१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

जलदेवी सामुदायिक वनबाट अवैध सालको काठ बरामद

भरतपुर महानगरपालिकाको आँपटारी स्थित जलदेवी सामुदायिक वनबाट अवैध सालको काठ बरामद भएको छ।  डिभिजन वन कार्यालय चितवनले  आज (शुक्रबार) सामुदायिक वनले लुकाएर राखेको ४८ क्यूफिट  सालको चिरान काठ बरामद गरेको हो। 

‘जलदेवी सामुदायिक वनले पर्यापर्यटन कार्यक्रम अन्तरगत जिप लाइन सञ्चालन गरेको छ। त्यसको टिकट काउण्टरमा सालको काठ राखिएको सूचनाका आधारमा चेक गर्दा हामीले ४८ क्यूफिट चिरान काठ पायौँ,’ डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी बालकृष्ण खनालले भने, ‘अनुसन्धान गर्न काठ बरामद गरेर ल्याएका छौँ।’ अनुसन्धानकै क्रममा रहेकाले अहिले नै अवैध हो भन्न नसकिने उनले बताए। 

जलदेवी सामुदायिक वनले भने पर्यापर्यटनको विकासका लागि समितिबाट निर्णय गरेर सालको काठ राखिएको दाबी गरेको छ। ‘पार्क भित्र ढलेको रुख थियो। त्यसलाई प्रयोग गरेर पुल र गेट बनाउने समितिले निर्णय गरेको थियो,’ जलदेवी सामुदायिक वनका अध्यक्ष माधव देवकोटाले भने, ‘पार्क निर्माणकै लागि काठ चिराएर राखेका हौँ।’ शुक्रवार दिउँसो राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, डिभिजन वन कार्यालयका प्रमुख लोकराज नेपाल लगायतको टोली सूचनाको आधारमा त्यस स्थानमा पुगेको थियो। 

उनीहरुलाई वन ऐन २०७६ अनुसार कारबाही गर्ने तयारी गरिएको छ। ऐन अनुसार, अपराधको मात्रा हेरेर जरिवाना तोकिएको छ। डिभिजन वन कार्यालयले २ लाखसम्मको मुद्दा मात्र हेर्न मिल्ने कानुनी व्यवस्था छ। कार्यालयले यस आर्थिक बर्षमात्रै ५ सय ११ क्यूफिट सालको काठ बरामद गरेको छ। सबैभन्दा धेरै इच्छाकामाना र कालिका नगरपालिकाबाट बरामद गएको कार्यालयले जानकारी दिएको छ।  

प्रकाशित: २३ मंसिर २०७९ ११:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App