६ वैशाख २०८१ बिहीबार
समाज

भारत भाग्ने तयारीमा थिए माया लुहारका हत्या आरोपी कोली

बैतडीको पञ्चेश्वर गाउँपालिका–४ की २१ वर्षीया माया लुहारको हत्या आरोपमा पक्राउ परेका सशस्त्र प्रहरी जवान भरतराम कोली भारत भाग्नै लाग्दा समातिएको खुलेको छ।

प्रहरीका अनुसार कोली भारततर्फ भाग्ने तयारीमा रहेका बेला कञ्चनपुरको महेन्द्रनगर बसपार्कबाट पक्राउ परेको प्रहरीले जनाएको छ। शिवनाथ गाउँपालिका–४ का २२ वर्षीय कोली आइतबार बिहान महेन्द्रनगरस्थित बसपार्कबाट पक्राउ परेका छन्। कोलीलाई अनुसन्धानको लागि बैतडी ल्याउने  जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक जोशीले बताए।

कोली हुल तथा दंगा तालिम व्यवस्थापन शिक्षालय पोखरामा कार्यरत थिए। यसअघि मृतक मायाका आफन्तले कोलीको नाममा किटानी जाहेरी दिएका छन्। मायाको बुधबार शिवनाथ गाउँपालिका–६ शिवनाथ मन्दिर नजिकै घाँटी रेटेर हत्या गरेको अवस्थामा शव फेला परेको थियो। उनकी १५ वर्षीया भदै नेहा लुहार घाँटीमा धारिलो हतियार प्रयोग गरेर घाइते अवस्थामा भेटिएकी थिइन्। उनी पञ्चेश्वर गाउँपालिका र शिवनाथ गाउँपालिकाको सीमास्थित बालाडाँडामा रक्ताम्य अवस्थामा फेला परेकी थिइन्। घाइते नेहाले दिएको बयानका आधारमा आरोपी कोली पक्राउ परेका हुन्।

माया र नेहा मंगलबार घरबाट लुगा सिलाउन भनी पञ्चेश्वरकै कुँलाउ गएका थिए। बुधबारसम्म पनि घर नफर्केपछि घरपरिवार र प्रहरीले खोजतलास गरेको थियो। घाइते नेहाका अनुसार भरतले ‘हामी कुराकानी गछौं तिमी यही बस,’ भनेका थिए। नेहा उनीहरूलाई पर्खेर त्यही बसिन। अबेरसम्म दुबै जना नआएपछि नेहा उनीहरुको खोजीमा लागिन। फुपुको हत्याले अत्तालिएकी नेहा चिच्याएपछि भरतले चक्कुले उनको घाँटीमा प्रहार गरेका थिए। दोस्रोपटक प्रहार गर्न खोज्दा नेहाले प्रतिकार गरेको र त्यस क्रममा चक्कु भाच्चिएको प्रहरीलाई बयान दिएकी छिन्। घाइते भएपछि नेहा भागेकी थिइन।

रातभर जंगलमा अलपत्र रहेकी घाइते नेहालाई भोलिपल्ट गोठालाहरूले देखेर प्रहरीलाई खबर गरेका थिए। नेहालाई फेला पारेपछि मायाको खोजी गरिएको थियो। नेहा भेटिएको ठाउँभन्दा करिब तीन किमी पर शिवनाथ गाउँपालिका–६ मा रहेको नेपाल टेलिकमको टावर नजिकै जंगलमा मायाको शव घाँटी रेटिएको अवस्थामा फेला परेको थियो। घटनास्थल सडकभन्दा करिब ए सय ५० मिटर माथि छ। मायाको खल्तीमा मोबाइल फेला परेको छ। घटनास्थलभन्दा केही पर मड भन्ने ठाउँमा भरतले फिर्ता गरेको मायाको मोबाइल फेला गरेको छ। घटनास्थलबाट रगत लागेको कालो क्याप, भाँचिएको अवस्थामा चक्कु बरामद भएको छ।

मायाको हत्यापछि कोली बैतडीबाट भाग्दै डडेल्धुरा पुगेको प्रहरीको अनुसन्धानबाट खुलेको छ। उनको मोबाइलको अन्तिम लोकेसन पनि डडेल्धुरा देखिएको थियो। प्रहरीका अनुसार त्यसपछि कोली अत्तरिया पुगेका थिए। आज बिहानै उनी गाडी चढेर महेन्द्रनगर आएका थिए।

प्रकाशित: १८ मंसिर २०७९ ११:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App