उदयपुर प्रहरीले झण्डै २ दशकदेखि फरार अभियुक्तलाई पक्राउ गरेको छ। बहुबिवाह मुद्धामा जिल्ला अदालत उदयपुरले ०६६ फागुन १२ गतेको इजलासले गरेको फैसला अनुसार दोषी सावित भए पनि भाग्दै आएका त्रियुगा नगरपालिका १० का ४६ वर्षीय गोपाल भन्ने लालबहादुर श्रेष्ठ पक्राउ परेका हुन्।
१९ वर्षअघि दोस्रो बिहे गरेका उनीमाथि अदालतमा बहुबिबाह मुद्धा परेको थियो। सो मुद्धा उपर कारबाही हुँदा अदालतले १ वर्ष कैद र ५ हजार जरिमाना गर्ने फैसला गरेको थियो। अदालतले सजाय तोके पनि त्यसबेलादेखि नै फरार रहेका उनलाई खोजतलासको क्रममा गत सोमबार साँझ फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी राकेश पोदारले बताए।
डिएसपी पोदारका अनुसार विशेष सुराकीका आधारमा श्रेष्ठलाई आफ्नै घरबाट पक्राउ गरिएको हो। पक्राउपछि जिल्ला प्रहरी कार्यालयमा ल्याइएका श्रेष्ठलाई फैसला कार्यान्वयनका लागि मंगलबार जिल्ला अदालतको जिम्मा लगाइएको थियो। अदालतले सजाय भुक्तानका लागि उनलाई जिल्ला कारागार शाखा पठाएको जनाएको छ।
प्रकाशित: १४ मंसिर २०७९ १२:४५ बुधबार