८ वैशाख २०८१ शनिबार
समाज

डायलाइसिस सेवा नपाएर ज्यान गुमाउँदै मृगौला पीडित

विरंग हेल्थ केयर र मेडिकल कलेजको लापरबाहीले पाँच महिनाभित्र ३३ जनाको मृत्यु

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको डायलाइसिस विभाग।

सरकारले मृगौला पीडित बिरामीका लागि निःशुल्क ‘डायलाइसिस’ गर्ने व्यवस्था मिलाएको छ। सरकारको नीति अनुसार कुनैपनि मृगौला पीडितले डायलाइसिस सेवा नपाएर अकालमा ज्यान गुमाउनुपर्ने छैन। तर, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भने डायलाइसिस गराउन नपाएरै पाँच महिनाभित्र ३३ जनाले अकालमा ज्यान गुमाउनु पर्‍यो।

डायलाइसिस सञ्चालन गर्ने ठेक्का लिएको विरंग हेल्थ केयर प्रा.लि.र मेडिकल कलेजको शिक्षण अस्पताल प्रशासनकै चरम लापरबाहीका कारण आफन्त गुमाउनु परेको पीडित परिवारको गुनासो छ। सरकारले मृगौला पीडितका लागि निःशुल्क डायलाइसिसको व्यवस्था गर्ने नीति कागजमा मात्रै बनायो। तर पीडितहरूको सहज उपचारबारे न चासो लियो, न त नियमित रुपमा अनुगमन गर्‍यो।

नियमित डायलाइसिस सेवा नपाएर आफन्त गुमाएका अधिकांश पीडितहरूको गुनासो एउटै छ।

‘सरकारले निःशुल्क सेवा दिने नाममा अस्पतालहरुलाई मनपरी गर्न दियो। शिक्षण अस्पताल कोहलपुरको डायलाइसिस विभागमा यति लापरबाही छ कि हामी प्रत्यक्ष पीडा भोग्नेलाई मात्र थाहा छ,’ पीडित शिला चौधरीले नागरिकसँग भनिन् ‘अस्पतालमा नियमित डायलाइसिस गराउन नपाएर मेरो श्रीमानको मृत्यु भएको हो।’  

विगत ३ वर्ष देखी कोहलपुरमा डायलाइसिस गराउँदै आएका बर्दिया, बारबर्दिया नगरपालिका वडा नम्बर ६ निवासी शिलाका श्रीमान् बीरबहादुर थारुले हप्ताको आइतबार र बुधबार पालो पाउँथे। तर, नियमित डायलाइसिस गराउन नपाउँदा उनको गत असोज २२ गते मृत्यु भयो। ‘पहिले त डायलाइसिस सेवा राम्रै थियो, साउन/भदौ पछाडि त धेरै नै लापरबाही हुन थाल्यो, डायलाइसिस गराउन अस्पतालमा बोलाउने र सामान छैन भनेर फर्काउन थाले, त्यसपछि नियमित रुपमा डायलाइसिस गराउन नपाएर श्रीमानको ३३ वर्षकै उमेरमा मृत्यु भयो,’ शिलाले थपिन्। डायलाइसिस नपाएर श्रीमानको मृत्यु भएको पीडालाई आफुले कहिल्यै बिर्सन नसक्ने उनी बताउँछिन्। शिला भन्छिन्, ‘मैले त श्रीमानलाई गुमाई सके, अब अरु कसैले पनि आफन्त गुमाउनु नपरोस्, लापरबाही गर्नेलाई छानबिन गरी कडा कारबाही गरियोस्।’

बाँकेका रवि थारु पनि साढे तीन वर्षदेखि मृगौला सम्बन्धी रोगबाट पीडित थिए। मृगौलामा समस्या देखिएपछि कोहलपुरस्थित शिक्षण अस्पतालमा उनले डायलाइसिस गराउन थाले। अस्पतालको डायलाइसिस विभागले उनका लागि हप्ताको दुई दिन (मंगलबार र शुक्रबार) तोकिदियो। सुरुका वर्षमा डायलाइसिस राम्रै भएपनि गत भदौ महिनादेखी भने लापरबाही नै हुन थाल्यो। 

‘डायलाइसिस गराउन जाँदा कहिले सामान छैन भनेर फर्काउने, कहिले पालै नआउने अवस्था भयो,’ श्रीमती पुजाले भनिन् ‘कहिले त आफैंले सामान किनेर ल्याएर पनि डायलाइसिस गरायौँ, हप्तामा दुई पटक गर्नुपर्ने डायलाइसिसको पालो पछि त आउनै छाड्यो, त्यसपछि श्रीमानको मृत्यु भयो।’

