१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

मेयरकै घरबाट सुरु गरियो अवैध संरचना हटाउने अभियान

सडक पेटी डाक्ने गरी अवैध रुपमा बनाइएका संरचना हटाउने अभियानको सुरुआत विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाको घरबाटै थालिएको छ।

विराटनगर महानगरपालिकाले बजार क्षेत्रमा निर्माण गरिएका अवैध संरचना हटाउने अभियान सुरु गरेको हो।  
 

प्रमुख कोइरालाको विराटनगर–९ स्थित रंगेली रोडमा रहेको भाडामा लगाएका पसल सञ्चालकले सटर अगाडि आफूखुसी निर्माण गरेका संरचना हटाएर अभियानको सुरुआत भएको छ।

महानगरपालिकाका नगर प्रहरी प्रमुख राजन पौडेलको नेतृत्वमा डोजरसहित पुगेको नगर प्रहरीले पसल अगाडि निर्माण गरेको सेट ब्याकलगायतका अवैध संरचना हटाएका छन्। नगर प्रहरीले जथाभाबी झुन्ड्याइएका होडिङ बोर्डसमेत हटाएको थियो।

विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने महानगरको अभियान अन्तर्गत बजार क्षेत्रमा निर्माण गरिएका संरचना हटाउन सुरु गरिएको महानगरका प्रमुख नागेश कोइरालाले बताए। उनले ३५ दिने सूचना जारी गर्दा पनि व्यापारीहरूले अटेर गरेपछि बल प्रयोग गरेर हटाउनु परेको प्रस्ट पारे।

‘परिवर्तन गर्न आफैँबाट सुरु गर्नुपर्छ भन्ने भनाइलाई चरितार्थ गर्दै मेरै घरमा रहेका पसल सञ्चालकले बनाएका अवैध संरचना हटाएर अभियान सुरु गरेको हो,’ प्रमुख कोइरालाले भने, ‘सहर अब यथास्थितिमा बस्न सक्दैन, विराटनगर प्रदेशको राजधानी पनि हो। यसलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने हाम्रो लक्ष्यलाई साथ दिन महानगरवासीलाई आग्रह गर्दछु।’

बजार क्षेत्रभित्र सौन्दर्यीकरण, दुर्घटना न्यूनीकरण तथा फुटपाथ नियन्त्रणका लागि पटक–पटक माइकिङ गरेर सूचना गर्दा व्यापारीहरूले अटेर गरेपछि बाध्य भएर अभियान सञ्चालन गर्नुपरेको महानगरले जनाएको छ। अभियान अन्तर्गत प्रमुख कोइरालाको घरमा सञ्चालित पसलका साथै वडा नम्बर ९ को कार्यालय बुधहाट चोकस्थित ‘बि’ प्लटमा अवस्थित पसलमा निर्माण गरेका अवैध संरचना हटाइएको छ। 

उपभोक्ता जागरण अभियानका राष्ट्रिय अध्यक्ष कृष्णप्रसाद भण्डारी ‘मार्सेली’ ले महानगरले सुरु गरेको अभियान अत्यन्तै सकारात्मक भएको बताए। अवैध संरचना हटाउने अभियान महानगरका १९ वटै वडामा सञ्चालन गरिने प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले जानकारी दिए।

जभाभावी फोहोर गर्ने र बजारको सौन्दर्यीकरणमा ह्रास आउने काम गर्नेलाई तत्काल कारबाही गर्ने अधिकार सफाई शाखाका प्रमुख पुनम दाहाल र नगर प्रहरीका प्रमुख राजन पौडेललाई दिइएको बताउँदै, प्रमुख प्रशासकीय अधिकृत कोइरालाले भने, ‘जथाभाबी टाँगेका अनावश्यक केवल र नेटका तार हटाउने अभियान पनि सुरु भइसकेको छ। केही दिन अघि केवल प्रदायक संस्थाका प्रतिनिधिहरूलाई बोलाएर तारलाई तत्काल व्यवस्थित गर्न निर्देशन दिएका छौं।’

प्रकाशित: २१ मंसिर २०७९ १३:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App