१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बज्जिका पाठ्यक्रम निर्माण गर्दै गरुडा नगरपालिका

सर्लाही र रौतहटमा मुख्य मातृभाषाको रुपमा रहेको बज्जिका भाषाको पाठ्यक्रम निर्माणका लागि अभिमुखीकरण गोष्ठी रौतहटको गरुडामा सम्पन्न भएको छ।

भाषा आयोग, गरुडा नगरपालिका तथा बज्जिका साहित्य संगम रौतहटको संयुक्त आयोजना भएको अभिमुखीकरण गोष्ठीलाई सम्बोधन गर्दै गरुडा नगरपालिकाका नगर प्रमुख कथ्नमनि प्रसाद कलवारले मातृभाषा बज्जिकाको लागि आफू रौतहट उद्योग वाणिज्य संघको अध्यक्ष रहेको समयदेखि नै लागि परेको र नगर प्रमुख भएपछि आफ्नो दायित्व अझ बढेको बताएका छन्।

गरुडा नगरपालिकाको सभाकक्षमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै भाषा आयोगका सदस्य  गोपालजी प्रसाद सर्राफले देशमा बोलिने मातृभाषाहरुलाई लोप हुन नदिने मुख्य संवैधानिक अभिभारा आयोगको भएसँगै मातृभाषाको पाठ्यक्रम निर्माण गरी मातृभाषा शिक्षालाई व्यवहारमा उतार्नु पनि कर्तव्य रहेको बताएका छन्। यसै क्रममा बज्जिका भाषाको पाठ्यक्रम निर्माणमा आयोगले प्राविधिक सहयोग गर्न तयार रहेको बताएको छ।

आयोगका सचिव जयराम अधिकारीले आयोगले मधेस प्रदेशका तिन प्रमुख भाषा बज्जिका, भोजपुरी र मैथिलीलाई प्रादेशिक सरकारी कामकाजको भाषा सिफारिस गरेको बताउँदै पालिकाहरूले पनि सरकारी कामकाजको भाषाको रुपमा प्रयोग गर्न सुझाव दिएका छन्।

कार्यक्रममा बज्जिका भाषाका प्रशिक्षक साहित्यकार सञ्जय साह मित्र, कक्षा १ र २ को पाठ्यपुस्तक तयार गर्ने काम, सामुदायिक सिकाइ केन्द्र सर्लाहीका प्रमुख डा. कमलेश्वरकुमार सिन्हा, गरुडा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबाबु राय यादव, नगर शिक्षा सहसंयोजक शेख चाँद अलि, रवीन्द्र मिश्र, बज्जिका साहित्य संगम रौतहटका अध्यक्ष किशुनदयाल श्रीकृष्ण लगायतले कक्षा ३ को पाठ्यक्रम निर्माणको प्राविधिक पक्षबारे स्पष्ट पारेका छन्।

कार्यक्रममा नगर शिक्षा संयोजक सुबोधकुमार चौधरी, मावि गरुडाका प्रधानाध्यापक प्रभु राउत पटेल, मावि महम्मदपुरका प्रअ रामनारायण यादव, मावि जिंगडियाका प्रअ मौजेलाल साह, मावि श्रीपुरका प्रअ रामअधार पासवानका साथै गौर नगरपालिकाको जुद्ध माविका सहायक प्रधानाध्यापक दयानन्द ठाकुर, गढीमाई नगरपालिकाको समनपुरस्थित शंकर गुदर माविकी शिक्षिका रेणु गुप्तासहित विभिन्न विद्यालयमा बज्जिका अध्यापन गर्ने शिक्षक, साहित्यकार तथा भाषासेवीहरुको सहभागिता रहेको थियो।

प्रकाशित: २२ मंसिर २०७९ १३:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App