लापरबाहीकै कारण गत मंसिर ६ गते २४ वर्षकै उमेरमा श्रीमान् गुमाउनु परेको पुजा बताउँछिन्। नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले डायलाइसिस सञ्चालन गर्ने जिम्मा निजी सेवा प्रदायक कम्पनी विरंग हेल्थ केयर प्रा.लि.लाई दिएको थियो। नेपालगन्ज मेडिकल कलेजसँग सम्झौता गरेर विरंग हेल्थ केयरले विगत तीन वर्षदेखि डायलाइसिस विभाग चलाउँदै आएपनि पछिल्लो समयमा सम्झौता अनुसारको भुक्तानी नपाएको भन्दै विरंगले सेवामा लापरबाही गरेको अस्पतालकै चिकित्सक बताउँछन्।

विरंगले डायलाइसिस सञ्चालनमा लापरबाही गरिरहँदा मेडिकल कलेजको अस्पताल प्रशासनले समयमा यसको विकल्प नखोज्नु, बिरामीको धमाधम मृत्यु भइरहँदा पनि कलेजले स्वास्थ्य मन्त्रालय, विभाग जस्ता निकायमा जानकारी नगराएर सामान्य रुपमा लिनु अर्को चरम लापरबाही भएको यहाँका स्वास्थ्यकर्मी बताउँछन्।

‘डायलाइसिस सेवा चलाउने ठेक्का लिएको कम्पनीले लापरबाही गर्‍यो नै, अस्पतालले पनि बिरङ्गको विकल्प खोज्नुपर्थ्यो, स्वास्थ्य मन्त्रालयसँग भुक्तानीको प्रक्रिया अपनाउँदै डायलाइसिस सेवालाई प्रभावकारी रुपले आफै चलाएको भए यति धेरै ३३ जनाको मृत्यु हुने थिएन,’ एक चिकित्सकले नाम नछाप्ने सर्तमा भने।

अस्पतालबाट भुक्तानी नपाएको भन्दै विरंग हेल्थ केयरले करिब एक महिनासम्म डायलाइसिस सेवा नै बन्द गरेको थियो। डायलाइसिस बन्द हुँदा मृगौला पीडितको मृत्यु हुनुका साथै स्वास्थ्य लाभ गरिरहेका बिरामीहरू महँगो रकम खर्चेर भारतीय अस्पतालसम्म जानु परेको थियो।  

गत साउन देखी हालसम्म ३३ जना मृगौला पीडित बिरामीको मृत्यु भइसक्दा समेत अस्पताल प्रशासनले यस विषयमा कुनैपनि निकायमा औपचारिक रुपले नगराउनु चरम लापरबाही भएको स्वास्थ्यकर्मी बताउँछन्। हाल शिक्षण अस्पतालको सम्पर्कमा ३७ जना मृगौला पीडित छन्। नियमित गराउन नपाउँदा उनीहरुको स्वास्थ्य अवस्था पनि जटिल बनेको छ। सम्पर्कमा रहेका बिरामी ‘हेपाटाइटिस सी’ र ‘नेगेटिभ’ सम्बन्धी बिरामी हुन्। बिरामीको मृत्यु र उनीहरुको जटिल स्वास्थ्य अवस्थालाई अस्पताल प्रशासनले भने सामान्य रुपमा लिएको पाइएको छ। अस्पतालका निर्देशक डा.रेशम बहादुर रानाको अभिव्यक्तिले नै यसको पुष्टि गर्छ।

‘मृगौला पीडित बिरामीको मृत्यु भएको कुरा तथ्याङ्कले बताउँछ, म यति मात्र भन्छु, यो विषयमा म धेरै बोल्न चाहन्न,’ उनले नागरिकसँग टेलिफोनमा भने। डा. रानाले सञ्चार माध्यमलाई प्रतिक्रिया दिन चाहँदैनन्।

बिरंग हेल्थ केयर प्रा.लि कोहलपुरका स्टेसन म्यानेजर शिशिर शाह भने मृगौला पीडित बिरामीको त्यति ठुलो संख्यामा मृत्यु हुनुमा आफुहरु मात्र दोषी नभएको तर्क गर्छन्। ‘हामी कहाँ जसले पालो पाएका हुन्छन्, तिनीहरूको डायलाइसिसलाई बढी प्राथमिकता दिनुपर्ने हुन्छ, पालो नपाएका बिरामीको मृत्यु भएको हो,’ उनले भने। पछिल्लो समयमा शाहले सञ्चार माध्यमलाई प्रतिक्रिया दिन छाडेका छन्।

प्रकाशित: २४ मंसिर २०७९ ०९:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App