१६ चैत्र २०८० शुक्रबार
समाज

नेपाल प्रहरीमा चार एआइजी रिक्त

नेपाल प्रहरीमा अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी)का चार दरबन्दी रिक्त छन्। साउनको २० गतेयता चारजना एआइजी ‘उमेरहद’का कारण अवकाश गएसँगै उक्त दरबन्दीहरू रिक्त भएका हुन्।  

अवकास गएकाहरूमा प्रहरी महानिरीक्षकमा धिरजप्रताप सिंहलाई बढुवा गर्दा असन्तुष्ट बनेका एआइजी विश्वराज पोखरेल ५६ वर्षे उमेरहदका कारण साउन २० गते अवकाश गएका हुन्। यस्तै अर्का एआइजी मुकुन्दराज आचार्य भदौ २३ गते अवकाश गएका छन् भने अन्य दुईजना एआइजीहरू रविन्द्रबहादुर धानुक र अरूणकुमार बिसी कात्तिक २४ गते उमेरहदकै कारण अवकास गएका छन्।  

धमाधम चारजना एआइजी रिक्त हुँदासम्म पनि सरकारले पदपूर्तिका लागि हालसम्म कुनै प्रक्रिया भने अगाडि बढाएको छैन। गृह मन्त्रालयले निर्वाचनका कारण एआइजी बढुवा प्रक्रिया अगाडि बढाउन नसकिएको जनाएको छ। प्रहरी नियमावलीअनुसार रिक्त भएको तीन महिनाभित्र दरबन्दी पदपूर्ति गर्नुपर्ने व्यवस्था छ।  

प्रहरी नियमावलीअनुसार एआइजीको बढुवाका हकमा गृह मन्त्रालयका सचिव अध्यक्ष रहेको बढुवा समितिले सिफारिस गर्ने व्यवस्था छ। जसको सदस्यमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव र आइजिपी सदस्य रहन्छन्। बढुवा भने मन्त्रिपरिषद्ले गर्छ।  

अहिले हुनुपर्ने एआइजी बढुवालाई चैतपछि हुने प्रहरी महानिरीक्षक (आइजिपी)का रूपमा पनि हेरिएको छ। यसैले अहिले बहाल रहेका प्रहरी नायब महानिरीक्षक (डिआइजी)हरूले बढी चासोका साथ हेरिरहेका छन्। तर सरकारले नै बढुवा प्रक्रियामा ढिलाइ गरिदिँदा उनीहरू उकुसमुकुसको स्थितिमा छन्।  

अहिले बहाल रहेका एआइजीहरू सहकुलबहादुर थापा, उत्तमराज सुवेदी, पूजा सिंह र दिवेश लोहनी आइजिपी सिंहकै ब्याचमेट हुन्। उनीहरू सबै चैतको ११ गतेसम्म अवकाश जानेछन्।  

उनीहरूमध्ये पूजा सिंह उमेरहदका कारण फागुनमै अवकाश जाँदा आइजिपी सिंहसँगै एआइजीहरू थापा, सुवेदी र लोहनी ३० वर्षे सेवा अवधिका कारण चैत ११ गते अवकाश जानेछन्। यो ब्याचले २०४९ साल चैत ११ गते सेवा प्रवेश गरेको थियो।  

यहीकारण अहिले रिक्त रहेका चार एआइजी दरबन्दीमा जुन डिआइजी बढुवा हुन्छ, त्यसको आगामी आइजिपी बन्ने सम्भावना प्रबल रहने भएकाले अहिलेको बढुवालाई निकै महŒवपूर्ण मानिएको छ। तर सरकारको सुस्तताले प्रतिस्पर्धामा रहेका डिआइजीहरूलाई तनाव दिइरहेको छ।

हाल प्रहरीमा २० जना डिआइजीहरू बहाल छन्। जसमध्ये पुुरुषोत्तम कँडेल, नलप्रसाद उपाध्याय र मसउद आलम खाँ पनि आइजिपी सिंहकै ब्याचमेट हुन्। उनीहरू पनि चैत ११ गतेसम्म अवकाश जानेछन्।  

बाँकी १७ जना डिआइजीहरू आगामी आइजिपीका लागि प्रतिस्पर्धामा छन्। जसमा डिआइजीहरू बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, अशोक सिंह, दीपक थापा, श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, सन्दीप भण्डारी, सुदीप गिरी, मिरा चौधरी, टेकबहादुर तामाङ, उमेशराज जोशी, श्यामप्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गा सिंह र किरण राणा छन्।

तत्काल रिक्त एआइजी दरबन्दीमा सरकारले बढुवा प्रक्रिया थाल्दा सिनियर तीनजना डिआइजीहरू कँडेल, उपाध्यक्ष र खाँको बढुवा भए पनि एकजना प्रतिस्पर्धी १७ जनाबाटै छान्नुपर्ने अवस्था हुन्छ। यसैका लागि अधिकांश प्रतिस्पर्धी डिआइजीहरू महिनौंदेखि शक्तिकेन्द्र रिझाउन लागिरहेका छन्।  

बढुवाका लागि डिआइजीको दौडधुपले निर्वाचनका कारण नतिजा भने दिनसकेको छैन। अब निर्वाचन सम्पन्न भएको अवस्थामा भने प्रक्रिया अगाडि बढ्नसक्ने स्रोतले बतायो। ‘आगामी बन्ने सरकार कांग्रेसकै नेतृत्वमा हुने र प्रधानमन्त्री शेरबहादुर देउवा नै हुने भए एआइजी बढुवा पनि अर्को सरकारसम्म पुग्नसक्छ,’ स्रोतले भन्यो, ‘नभए यसै सरकारले केही दिनमा बढुवा टुंग्याउनसक्छ।’ नयाँ जनादेश आइसक्दा अर्को सरकार नबनेसम्म यही सरकारले प्रक्रिया थालेर पुरा गर्न कुनै किसिमको कानुनी अड्चन छैन। 

प्रकाशित: १६ मंसिर २०७९ ०१:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App