१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

मदन भण्डारी राजमार्ग: डेढ वर्षसम्म पनि देखिएन प्रगति

धुलियाविट–भेडाबारी सडक योजना कार्यालय सुर्खेत। तस्विर: गोविन्द केसी/नागरिक

डेढ वर्षदेखि निर्माण सुरु भएको मदन भण्डारी राजमार्गअन्र्तगत सुर्खेतको धुलियाविट–भेडाबारी सडक (३५ किलोमिटर) काम सुस्त गतिमा भइरहेको छ। डेढ वर्षमा २५ प्रतिशत प्रगति रहेको उक्त सडकको प्रगति न्यून रहेको हो।

२०७८ असार २८ गतेदेखि सुरु भएको काम २०८० पौष १३ गतेसम्म सम्पन्न गरिसक्नुपर्ने भएपनि वन विभागले अनुमति नदिदाँ काम हुन नसकेको जनाइएको छ। जसअनुसार काम सुरु भएको डेढ वर्षको अवधिमा कम्तिमा ५० प्रतिशत काम हुनुपर्नेमा भएपनि लक्ष्यभन्दा काम ढिला भएको हो।

३५ किलोमिटर धुलियाविट–भेडाबारी सडक निर्माणका लागि भ्याटसहित १ अर्ब ३ करोड रुपैयाँमा कालिका/केएस/वेदान्सी जेभीले ठेक्का सम्झौता गरेको छ। राजमार्गको जंगल क्षेत्रमा पर्ने रुखको कटान आदेश नपाउँदा लक्ष्य अनुसार काम हुन नसकेको मदन भण्डारी राजमार्ग योजना कार्यालय सुर्खेतले जनाएको छ। अहिले सडकमा पर्ने रुखहरु छोडेर काम भइरहेको जनाइएको छ। १८ किलोमिटर सडक जंगल क्षेत्र पर्दछ। ‘काम सुरु भएको पहिलो महिनादेखि नै रुख कटान आदेशका लागि बन विभागमा प्रकृया बढाइएको छ।’ राजमार्ग योजना कार्यालयका इन्जिनियर जितेन्द्र कुमार साहले भने, ‘लामो समयसम्म पनि वन विभागबाट कटान आदेश पाउन नसक्दा रुख छाडेर काम भैइरहेको छ।’ ठेकेदारले ट्रयाक खोल्ने, चौडा बनाउने, नाला निर्माण, ग्याविन, कल्भर्टका काम गरिरहेको ईन्जिनियर साहले बताए । ‘९ किलोमिटर ग्रावेलको काम पनि सकिएको छ।’ इन्जिनियर साहले भने, सडकमा वेस र सववेसको काम भइरहेको छ।’ जनशक्ति परिचालन गरेर हुने नाला, पर्खाल, कल्भर्ट जस्ता कामहरु करिब–करिब सकिएर अव कालोपत्रे लगायतका काम गर्न मेशिनरी उपकरण प्रयोग हुने कामहरु बाँकी रहेको मदन भण्डारी राजमार्ग योजना कार्यालयले जनाएको छ।

धुलियाविट–भेडाबारी सडकसँगै सुर्खेतको पश्चिम क्षेत्रअन्र्तगत बडडीचौरदेखि कर्णाली चिसापानीसम्म ९४ किलोमिटर सडक निर्माण हुनेछ। यो सडक खण्ड अन्र्तगत सुर्खेत पश्चिममा कर्णाली प्रदेश सरकार, सडक डिभिजनका साथै मदन भण्डारी राजमार्ग योजना कार्यालयले समेत बजेट विनियोजन गरि काम गरिरहेका छन्। मदन भण्डारी राजमार्गले पूर्वमा झापाको शान्तिनगरदेखि पश्चिममा डडेल्धुराको रूपालसम्म जोडिने छ। यो सडक शान्तिनगर–धरान, धरान–हेटौंडा, कालिगण्डकी करिडोर–रिडी, रिडी–प्युठान, प्युठान–घोराही, घोराही–सुर्खेत, सुर्खेत–वीपीनगर (डोटी), बीपीनगर–बुडर (डडेल्धुरा), बुडर–रुपाल र महेन्द्र राजमार्गमा खापिने गरी हेटौंडा–नारायणघाट गरी विभिन्न १० वटा खण्डको एकीकृत रूप नै मदनभण्डारी राजमार्ग हो।

नेपालका पूर्व–पश्चिम जोड्ने राजमार्गहरुमध्ये मदन भण्डारी राजमार्गलाई चौथो राजमार्गका रुपमा घोषणा गरिएको छ। यो राजमार्गले एक हजार दुई सय किलोमिटरमा पूर्व–पश्चिम जोड्ने छ। विभिन्न १० वटा टुक्रे सडकलाई एकीकृत गरी पूर्वदेखि पश्चिमसम्म पुर्‍याउने गरी मदन भण्डारी राजमार्ग बनाइएको हो।  

प्रकाशित: २८ मंसिर २०७९ १०:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App