रौतहट सदरमुकाम गौरको एउटा तरकारी बजार पुनः सञ्चालनमा आएको छ। गौर नगरपालिका २ मा रहेको पुरानो तरकारी बजार औपचारिक रुपमा संचालनम आउने सम्पूर्ण तयारी पूरा भएको नगर प्रमुख शम्भु साहले जानकारी दिए।
निकै पुरानो हाट बजारको रुपमा रहेको गौर २ स्थित तरकारी बजार केही समयदेखि बन्द थियो। तरकारी बजार बन्द हुँदा स्थानीयलाई ताजा र हरियो तरकारी किन्न टाढासम्म जानु परेको थियो।
नगरपालिकाको सक्रियतामा तरकारी बजारको लागि भवन निर्माण भएर व्यवस्थित तरकारी बजार निर्माण भएको छ। पुरानै ठाउँमा नयाँ तरकारी बजार लाग्न थालेपछि गौरका साथै छिमेकी भारतीय बजार बैरगनियाका केही बासिन्दालाई पनि सजिलो हुने भएको छ।
बजारलाई व्यवस्थित बनाइएको नगर प्रमुख साहको भनाइ छ। तरकारी बिक्रेता तथा क्रेता दुवैलाई सजिलो हुने गरी व्यवस्थापन गरिएको नगर प्रमुख साहको दाबी छ।
तरकारी बजार सञ्चालनमा आएपछि संकलन भएको तरकारी काठमाडौँसम्म पनि जाने बताइएको छ। तरकारी उपभोक्तादेखि थोक बिक्रेतासम्म र उत्पादकदेखि बाहिर पठाउने व्यवसायीसम्म बजारबाट लाभान्वित हुने विश्वास लिइएको छ। बिहीबार तरकारी बजारको उद्घाटन हुने भए पनि तरकारी बजार सञ्चालनमा आइसकेको छ।
प्रकाशित: २६ मंसिर २०७९ १४:०९ सोमबार