७ वैशाख २०८१ शुक्रबार
समाज

माया मृत्यु प्रकरण: आरोपी कोलीद्वारा हत्या स्वीकार

बैतडीकी माया लुहार मृत्यु प्रकरणका आरोपीले हत्या स्वीकार गरेका छन्। आइतबार महेन्द्रनगरबाट पक्राउ परेका शिवनाथ गाउँपालिका–४ का सशस्त्र प्रहरीका जवान भरतराम कोलीले पञ्चेश्वर गाउँपालिका–४ फेउलीकी २१ बर्सिया माया लुहारको हत्या स्वीकार गरेको प्रहरीले जनाएको छ।

माया हत्या प्रकरणमा पक्राउ परेका कोलीले प्रेममा धोका पाएपछि हत्या गरेको प्रहरीलाई प्रारम्भिक बयान दिएका छन्। कोली र माया ६ महिनादेखि  प्रेम सम्बन्धमा रहेको र मायाले अरूसँग प्रेम सम्बन्ध राखेको भन्दै धारिलो हतियार प्रहार गरि हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ।

प्रहरीले पत्रकार सम्मेलन गरेर मायाले अन्य केटासँग पनि प्रेम गर्ने गरेको शंका मानेर अनेक लाञ्छना सहित दुवै जना बिच विवाद हुँदा कोलीले धारिलो हतियार (चक्कु) प्रहार गरेर हत्या गरेको खुल्न आएको प्रहरीले जनाएको हो।

मायाको हत्यापछि उनीसँगै गएकी मृतककी भदै नाता पर्ने नेहा लुहारलाई घटनाबारे अरुलाई जानकारी गराउने आशंकामा चक्कु प्रहार गरी ज्यान मार्ने नियतले गम्भीर घाइते बनाएको अनुसन्धानको क्रममा खुल्न आएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी उपरीक्षक प्रेमबहादुर शाहीले बताए।

प्रहरीका अनुसार माया र भरतबिच गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनका बेला फेसबुकबाट चिनजान भएको हो। दुवै जनाको फेसबुकमा चिनजान भएर प्रेममा परेका र भरतले मंसिरमा घर आएर मायाको फोन लगेपछि उनको फेसबुकबाट विभिन्न व्यक्तिसँग म्यासेन्जरमा कुरा हुने गरेको प्रहरीले जनाएको छ।

मायाको म्यासेन्जर चेक गरेका र उनको म्यासेन्जरबाट कुरा गरेका भरतले अरु केटाहरूसँग पनि कुराकानी भएको र प्रेमका कुरा गरेको देखेर मार्ने योजना बनाएको प्रहरी समक्ष बयान दिएका हुन्। 

हत्या अभियोगमा पक्राउ परेका कोलीलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १२ को दफा १७७ अनुसार ज्यान मार्ने उद्योगको मुद्दा शीर्षकमा सोमबार जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।

हत्यापछि मृतक मायाका परिवारले कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिएपछि प्रहरीले आइतबार कञ्चनपुर महेन्द्रनगरबाट कोलीलाई पक्राउ गरेको थियो। पक्राउ परेका कोलीलाई राती बैतडी पुर्‍याएर प्रहरीले सार्वजनिक गरेको हो।

प्रकाशित: २० मंसिर २०७९ १२:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App