बाल सङ्गठन कैलाली शाखाको स्वामित्वमा रहेको सार्वजनिक जमिन अतिक्रमण गरेर संरचना बनाएपछि सरोकारवालाले भत्काउन जिल्ला प्रशासन सँग माग गरेका छन्।
धनगढी बजारको केन्द्र मानिने कैलाली पुल नजिक रहेको बाल सङ्गठनको स्वामित्वमा रहेको सार्वजनिक जमिन अतिक्रमण गरेर संरचना बनाएको बाल सङ्गठन कैलाली शाखाका सभापति चूडामणि भट्टले बताए।
बाल सङ्गठनले उपभोग गर्दै आएको जमिनमा स्थानीय सुशील शाहले अतिक्रमण गरेको भन्दै मङ्गलवार सरोकार बिच सर्वपक्षीय छलफल आयोजना गरिएको थियो। छलफलमा बाल अधिकारको क्षेत्रमा क्रियाशील पवित्र संस्था बाल सङ्गठनको स्वामित्वमा रहेको जमिन अतिक्रमणको सबैले विरोध गरेका थिए।
कैलाली जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले सार्वजनिक जमिन कुनै व्यक्तिले अतिक्रमण गर्न नपाइने उल्लेख गर्दै सार्वजनिक जमिनमा संरचना नबनाउन पत्राचार गर्ने बताए।
यसै गरी ईन्सेकका प्रदेश प्रमुख खडक राज जोशीले सार्वजनिक जमिन अतिक्रमण गर्नु सरासर गलत भएको भन्दै जिल्ला प्रशासन लगायत सरोकारवाला निकायले संरचना भत्काएर अतिक्रमण हटाउनु पर्ने बताए। नेपाल बार एसोसिएसन कैलालीका अध्यक्ष सिद्धराज ओझाले बाल सङ्गठनको सरकारी जमिनमा व्यक्तिले कुनै पनि अर्थमा अतिक्रमण गरेर संरचना बनाउन नपाइने बताए।
छलफलमा बाल सङ्गठनका पूर्व सदस्य सचिव समेत रहेका नागरिक समाजका अगुवा घन बहादुर शाहले बाल सङ्गठनको स्वामित्वमा रहेको जमिनमा संरचना बनाएकोले त्यो भत्काउन जिल्ला प्रशासनले अगुवाइ गर्नु पर्ने बताए।
संरचना बनाएका शाहले भने उक्त जमिन बाटो भएको र अगाडिको आफ्नो ८,९ धुर सडक चौडा गर्दा जाने भएपछि बाच्नको लागि सार्वजनिक उक्त जमिन आफुले ओगटी संरचना बनाएको बताएका छन्।
आफ्नो हजुर आमाले बाटोको लागि दिएको जमिन भएकाले अगाडि मेनको सडक तर्फ १५ मिटर खाली गर्दा अहिले आफूसँग ६,७ धुर मात्र बाकी रहेकाले उक्त जमिनमा संरचना बनाएको उनको भनाई छ।
प्रकाशित: २७ मंसिर २०७९ १२:३१ मंगलबार