७ वैशाख २०८१ शुक्रबार
समाज

बतास फाउण्डेशनद्वारा अक्सिजन प्लान्ट हस्तान्तरण

सरकारी अस्पतालमा अब अक्सिजनकै अभावमा विरामीले सकस भोग्नुपर्ने छैन्। कोरोनाकालमा  अक्सिजनकै अभावमा विरामीले ज्यानै गुमाउनुपर्ने अवस्था थियो। अक्सिजनको चरम अभाव बढेपछि निजी संस्था बतास अर्गनाईजेशन अन्तर्गतको बतास फाउण्डेशनले पोखराकै पुरानो सरकारी अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पताल(पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान)भित्र प्लान्ट जडान गर्ने उदघोष गरेको थियो।  

बतासले उदघोष गरेको अक्सिजन प्लान्ट ढिलैभएपनि अस्पताल प्रशासनलाई हस्तान्तरण गर्यो। गण्डकी प्रदेशकै ठुलो सरकारी अस्पतालमा हस्तान्तरण गरिएको उक्त प्लान्टले दैनिक १ सय ५० सिलिन्डर अक्सिजन उत्पादन गर्ने बतास फाउण्डेशनका प्रवक्ता नारायणप्रसाद पौडेलले बताए। ‘प्लान्ट हस्तान्तरण गरियो। पश्चिमाञ्चल क्षेत्रीय अस्पतालद्वारा आवश्यक पूर्वाधार निर्माण भएपश्चात उक्त प्लान्ट जडान गरिने छ,’ प्रवक्ता पौडेल भने ।  

अक्सिजन अभावका कारण कोभिड महामारीमा विरामीले उपचार पाउन सकेका थिएनन्। बतास फाउण्डेशनले गतवर्ष नै उच्च क्षमताको अत्याधुनिक अक्सिजन प्लान्ट स्थापनाका लागि रकम सङ्कलन महाअभियान शुरु गरेको थियो। बतास फाउण्डेसन र  बतास अर्गनाइजेसनबाट ५५ लाख रुपैयाँ बीउ पुँजी(सिड मनी) राखेर अभियान शुरु गरिएको थियो। अभियान अन्तर्गत फाउण्डेशनले ‘रु. १०० दान गरौँ, महामारीमा प्राण राखौँ’ भन्ने नारासहित आर्थिक सहयोग जुटाउन शुरु गरेको थियो। सहयोग अभियानमा कर्पोरेट हाउसहरू र पोखरेली जनसमुदायको सहभागितामा तीन करोड ४५ लाख १७ हजार ५ सय ५५ रुपैयाँ संकलन भएको फाउण्डेसनले जनाएको छ।  

ढिलै भएपनि अक्सिन प्लान्ट अस्पताल प्रशासनलाई हस्तान्तरण गरेको छ। यद्यपी फाउण्डेसनले निर्धारित समयभन्दा ढिलो भएकोप्रति क्षमा समेत मागेको छ। ‘हामीले २०७८ असार ६ गते नै फ्रान्समा प्लान्ट खरिद गरिसकेका थियौँ। तर, अघिल्लो सरकार कार्गो कम्पनी र आयातकर्ताबिचको असमझदारीका कारण प्लान्ट ल्याउन ढिलाइ भयो। पछिल्लो समयमा भने रुस–युक्रेन युद्धका कारण कार्गो ढुवानीमा समस्या आउँदा थप विलम्ब भएको थियो। परिणामतः प्लान्ट एयर कार्गोबाट ढुवानी गर्ने सम्झौता भए पनि सम्भव नभएपछि जल तथा स्थल मार्गमार्फत ढुवानी गरी हस्तान्तरण गर्न सफल भएका छौँ। अक्सिजन प्लान्ट हस्तान्तरण समेत भइसकेको अवस्थामा यसको सम्पूर्ण आयव्यय विवरण निकट भविष्यमा नै सार्वजनिक गर्ने प्रतिवद्दता व्यक्त गर्दछौँ।’ फाउण्डेसनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।  

अक्सिजन प्लान्टको लागि सहयोग समिति समेत गठन गरिएको थियो। अभियानमा सहयोग रकम जुटाउने तथा प्लान्ट स्थापनासम्बन्धी कार्य अघि बढाउने लक्ष्यसहित गठित तदर्थ समितिको संरक्षकमा पोखरा महानगरपालिकाका तत्कालीन मेयर मानबहादुर जिसी थिए।  

प्रकाशित: २१ मंसिर २०७९ ०८:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App