७ वैशाख २०८१ शुक्रबार
समाज

क्याम्पसको जग्गामा पिच बाटो बनेपछि विवाद

विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको जग्गा मिचेर पिच सडक बनाइएको छ। क्याम्पसको छात्रावासदेखि पश्चिमतर्फ रहेको जग्गा मिचेर स्थानीयले पिच सडक बनाएका हुन्।  

२०१२ सालमा स्थापित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको छात्रवास पछाडिको जग्गामा स्थानीयले मिचेर जबरजस्ती पिच सडक बनाएको क्याम्पस प्रशासनले जनाएको छ। क्याम्पस प्रशासनसँग सल्लाह र सोधखोज नगरी त्यहाँका स्थानीयहरुले एक्लौटी रुपमा आफूहरुलाई फाइदा हुने हिसाबले सडक निर्माण गरेको क्याम्पस प्रमुख बाबुराम तिम्सिनाले बताए। क्याम्पसको जग्गा मिचेरको विषयलाई लिएर जिल्ला प्रशासन कार्यालय मोरङ, जिल्ला प्रहरी कार्यालय, प्रदेश १ को मुख्यमन्त्री कार्यालय, प्रधानमन्त्री कार्यालयलगायत विभिन्न सकारी कार्यालयमा निवेदनको बोधार्थ दिइसकेको क्याम्पसले जनाएको छ।  

क्याम्पसको नाममा २२ बिगाहा जग्गा दर्ता रहेको र त्यस अनुसारको मालपोत राजश्व बुझाउँदै आएको क्याम्पस प्रमुख तिम्सिनाले भने, ‘कोइराला परिवाससँग क्याम्पस प्रशासनले खरिद गरेको थियो। क्याम्पसको पश्चिमतर्फ एउटा इट्टा भट्टाको खाल्डो एक जना व्यक्तिले खरिद गरे। छठ पूजा गर्नहरुले त्यहाँ पूजा गर्दै आएका थिए।’

खाल्डो जग्गा खरिद गरेको केही समयसम्म केही समस्या रहेको थिएन। क्याम्पसको पश्चिमतर्फ रहेको खाल्डोवाला जग्गाधनीले खाल्डो पुर्दै जाँदा त्यहाँ रहेको सिमानाका काठका मुड्काहरु पनि पुरिएको क्याम्पस प्रमुख तिम्सिनाले बताए। सिमानाका मुड्काहरु पुरिएसँगै जग्गा मिच्ने काम हुन थाल्यो।क्याम्पसको जग्गा छेउछाउका व्यक्तिहरु मिलेर उनीहरुलाई फाइदा पुग्ने गरी क्याम्पसलाई सोधखोज नगरी बीचबाटै मिचेर पिच बनाउने काम भएको छ। त्यो जग्गा धुरको ८ लाख रुपैयाँभन्दा बढी पर्छ।  

जबरजस्ती मिचेर बाटोका लागि प्रयोग भएको जग्गा वातपत कलेजलाई मुअब्जा दिनु प¥यो या त्यो वापत केही कलेजलाई गरिदिनु पर्ने बताउँदै, क्याम्पस प्रमुख तिम्सिनाले भने, ‘वडाध्यक्षलगायत स्थानीयले कलेजलाई बाटो बनाउने समयमा सोध्ने वा सल्लाह गर्नुपर्ने थियो त्यो नगरी निजी जग्गामा बाटो बनाएका छन्। क्याम्पसको जग्गामा बाटो बनाउन थालेपछि विद्यार्थीहरुले अवरोध गरेपछि काम रोकेका थिए। वडाध्यक्षलगायत स्थानीयले केही दिनपछि हतार हतार बाटो खनेर पिच गर्ने काम गरेका छन्। कानुनविपरीत काम गरेकाले सम्बन्धित सरकारी निकायमा जानकारी गराएका छौं।’

क्याम्पसको जग्गा छुट्याउनका लागि नापी कार्यालयमा निवेदन दिइसकेका छौं। त्यो प्रक्रिया पनि पूरा हुन नदिई जबरजस्ती क्याम्पसको जग्गाबाट पिच सडक बनाउने काम भएको क्याम्पस प्रमुख तिम्सिनाले बताए। छात्रावासदेखि दक्षिणतर्फको क्याम्पसको जग्गा अतिक्रमण गरेर केही व्यक्तिहरु बसेका छन्। सबै तर्फबाट क्याम्पसको जग्गा अतिक्रमण गर्न थालेकाले जग्गा नापीका लागि क्याम्पस प्रशासनले प्रक्रिया अघि बढाएको बताएको छ।  

क्याम्पसको जग्गा जबरजस्ती मिचेर पिच सडक नबाएको बताएकी स्थानीय सरिता अधिकारीले भनिन्, ‘यो अहिले बनेको बाटो क्याम्पसकै जग्गामा हो। तर, २०६२/२०६३ मा तत्कालीन क्याम्पस प्रमुख गोपाल कार्कीसँग यहाँका मानिसहरुबीच यो जग्गाबाट बाटो प्रयोग गर्ने सम्झौता भएको र सोही अनुसार अहिले पिच बनाइएको हो।’

यो बाटो १८ वर्षदेखि स्थानीयले प्रयोग गर्दै आएका छन्। अहिले भर्खरै मात्रै त्यस बाटो स्तरोन्नती गर्दै पिच गर्ने काम भएको स्थानीय सरिता अधिकारीले बताउँदै भनिन्, ‘क्याम्पससँग भएको सहमति अनुसार विद्युत्को पोल गाड्ने र सोही अनुसारको बाटोमा पिच गर्ने काम गरिएको हो। त्यस बाहेक एक इन्च पनि जग्गा मिचिएको छैन।’

प्रकाशित: १५ मंसिर २०७९ १४:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App