधाममा लैजान गरिएको प्रस्तावलाई स्वीकृत गरिएको सूचना सञ्चार तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सार्वजनिक गरेका थिए।

तीन दशकसम्म कालिगण्डकी नदीमा अत्यधिक पाइने शिला सडक सञ्जालको विस्तार, नदीमै राखिएको क्रसर उद्योगको अवैध उत्खननलगायत मानवीय र प्राकृतिक कारणले शालिग्राम लोप हुँदै गएको छ। बेनी नगरपालिकाका मेयर सुरत केसीले शालिग्राम शिलाको खोजीमा आएको टोली सम्भावित क्षेत्रमा पुगेको बताए। ‘एउटा पहिचान भइसकेको छ, अर्को खोज्ने कार्य यतिबेला रोकिएको छ’, मेयर केसीले भने।

उत्खनन गर्दा नदीबाट हुन सक्ने क्षतिका बारेमा समेत टोलीलाई सचेत बनाइएको मेयर केसीको भनाइ छ। बेनी नगरपालिकालाई गण्डकी प्रदेशबाट समेत पत्र प्राप्त भएपछि जनप्रतिनिधिसहितको टोलीले सघाइरहेको छ। बेनीको देभानदेखि गलेश्वर आसपासका क्षेत्रबाट लैजाने बताइएको छ। शालिग्रामलाई हिन्दु धर्मावलम्बीले विष्णु अवतारका रूपमा पुज्ने गर्छन्।

कालिगण्डकी नदीमा मात्र पाइने शालिग्राम हिन्दु धर्मावलम्बीका लागि बहुमूल्य शिला भए पनि नदी दोहनका कारण शिला पाउन मुस्किल भएको टोलीका प्रतिनिधिहरूको भनाइ छ। शालिग्राम शिला पाइने मुस्ताङ, म्याग्दी र पर्वत खण्डको नदी आसपासमा हुने अवैध उत्खनन तीव्र छ।

प्रकाशित: ६ पुस २०७९ ०३:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App